+
+

टेलिकमको सेवा अवरुद्ध घटना : मर्मतमा गम्भीर लापरबाहीको परिणाम

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ माघ २४ गते २१:५५

२४ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्नो प्रणालीहरुको मर्मतसम्भार र स्तरीकरणमा गम्भीर लापरबाही गर्ने गरेको भेटिएको छ । गत ३ माघको मध्यान्ह १२ बजेदेखि नेपाल टेलिकमको मोबाइल र ल्यान्डलाइन सेवा देशभर अवरुद्ध भएपछि त्यसबारे अध्ययन गर्न बनेको छानबिन समितिले टेलिकमले परिणामको आकलनसमेत नगरी अनुपयुक्त समयमा मर्मतका काम गर्ने गरेको भेटएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गौरब गिरीको नेतृत्वमा बनेको छानबिन समितिले टेलिकम आफ्नो सेवा अवरुद्ध हुनसक्ने कुरामा सचेत नरहेको निष्कर्ष निकालेको छ ।

समितिका एक सदस्यका अनुसार ३ माघमा अत्यधिक भ्वाइस ट्राफिक हुने ‘पिक टाइम’ अर्थात् धेरै फोन कल, एसएमएस र डाटा प्रयोग हुने समयमै टेलिकमले आफ्नो बिलिङ प्रणालीमा मर्मतको काम गरेको पाइएको छ । सम्भावित परिणाम समेत आकलन नगरी मर्मतको काम गर्दा तत्कालै सेवा सुचारु समेत हुन नसेकेको ती सदस्यले बताए ।

‘मर्मतको काम त्यस्तो मनपरि ढंगले गर्नु हुँदैन, सेवामा समस्या पर्न सक्ने र परेमा वैकल्पिक रुपमा के गर्ने भन्ने पूर्वयोजना नबनाई काम भएको भेटियो,’ ती अधिकारीले भने, ‘त्यो नियतबस थियो कि थिएन भन्न सकिन्न । तर, गम्भीर त्रुटि भएको छ ।’

टेलिकमका अधिकारीहरुका अनुसार रातमा गर्नुपर्ने काम दिनमा नै गर्दा धेरै सेवाग्राही प्रभावित हुन पुगेका हुन् । रातमा सेवाग्राहीको संख्या न्यून भएका बेलामा यस्तो काम गरेको भए समस्या कम हुन्थ्यो ।

‘मध्यान्ह १२ बजेतिर एकदमै लापरवाह ढंगले लाखौं सेवाग्राहीलाई समस्या पर्ने गरी बिलिङ सिस्टमको कार्ड फेरिएको थियो,’ ती अधिकारीले भने, ‘त्यस्तो कार्ड फेर्ने काम अत्यधिक कल ट्राफिक भएको समयमा गर्न नै हुँदैन थियो, समस्या पर्छ भन्ने नै नसोची मर्मत गर्दा समस्या भएको हो ।’

केही बेरमै समस्या समाधान हुने अनुमानका आधारमा जोखिमको मूल्यांकन नगरी काम गर्दा यस्तो घटना हुन पुगेको उनले बताए ।

टेलिकमले सेवा अवरुद्ध भएपछि सेवाग्राहीलाई समस्याबारे सूचित गर्न पनि चुकेको थियो । ३ माघमा करिब ३ घण्टा सेवा ठप्प हुँदा टेलिकमले तुरुन्तै कुनै माध्यमबाट ग्राहकलाई सूचित गरेन भने तत्कालै असुविधाको लागि क्षमायाचना पनि मागेको थिएन ।

सो दिन मन्त्रिपरिषद् विस्तारको तयारी हुँदै गर्दा सुरु भएको टेलिफोनको समस्या नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयमा पदबहाली गर्दासम्म पनि समस्या समाधान भइसकेको थिएन ।

सो दिनपछि हप्ता दिनभन्दा बढीसम्म टेलिकमको मोबाइलमा फोन नलाग्ने, लागे पनि बीचमै काटिने, स्वर नबुझिने र राम्रोसँग डाटा इन्टरनेट नचल्ने समस्या देखिएको थियो । अतिआवश्यकीय सेवा लगातार करिब ३ घण्टा र आंशिक रुपमा पटक–पटक अवरुद्ध हुँदा देशभर अन्योलको वातावरण बनेको थियो ।

नेपाल टेलिकमको सेवामा यस्तो समस्या पटक–पटक देखिने गरेको छ । फोरजी र भोल्टे सेवाका लागि २० अर्बभन्दा बढी लगानी गरेको टेलिकमको सेवा किन बारम्बार समस्याग्रत हुन्छ भन्नेबारे कम्पनीको सँधै जवाफ हुन्छ, ‘प्राविधिक कारण ।’

