+
+
कविता :

माइतीघरको लाल्टिन

कुशल श्रेष्ठ कुशल श्रेष्ठ
२०७९ माघ २३ गते ११:५५

माइतीघरको देब्रे चोक छेउ
आज पनि छेक–बारहरू छन्

त्यहीभित्र बन्दी केही हारहरू छन्
आशा–निराशामा झुलेका केही मुहारहरू छन्
केही भुत्ते भइसकेका तरबारहरू छन्
र, केही मरेका सिंह–दरबारहरू छन्

माइतीघरको देब्रे चोक छेउ
आज पनि छेक–बारहरू छन्

दायाँ लेनमा तँछाड–मछाडमा रमेका असभ्य बाहनहरू
सारा भीड छिचोल्दै पुष्पक हुइँकाउने रावणहरू
कत्ति न सभ्य झैं बनेर आज देब्रे लेनमा जाने आँट गर्दैनन्
किनकि आज पनि
यी छेक–बारहरू भित्र एकै ढिक्को भएर कैयौंको आत्मा एकै साथ जलेको छ
सडकबीचमा निशातुल्य न्यायको खोजमा दिउँसै एउटा पुरानो लाल्टिन बलेको छ

निराश… धिप्–धिप्… तेल नपुगेको… निभ्न लागेको लाल्टिन
यही लाल्टिनमा आशाका किरण खोजेर अनुयायी बनेका
केही जोडी आँखाहरू
सायद हिजो आकाशमा कालो बादलहरू ताक्थे
आज लाल्टिनको सलेदोबाट उठेको मिहिन धुवाँ ताक्न बाध्य छन्
पारि क्षितिजको डुबिरहेको घाम झैं
यही आशाको लाल्टिन झैं
बल गरी–गरी झप्प–झप्प निदाउन जानेका छन् ।

केही जोडी हातहरू
सायद हिजो हलो र कोदालो बोकेर बयलगाडाको लगाम हाँक्थे
औंला भाँची–भाँची आफ्ना अनिश्चित तर आशातीत भविष्य डाक्थे
आज भित्र–भित्र मुर्मुरिएर मुठ्ठी बन्न जानेका छन्
अनि केही सीप नभएझैं वरिपरि भन्किरहेका झिंगा धपाइरहेका छन्

केही जोडी खुट्टाहरू
सायद हिजो सुख्खा जमिनमा खाली खुट्टा टेक्थे
हिंड्न जानेका थिए, कहीं पुग्न जानेका थिए
आज लाचार र लम्पसार छन्
बिल्कुल बेकार छन्

केही थान पेटहरू
सायद हिजो गिठ्ठा र भ्याँकुर, साग र सिस्नु, खोले र च्याख्लाले डम्म हुन्थे
छातीसँग प्रतिस्पर्धा गर्दै अगाडि बढेकासम्म हुन्थे
आज भोक र शोकका दुई त्यान्द्राहरूले बटारिएर डोरी भएका छन्
बाहिर जस्तै भित्र पनि डाहा, घृणा र असन्तुष्टिले फोहोरी भएका छन्

केही जोडी मुखहरू
सायद हिजो ढिंडो खाएर मीठो बोली बोल्थे
पटुकीले पेट कसेर पनि मन खोली बोल्थे
आज अहिले खुलेको खुल्यै आँ गर्न मात्र जानेका छन्
आन्दोलन, धर्ना, राँको जस्ता शब्दलाई आफ्नो गुरुमन्त्र मानेका छन्
जसका ओंठका कम्पनहरू आज सिपाहीका बुटहरूसँग बिकेका छन्
यी अमुखहरूले पनि अनायासै नानाभाँती सराप्न सिकेका छन्

अब यी फेरिएका आँखा, हात, खुट्टा, पेट र मुखहरू
यी सबैको एउटै झिनो अभिलाषा यो लाल्टिन
सबैको प्रतिनिधि मिहिन भाषा यो लाल्टिन
आँखा, यसैको धुमिल प्रकाशले मनको समेत अन्धकार हटाउने सपना देख्छ
हात, यसैको कलिलो न्यानोपनमा सेकिएर फेरि मुठ्ठी बन्ने आँट गर्छ
खुट्टा, यसैको धिपधिपमा न्यायको राजमार्ग हिंडेर सिंहदरबारतिर लम्किन्छ
पेट, यसैको ज्वालामा सम्पूर्ण व्यथाहरूलाई स्वाहा पारी तृप्त भई डम्म फुल्न खोज्छ
मुख, यसैको राँको बनाएर अन्दोलन ओकल्ने ननिभ्ने आवाज बन्छु भन्छ

तर
मस्तिष्कलाई थाहा छ
यो घिटीघिटीमा आफ्नो अस्तित्व जोगाउन खोज्ने लाल्टिनको दिप्ति
चाँडै विलिन बनाउन खोजिने छ निर्दयी बुटहरू मुनि
अनि लुटिने छन् अस्तित्व यो संघर्षरत शिखाको पनि
अनि हराउने छ यो लुटको कहानी ब्रह्मलुटहरू मुनि

तथापि
घुम्ने मेचमाथिको अन्धो मान्छेले आँखा गुमाउँदैमा
न संसारमा अन्धकार व्याप्त हुन्छ
घुम्ने मेचमाथिको अन्धो मान्छे पुत्लो बन्दैमा
न त लाल्टिनको सुत्लो जल्न छोड्छ
त्यसैले,
सारा संसारको हिमायत र अपेक्षा पश्चात् पनि
माइतीघरको देब्रे चोक छेउ यो लीला चल्न छोड्दैन
हरेक मृत्युपश्चात् बिउँतिने फिनिक्स चरा झैं
माइतीघरको देब्रे चोकमा अर्को लाल्टिन बल्न छोड्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?