+
+
ब्लग :

३२ दिन सत्तामा बसेका रवि

३२ दिनको लागि नै सही, एकपटक गृहमन्त्री भएर पद तथा गोपनीयताको सपथ खाएको मान्छेले सामान्यतः यस्तो धम्की दिँदैन । उनको दुई घण्टा लामो ‘सिधा कुरा जनतासँग’ ले सावित गरेको छ, उनी पीडामा छन् ।

राजेश मिश्र राजेश मिश्र
२०७९ माघ २३ गते १३:३०

बिहानै श्रीमतीसँग ठाकठुक पर्दैथियो । दृश्य टीभी डटकमको साहु चन्द्रशेखर कार्कीको फोनले त्यसमा विराम लगाइदियो । ‘उठिस् ? घण्टी पार्टीले आफ्ना मन्त्री फिर्ता बोलायो । सरकारलाई दिएको समर्थन बाँकी छ । केही लेख न यार, के अल्छी भएको ?’ उसले मलाई हकार्‍यो ।

रविले गरेको प्रेस सम्मेलन अथवा कोणसभा अथवा कार्यकर्ताको ताली र सिट्ठीले बेलाबखत अवरुद्ध त्यो एकालाप आधा घण्टा गाडी चलाएर आफ्नो गन्तव्य पुग्दा पनि दुई तिहाइ बाँकी नै थियो । रोक्दै सुन्दै गरेँ । सकिएपछि लाग्यो, ‘सिधा कुरा जनतासँग’ भन्ने कार्यक्रमको यो सबैभन्दा लामो ‘एपिसोड’ हुनसक्छ ।

आफ्नो औकातको सामथ्र्य भन्दा अर्काको कमजोरीमाथि प्रहार गरेर लोकप्रिय हुन सजिलो हुन्छ । गुदी बिनाको टुटेफुटेको शब्द भण्डार र नाभीबाट निसृत ‘भोकल कर्ड’ का धनी रवि लामिछानेले यस अर्थमा प्राकृतिक वरदान पाएका छन् । यसमा दुईमत छैन ।

एकमत एउटा कुरामा छ, उनीसँग उनले दावी गरे अनुसारको देश ‘बनाउने’ दूरदृष्टिको सर्वथा अभाव छ । भागबण्डाको राजनीतिबाट आक्रान्त मुलुकको कायापलट गर्ने उद्देश्यले चुनौतीको संग्राममा होमिएको दलको नेता आफैं बाँडचुँडको चिउरा चपाउन जाँदैन ।

कुनै दलको आफ्नो विचार र सिद्धान्त छैन भने त्यो नहुनु पनि एउटा विचार हो । ‘भ्रष्टाचारको विरोध गर्न किन चाहियो विचार ?’ भन्दै रवि चुनावमा गए । त्यस्तो विचार अवसरवाद थियो ।

शहरिया मध्यम–वर्गीय जमात मौकापरस्त हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले त्यो मानसिकतालाई नगदी भोटमा कारोबार गरिदियो । हठात् पाएको सफलताले मान्छेलाई आफ्नो धरातलको वास्तविकताबाट टाढा लैजान्छ । हावामा उडाइदिन्छ । रवि लामिछानेलाई भएको यही हो ।

दोषारोपी भाष्यमा टेकेर सत्तामा पुग्ने उनको सपना साकार हुनु एउटा पक्ष मात्रै हो भने अर्को पक्ष भने चिन्तायुक्त छ । पुराना नेताहरूको कथनी र करनीबाट आजित जनताले युवा पुस्ताबाट आशा गरेको थियो भने त्यो जायज र स्वाभाविक आकांक्षा थियो । त्यसैको परिणाम थियो, ‘नो नट अगेन’ अभियान ।

रवि लामिछाने मात्र होइन, ‘भ्रष्टाचार गर्नु आमाको रगत खानु बराबर हो’ भन्दै चुनाव जितेका राप्रपाका युवा नेताले समेत संसदमा आफ्नो स्थान पक्का गरेपछि जनताले गरेको आशा अर्कै थियो । यिनीहरूले जितेपछि मुलुक रातारात सि‌ंगापुर बन्छ भन्ने आशा कसैको थिएन । आशा थियो, यी विकल्प दिन आएका युवाहरू प्रतिपक्षमा बसेर पुराना नेताहरूको नाकमा नकेल हाल्नेछन् ।

पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा भएको युद्ध अपराध र नक्कली लडाकको नाममा भएको अर्बौं भ्रष्टाचारको फाइल खुल्नेछ । केपी ओलीको निर्देशन र निगरानीमा भएको ओम्नी, वाइड बडी विमान, सेक्युरिटी प्रिन्टिङ प्रेस, यती समूह आदि इत्यादिमा भएका घोटाला छानबन गर्न संसद तात्नेछ । सदाबहार अवसरवादी नेता कमल थापाका भाइ गणेश थापाले एन्फामा गरेको हिनामिनाको फाइल अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा थन्किएको छ । त्यो पनि खुल्नेछ ।

तर जनताको त्यो आशामाथि खुलेआम कुठाराघात भयो । ‘संसदलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन’, भन्दै लामिछाने गृहमन्त्रीको दाबी गर्न पुगे । सत्ता गठबन्धनको पहिलो बैठकमा उनले ‘आमा मलाई त्यही केटी चाहिन्छ’ शैलीमा गीत गाए । गृह मन्त्रालय नपाए उठेर हिँड्ने धम्की दिए ।

नेकपा एमाले अध्यक्ष केपी ओली केही न केही नगरी बस्न सक्दैनन् । उनले तुरुन्तै पासा फ्याँके । प्रचण्डलाई फकाए । संसदमा २० सिट भएको नयाँ बाच्छो आफ्नो पहलमा गृहमन्त्री हुँदा ओलीले नाफाको व्यापार गर्ने बाटो खुल्थ्यो ।

नागरिकता मुद्धाले रविलाई अपदस्थ गरेपछि पनि ओलीले उनलाई मोहरा बनाएर प्रचण्डविरुद्ध पासा फ्याँकेको कुरा जगजाहेर छ । तर रवि लामिछाने आफ्नो पदका लागि ओलीको पखेटामुनि ओथारो बस्न सहर्ष तयार थिए ।

त्यतिबेला उनले आफूलाई सर्वाधिक मतले संसद पुर्‍याउने जनताको अभिलाषा उल्लंघन गरेको हिनताबोध भयो कि भएन ? पत्रकार सम्मेलनमा कुनै पत्रकारले यो प्रश्न गरेनन् । रविले जवाफ दिएनन् । त्यो वास्तवमा पत्रकार सम्मेलन नभएर कार्यकर्ता भेला थियो ।

नाम राष्ट्रिय स्वतन्त्र पार्टी भएपनि त्यो पत्रकार सम्मेलन यथार्थमा रवि लामिछानेको व्यक्तिगत कुण्ठा र आवेग पोख्ने एक तकनिकी अनुष्ठान सावित भयो । त्यो दलका २० दिने मन्त्रीहरूले एक शब्द बोलेनन् ।

परिवर्तनका लागि युवा आन्दोलनका पर्यायका रूपमा सरकारमा पुगेका अभियन्ताहरू रवि लामिछानेको रोमाञ्चक जीवनगाथा सुनेर थपडी बजाउने साक्षीमा सीमित भए । तर, नयाँ विकल्प र युवा आन्दोलनको दोहोरी गाएर जनताको आँगनमा देउसी खेल्ने दलहरूको सूचिमा रावस्पा र यसका आसेपासेहरू एक्ला भने होइनन् ।

दिवंगत उज्ज्वल थापाको विवेकशील नेपाली आन्दोलनलाई रवीन्द्र मिश्रले एकीकरणको नाममा साझा पार्टी बनाए र आफ्नो एकल प्रदर्शनी सुरु गरे । पार्टी भताभुङ्ग भयो । मिश्रले आफ्नो वैचारिक अनुरूप राजावादी राप्रपामा गएर त्यो आन्दोलनलाई जानीबुझी तुहाइदिए ।

रवि लामिछाने आफ्नो कानुनी तगारोलाई फाँड्न रास्वपा दललाई औजार बनाउँदैछन् । उनको महत्वाकांक्षाको बलिवेदीमा शिशिर खनाल र डा. तोसिमा कार्की जस्ता युवाको राजनीतिक जीवन बलिदान गरिएको छ ।

