+
+

मत दिएर माओवादी फकाउँदै कांग्रेस

लिलु डुम्रे लिलु डुम्रे
२०७९ माघ २२ गते २०:४५
राष्ट्रियसभा उपाध्यक्षमा उपाध्यक्षमा मनोनयन दर्ता गराउँदै माओवादी केन्द्रकी उर्मिला अर्याल । यो पदमा अर्यालको मात्र उम्मेदवारी परेको छ ।

२२ माघ, काठमाडौं । प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा उम्मेदवार खडा गरेको नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिएन । विपक्षी दलहरुबाट उम्मेदवारी नपरेपछि सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी उर्मिला अर्याल निर्वाचित हुने भएकी छन् ।

राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवार उठाउने विषयमा छलफल गर्न शुक्रबार बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकमा पक्ष र विपक्ष दुवैखाले मत आएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का लगायतले उम्मेदवारी दिन नहुने बताए भने महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखकलगायतले उम्मेदवारी दिनुपर्ने मत राखेका थिए । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्ने भन्दै नेताहरु उठे ।

शनिबार कांग्रेस नेताहरुले एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेका थिए । सिंहदरबारमा भएको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले उम्मेदवारी दिन नहुने तर्क गरेका थिए । राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिँदा एमाले र माओवादीबीच दूरी बढ्ने उनको तर्क थियो, जसमा कांग्रेस नेताहरु पनि सहमत भए । अर्को, अर्यालप्रति नेपालको सद्भाव पनि थियो । एमालेमा रहँदा आफ्नो समूहमा रहेकी र ओलीका कारण अवसरबाट बञ्चित भएको उनको तर्क थियो ।

एकीकृत समाजवादी नेपालसँग सहमत देउवाले आइतबार बिहान बसेको पार्टीको बैठक राखेर उम्मेदवारी नदिने निर्णय गराए । कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘हामीले उम्मेदवारी दिंदा एमाले र माओवादी केन्द्र एकतावद्ध हुनुपर्छ । बरु नदिँदा दूरी बढ्छ भन्ने बुझाइका आधारमा उम्मेदवारी दिएनौं ।’

राष्ट्रिय सभामा कांग्रेसका १० जना सदस्य छन् भने एकीकृत समाजवादीका ८ जना छन् । कांग्रेस र एकीकृत समाजवादीको समेत समर्थन पाएपछि अर्यालले राष्ट्रिय जनमोर्चाका कुलप्रसाद विश्वकर्माबाहेक सबैको मत पाउने देखिन्छ ।

कांग्रेसले माओवादी केन्द्रलाई नजिक राख्ने प्रयत्न प्रधानमन्त्रीको विश्वासको मत दिएदेखि नै सुरु गरेको हो । १० पुसको विहानसम्म दुबै दल एउटै गठबन्धनमा थिए । को पहिला प्रधानमन्त्री भन्नेमा देउवासँग सहमति नजुटेपछि प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री भएका थिए ।

सुरुमा ‘स्तब्ध’ भएको कांग्रेसले विश्वासको मत लिनुअघि नै प्रधानमन्त्री प्रचण्डसँग नजिक हुन थाल्यो र २६ पुसमा विश्वासको मत दियो । सत्ता साझेदार दलहरुको भागवण्डाअनुसार एमालेले उम्मेदवार उठाएको सभामुख र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएको उपसभामुख पदमा भने कांग्रेसले उम्मेदवार खडा गरेको थियो ।

२६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘ढोक्सा’ थापेको बताएका थिए । आइतबार संसदमा त्यसलाई दोहोर्‍याएका ओलीले बुढो बाघको कथा सुनाउँदै कांग्रेसलाई भने, ‘ट्राइ योर बेस्ट । सरकारमा रहेका दलहरुले आफ्नो र देशबारे बुझेका छन् र सुनको बाला टिप्न जाने कोही छैन ।’

तर आइतबार नै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ भने एमाले र माओवादीबीच अविश्वास बढ्दो छ । राष्ट्रपति निर्वाचन (२५ फागुन) सम्म पुग्दा राजनीतिले नयाँ मोड लिनेमा कांग्रेस नेताहरु निकै आशावादी छन् । कांग्रेसमा राष्ट्रपतिको उम्मेदवारका लागि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला आकांक्षी छन् ।

हालै देउवालाई भेटेका एक केन्द्रीय सदस्यका अनुसार उनको सम्पूर्ण ध्यान आसन्न राष्ट्रपति निर्वाचन केन्द्रित छ । एमालेबाट राष्ट्रपति बनाउन नहुनेमा माओवादी नेताहरु एकमत हुँदा कांग्रेस उत्साहित छ । ‘यो गठबन्धन धेरै नजाने हामीले सरकार बन्ने बेलैमा भनेका थियौं’, कांग्रेस केन्द्रीय सदस्य एनपी साउद भन्छन्, ‘माओवादीबाट प्रधानमन्त्री, एमालेको सभामुख बनिसक्नुभएको छ । कांग्रेसबाट राष्ट्रपति हुँदा राष्ट्रिय सहमतिको बाटोमा देश जान्छ ।’

तर एमाले हुँदासम्म कांग्रेस सत्तामा नजाने उपसभापति पूर्णबहादुर खड्का बताउँछन् । उनले भने, ‘एमाले सम्मिलित वर्तमान सरकारमा नेपाली कांग्रेस सहभागी हुन सम्भव छैन । कांग्रेस सहभागी हुँदैन ।’ साथै आधा कार्यकाल सरकारको नेतृत्व पाउनुपर्ने पनि कांग्रेस नेताहरु बताउँछन् ।

‘पहिलो प्रधानमन्त्री को हुने विवादले गठबन्धन भंग भएको हो । प्रचण्ड पहिलो कार्यकाल प्रधानमन्त्री हुने अवस्था बनिसकेको छ’ कांग्रेसको शीर्ष तहका नेता भन्छन्, ‘आधा कार्यकाल कांग्रेस प्रधानमन्त्री हुँदा कोर्स करेक्सन पनि हुन्छ ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?