+
+

पोखरा जहाज दुर्घटना : फ्लाइट डाटा रेकर्डरमा यस्तो भेटियो तथ्य

अच्युत पुरी अच्युत पुरी
२०७९ माघ २३ गते १९:५०

२३ माघ, काठमाडौं । १ माघ २०७९ मा पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ९एन–एएनसी जहाजको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको छ । दुर्घटना जाँच आयोगका अनुसार जहाज अवतरण गर्ने क्रममा ‘बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदर’मा गएको देखिएको छ ।

एक पाइलटका अनुसार इन्जिनका प्रोपेलर (पङ्खा) हरु फेदरमा जाने अवस्था भनेको जहाज अवतरण हुने प्रक्रिया हो । यसबेला इन्जिनको पावर धेरै कम भइसकेको हुन्छ । जसले गर्दा जहाज साविकको गतिमा उड्न सक्दैन । यो जहाजमा धावनमार्गको सामुन्नेबाट बेस लेग (घुम्ने क्रममा) इन्जिनको पावर कम हुन गएको देखिन्छ । सोहीकारण धावनमार्ग नपुग्दै जहाज दुर्घटनाग्रस्त भएको देखिएको छ ।

अर्का एक एभियसन प्राविधिकका अनुसार यस्तो अवस्थामा जहाजलाई अगाडि हुत्याउने सामार्थ्य इन्जिनमा हुँदैन । त्यसबेला जहाज आकाशबाट कुनै गह्रौं वस्तु खसे जसरी भुइँमा खस्ने गर्छ । यसरी जहाज दुर्घटनामा परेको आयोगले जनाएको छ । उक्त जहाजका दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गयो भन्ने बारे भने आयोगले प्राविधिक र मानवीय दुवै पक्षबारे थप अनुसन्धान अगाडि बढाइएको आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले बताएका छन् ।

काठमाडौंबाट पोखराका लागि उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पश्चिमतर्फ ‘रनवे वान टू’बाट अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । लगत्तै सरकारले दुर्घटना जाँच आयोग गठन गरेको थियो । आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसन ब्यूरोमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डाटा विश्लेषण गरेको थियो । आयोगका संयोजक, हवाई विज्ञ र सदस्यसचिव सिंगापुर गएका थिए । उनीहरु अनुसन्धान र विश्लेषणपछि नेपाल फर्किएका छन् ।

फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको डाटाको विश्लेषण गर्न आयोगको नेतृत्वमा सिंगापुर, फ्रान्स, क्यानडा र आयसाका प्रतिनिधिसमेत बसेर प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको आयोगले जनाएको छ । सो अवसरमा सिंगापुरस्थित एटीआर जहाजको सिमुलेटरमा विभिन्न फलाइट र प्राविधिक पक्षको थप अध्ययन समेत भएको छ ।

आयोगले अन्तिम प्रतिवेदन पेश गर्न समय लाग्ने भएकाले हालसम्म प्राप्त सूचना र तथ्यांकको विश्लेषण र अनुसन्धानका आधारमा हवाई सुरक्षामा थप सुरक्षा अभिवृद्धि गर्न सिफारिससहित प्रारम्भिक प्रतिवेदन ल्याउने तयारी समेत गरेको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?