+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘गरिखान खोज्ने नागरिकको बासै उठाउने हो ?’

एक साताभन्दा कम समयमा चार करोडको कुखुरा व्यवसायमा डुबेका अञ्चन घिमिरेले पाउनु पर्ने राहतका लागि धाउँदा धाउँदा थकित भएको बताए ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ माघ २४ गते २०:१७
अञ्जन घिमिरे । तस्वीर : घिमिरेको फेसबुक

२४ माघ, काठमाडौं । बिनिता घिमिरे ४० वर्षकी भइन् । उनी काठमाडौं गोकर्णेश्वरका अञ्जन घिमिरेसँग वैवाहिक सम्बन्धमा गाँसिएको १९ वर्ष भयो । २० वर्षदेखि कुखुरा पालन व्यवसायमा जमिरहेका अञ्जन यो उद्यमलाई बिनितासँग मिलेर अझ फैलाउने अठोटमा थिए ।

२०७६ सालमै बजारशास्त्रमा स्नातकोत्तर गरेकी बिनिता जागिरका थुप्रै अवसर छाडेर आफ्नै पारिवारिक व्यवसाय राम्रो बनाउन लागेकी थिइन् । ‘राम्रो बजार भएको कुखुरा व्यवसायबाटै सन्तुष्ट हुन्छौं भन्ने थियो’, बिनिताले भनिन्, ‘बच्चाहरु पढ्दै, बढ्दै थिए, व्यवसाय पनि राम्रै थियो ।’

काठमाडौंको गोकर्णेश्वर–८, आरुबारीमा रहेको घिमिरे दम्पत्तीको भेट नामक फार्म अन्तरगत तीनवटा फार्ममा कहिले बोइलर त कहिले लेयर्स कुखुरा हुन्थे । गत जेठमा फर्ममा १० हजार लेयर्स कुखुरा थिए । बिनिताकाअनुसार दैनिक ५ हजार अण्डा उत्पादन हुन्थे । अण्डालाई बजार पुर्याउने कामदार थिए ।

जेठ दोस्रो साता फर्ममा कुखुराहरु बिरामी पर्न थाले । उपचार गर्दा पनि कुखुरा मर्न थाले । ‘बजारमा बर्डफ्लूको हल्ला थियो, हामीले सावधानी पनि अपनाएका थियौं’ बिनिता भन्छिन्, ‘तर, जोगाउन गाह्रो भयो ।’

मरेका कुखुरा परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउँदा २५ जेठमा बर्डफ्लु पुष्टि भयो । ‘प्रहरी र कृषि प्रयोगशालाका कर्मचारी आएर फार्म सिल गरे,’ उनले भनिन् ‘सरकारको निर्देशन बमोजिम हामी आफैंले पनि कुखुरा र अण्डा नष्ट गर्यौं ।’

सरकारको बर्डफ्लू रोग निवारण सम्बन्धी कानुनअनुसार किसानका पक्षी नष्ट गर्दा क्षतिपूर्ति दिनुपर्छ । त्यसअनुसार क्षतिपूर्ति पाइन्छ भन्नेमा निश्चिन्त थिए घिमिरे दम्पत्ती । तर, उनीहरु ९ महिना अघि भएको उक्त क्षतिको कत्ति पनि राहत नपाएको बताउँछन् ।

विनिताका अनुसार आफ्नै रकम र ऋण गरेर फार्ममा ४ करोड रुपैयाँ हाराहारी लगानी भएको थियो । त्यसध्ये आधा बैंक, सहकारी, आमा समूह र साथीभाइको ऋण थियो ।

‘कुखुरा फार्महरु खाली छन्, ऋणले चिन्तत श्रीमान् टहलिएको हेर्छु । मन विरक्त हुन्छ,’ बिनिताले भनिन्, ‘गरिखान खोज्दा सरकारले हैरान बनायो । कानुनले दिने भनेको राहत पनि हामीले पाएनौं ।’ कानुनअनुसार सरकारले राहत दिए ब्याज र ऋण तिरेर अलि हलुका हुने सोच बनाएको उनले सुनाइन् ।

एक साताभन्दा कम समयमा चार करोडको कुखुरा व्यवसायमा डुबेका अञ्चन घिमिरेले पाउनु पर्ने राहतका लागि धाउँदा धाउँदा थकित भएको बताए । गत शुक्रबार मात्र पनि अर्थमन्त्रालयको चक्कर काटेको बताउँदै उनले सरकारविरुद्ध आक्रोश पनि पोखे ।

व्यवसाय गरेकै कारण सरकारले आफ्नो परिवारको सामाजिक र आर्थिक जीवन डामाडोल बनाइदिएको उनको आरोप छ । ‘बैंक र सहकारीले लिलामीको सूचना निकाल्न लागेका छन् । सापटी दिएका साथीहरुले फोनबाट धम्क्याउन थालेका छन्’, अञ्चनले भने, ‘व्यवसाय गर्दा बच्चाको स्कुल फिस पनि तिर्न नसक्ने अवस्था भयो ।’

फार्ममा रहेका १० हजार कुखुरामध्ये सरकारले ७ हजार ६२५ वटा नष्ट गरेको विवरण उनीसँग छ । ‘त्यसको क्षतिपूर्ति दिन्छ भनेर भदौयता सरकारी निकाय धाइरहेको छु,’ उनले भने, ‘सरकारी निकायले दिन्न पनि भन्दैन, नदिएर झुलाउन पनि छाडेन ।’

उनका अनुसार, राहत वितरणका लागि कृषि मन्त्रालयले गत पुस २० गते पत्र लेखे पनि अर्थमन्त्रालयले सहमति नदिएर अड्काएको छ ।

‘नगद क्षतिको राहत पाउन हामीले दलको कार्यकर्ता हुनुपर्ने हो ?’ सरकारलाई अञ्जन घिमिरेको प्रश्न छ, ‘गरिखान खोज्ने नागरिकको बासै उठाउने नियत हो ?’

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?