श्रम मन्त्री अर्याल त रविकै जापानी साके हुन्, मन्त्री भएपनि, नभएपनि उनीहरूको आपसी मात कायम रहनेछ । तर रविको एक्लो स्वार्थका खातिर घरको न घाटको अवस्थामा पुगेको रास्वपाको क्षतिपूर्ति हुन अब करिब करिब असम्भव छ । अर्को चुनावसम्म यो दल एक ढिक्का रहन्छ, रहन्न शंका गर्ने आधार छ ।

टेलिभिजनको पर्दा फुट्ने गरी बोल्नेहरूमा रवि लामिछाने एक्ला होइनन् । त्यो त पुण्य गौतम विश्वासले पनि गर्न सक्छन् । मनोरञ्जन दिने कुरा हो भने रोल्पाली भेलु बाजेलाई कसरी बिर्सने ? रवि पूण्य गौतम र भेलु बाजेका मिश्रित स्वरूप हुन् । उनीहरू जे पनि बोलिदिन्छन्, तर दर्शक श्रोतालाई ‘इन्गेज’ गर्न सक्छन् । उनीहरूसँग जस्तै रविसँग पनि सुशासनको निश्चित मार्गचित्र छैन । तर लोक रिझ्याईंको ‘जेनेरिक’ भाषामा दर्शक स्रोता लठ्याउन उनी सिपालु छन् ।

उनले नेपाली मिडियाका ‘१२ भाइ’ लाई तारो बनाउनुको पनि कारण छ । उनी आफ्नो दोहोरो राहदानी मुद्दाका बारेमा चिन्तित छन् । उनको ध्येय अब त्यो मुद्दामा मिडियाले फसाएको, अदालतमा प्रभाव पारेको र जनताको लडाईं लड्ने उनीजस्तो जस्तो मान्छेलाई सिध्याउन सम्पूर्ण ‘सिस्टम’ लागिपरेको भाष्य निर्माणमा केन्द्रित छ ।

रविले औंला ठड्याएका यी १२ भाइमध्ये कमसेकम ११ जनालाई म राम्ररी चिन्छु । यीमध्ये ‘सिंगल माल्ट’ ह्विस्की खाने औकात तीन जनाको छ । अरु धेरैजना त रक्सी नै खाँदैनन् । ती सबैलाई उनले जनताको आँखामा जँड्याहा बनाइदिए । ‘यी सबै गलत छन्, म मात्रै गलत भएर के भो र ?’ सन्देश दिन चाहन्छन् उनी । तर, स्वार्थको द्वन्द्व सम्बन्धी सवालमा म सही छु भन्ने नैतिक आधार उनीसँग थिएन, छैन ।

चुनाव त नेपालमा नानीमैंया दाहालले पनि जितेको इतिहास पनि छ । त्यो बेला रवि केटाकेटी थिए । उनी अझै केटाकेटी लाग्छन् । नत्र, उनले पत्रकार सम्मेलनमा आफ्नो विरुद्ध लेख्ने सञ्चारकर्मीको ठेगानामा आफ्ना ‘शुभचिन्तक’ लिएर जाने धम्की दिने थिएनन् ।

बत्तीस दिनको लागि नै सही, एकपटक गृहमन्त्री भएर पद तथा गोपनीयताको सपथ खाएको मान्छेले सामान्यतः यस्तो धम्की दिंदैन । त्यसैले रवि असामान्य पनि हुन् । उनको दुई घण्टा लामो ‘सिधा कुरा जनतासँग’ ले सावित गरेको छ, उनी पीडामा छन् ।

तर यो पीडा आम मान्छेले जस्तै सहज रूपले व्यक्त गर्ने सुविधाबाट पनि उनी वञ्चित छन् । राजनीति गर्ने मान्छेको मुख टालिएको र हात बाँधिएको हुन्छ । हातमा आएको शक्ति फुस्स फुस्किँदा एउटा बयस्क मान्छे समेत विक्षिप्त हुन्छ । ‘नाबालक’ रविले यो नबुझ्नु उनको नालायकी होइन, बालसुलभ अज्ञानता हो ।

रविको राजनीतिसँग भीड मात्रै छ, भविष्य छैन । यो तथ्य स्वयं उनको बोली, वचन, व्यवहार र कृत्यले सावित गरेको छ ।

-हाल अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?