यस्तो प्राविधिक समस्या पटक–पटक किन दोहोरिन्छ भन्ने जवाफ टेलिकमसँग छैन ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारी ३ माघमा प्रणालीहरुलाई जोड्ने उपकरणमा प्राविधिक समस्या आएको र त्यसलाई समाधान गरिसकिएको बताउँछन् । ‘केहीबेर सेवा अवरुद्ध भएपछि एकसाथ धेरै फोनहरु हुँदा केही समयसम्म समस्या थियो,’ उनले भने,‘त्यसैदिनमा सबै समस्या समाधान भएको हो ।’

तर, छानबिन समितिले टेलिकमले गम्भीरतापूर्वक प्रणाली सञ्चालन र मर्मत नगर्दा समस्या भएको निष्कर्ष निकालेको छ ।

१४ असोज २०७० त काठमाडौं उपत्यकामा चार घण्टा टेलिफोन अवरुद्ध भएको थियो । त्यसबेला टेलिकमको छानबिन गरेर निचोड निकालेको थियो,‘सुन्धारा कार्यालयको अप्टिकल फाइबर (ट्रान्समिसन लिंक) मुसाले काटेछ ।’ पटक–पटक ठाउँ–ठाउँमा समस्या आएपछि १४ वैशाख २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिकमका अधिकारीहरुलाई सिंहदरबारमा बोलाएर ‘मुसा प्रवृत्तिले सेवा अवरुद्ध हुन नहुने’ भन्दै सचेत गराएका थिए । अपरेटरहरुले नै तार काटिदिएकोप्रति संकेत गर्दै उनले भनेका थिए, ‘मुसा वा मुसा प्रवृत्ति भएकाहरुले सेवा अवरुद्ध गर्ने क्रमको अन्त्य हुनुपर्छ र जनताले स्तरीय सेवा पाउनुपर्छ ।’

तर, समस्या रोकिएन । फेरि ९ असार २०७८ मा पनि झण्डै २ घण्टा उसैगरी टेलिकमको प्रिपेड र पोस्टपेड मोबाइल सेवा अवरुद्ध भएको थियो । त्यसपछि पनि थोरै–थोरै समय पटक–पटक टेलिकमको मोबाइल सेवा अवरुद्ध हुँदै आएको छ ।

अहिले पनि पनि खास क्षेत्र, खास नेटवर्क र खास अवस्थामा पटक–पटक टेलिफोन सेवा अवरुद्ध हुने समस्या कायम छ । तर, यस्तो समस्या आउँदा टेलिकमले तुरुन्तै समस्याबारे सामान्य जानकारी गराउने गरेको छैन ।

विभिन्न कारणले फोन सम्पर्क टुट्दा अर्को कम्पनीको सिम नभएका ग्राहक टेलिफोन विकल्पहीन हुने गरेका छन् । मोबाइलमाथि निर्भरता बढेकाले एक्कासी सञ्चार सम्पर्क विच्छेद हुँदा जनताको जीवनयापन प्रक्रियामै प्रभाव पर्ने गरेको छ । सञ्चारमा आधारित उद्यम र सार्वजनिक सेवा प्रवाह बढी प्रभावित हुने गरेका छन् ।

मोबाइलमा निर्भरता बढेकाले एक्कासी सञ्चार सम्पर्क विच्छेद हुँदा जनताको जीवनयापनमै प्रभाव पर्ने गरेको छ । सञ्चारमा आधारित उद्यम र सार्वजनिक सेवा प्रवाह बढी प्रभावित हुने गरेका छन् ।

सेवा प्रदायकहरु सचेत र जिम्मेवार नहुँदा यस्तो समस्या आएको दूरसञ्चार प्राधिकरणका अधिकारीहरु बताउँछन् । समयमै प्रविधि र उपकरणहरुलाई अद्यावधिक गर्ने, आवधिक मर्मत सम्भारमा चासो नदिने, प्रणालीलाई चुस्त राखिरहने र सेवा प्रभावित नहुने गरी मर्मतको पूर्वयोजना नबनाउने लगायतका कारण समस्या हुन गरेको छ ।

दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावलीले गुणस्तर कायम नगरेको कारणले मोबाइलमा कुरा गर्दागर्दै आफैं कल काटिने भए उक्त कुरा गरेको समयावधि बराबरको शुल्क वा फोनकल दर बराबरको रकम अनुमतिपत्र प्राप्त व्यक्तिले क्षतिपूर्तिको रुपमा ग्राहकलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।

यस्तो क्षतिपूर्ति सेवा प्रदायकले ग्राहकको मोबाइल र फोनमै उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने विनियमावलीमा उल्लेख छ । तर, न टेलिकम कम्पनीहरुले यसको कार्यान्वयन गरेका छन्, न त नियमनकारी निकाय दूरसञ्चार प्राधिकरणले यसमा अग्रसरता लिएको छ । यस्तो अवस्थामा टेलिकमको लापरबाहीको कारण उत्पन्न समस्यामा पनि ग्राहकहरु नै पीडित हुने गरेका छन् ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?