+
+

हनिमुन लेकलाई आयआर्जनसँग जोड्दै

रासस रासस
२०७९ माघ २४ गते १४:१९

२४ माघ, गण्डकी । सात तालको बगैँचा सहरका रुपमा परिचित लेखनाथको दिपाङ ताल मधुमास ताल(हनिमुन लेक)का रुपमा चर्चित छ । विभिन्न प्रजातिका पाहुना चरा जोडी मिलेर समय समयमा घुम्न आउने भएका कारण यस ताललाई हनिमुन लेक भन्ने गरिएको यहाँका बासिन्दा बताउँछन् ।

यो ताल पछिल्ला वर्षमा प्रेमी जोडीको गन्तव्यका रुपमा पनि विकास भएको छ । नवविवाहित जोडीलाई यस तालले लोभ्याउने गरेको छ । सन् २०१६ मा विश्व रामसार सूचीमा सूचिकृत यो ताल प्राकृतिक सौन्दर्य र दृश्यावलोकनका दृष्टिले आकर्षक छ । पर्यटकको आगमनलाई लक्ष्य गरी तालको किनारामा घुम्न चार किलोमिटर लामो पदमार्ग बनाइएको दिपाङ ताल संरक्षण समितिका अध्यक्ष रामजी लामिछाने बताउँछन् ।

आव २०६८/६९ मा निर्मित उक्त पदमार्गका लागि पटक–पटक गरी करिब रु ६० लाख लगानी भएको उनको भनाइ छ । वरपर घुम्ने पदमार्ग भएका कारण साँझ बिहान एवं बिदाका समयमा यहाँ उल्लेख्य सङ्ख्यामा पर्यटक आउन थालेपछि ताल वरपर विभिन्न होटेल तथा रेष्टुरेन्ट बन्ने क्रम पनि बढ्दै गएको स्थानीयवासी बताउँछन् ।

तालमा प्राय बिदाका दिन पर्यटक आउने गरेको एचटुओ रेष्टुरेन्ट एण्ड बारका कमल गुरुङको भनाइ छ । ‘प्राकृतिक दृश्यावलोकनसँगै माछाका परिकारको स्वादका लागि ठाउँ ठाउँबाट पर्यटक आउने गरेका छन्’, उनी भन्छन्, ‘शान्त एवं सुन्दर स्थानमा रहेका कारण यसले पर्यटकलाई आकर्षित गर्ने गरेको हो ।’

सहकारीमार्फत तालको संरक्षण र आयआर्जन

उक्त ताललाई स्थानीयवासीको आयआर्जनसँग जोड्ने उद्देश्यले दिपाङ मत्स्य सहकारी सञ्चालनमा ल्याइएको छ । उक्त सहकारीले तालको संरक्षणसँगै यहाँबाट आम्दानी गर्ने लक्ष्य लिएको कार्यबाहक अध्यक्ष कृष्ण रानाभाटले बताए ।

तालको जलाधार क्षेत्र पोखरा महानगरपालिका वडा नं २७, २८ र ३० का बासिन्दालाई समेटेर सहकारी सञ्चालनमा ल्याइएको र हाल ५४६ जना शेयर सदस्य रहेको उनको भनाइ छ । यस तालले कूल ६६८ रोपनी ७ आना तीन पैसा तीन दाम क्षेत्रफल ओगटेको छ र त्यसमा लगभग ३३८ रोपनी आठ आना क्षेत्रफल पानीको भाग रहेको छ । लेखनाथको चौथो ठूलो तालको रुपमा रहेको यसको पूर्वमा रुपा, बेगनास र मैदी ताल तथा उत्तर पश्चिममा गुँदे, न्युरेनी र खाष्टे ताल छन् ।

यो ताल पर्यावरणीय दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । यहाँ २२ प्रजातिका चरा, १६ प्रजातिका माछा, आठ प्रजातिका अन्य घस्रने प्राणी, छ प्रजातिका कमलको फूलका साथै नाभो, गुँदजस्ता वनस्पति पनि पाइन्छ ।

पोखराका अन्य तालमा भन्दा यहाँ मानवीय एवम् प्राकृतिक अतिक्रमण कम भएकै कारण यसलाई कुमारी(भर्जिन) तालका रुपमा समेत लिने गरिएको छ ।

तालको सौन्दर्य जोगाउँदै संरक्षण एवम् आयाआर्जन बढाउनका लागि सहकारीले माछापालनलाई व्यवस्थित गराउँदै लगेको सहकारीका कार्यवाहक अध्यक्ष रानाभाट बताउँछन् । माछा उत्पादनका लागि अघिल्लो वर्ष रु १० लाखका भुरा छाडिएको र प्रत्येक हप्ता दुई पटक माछा निकाल्ने गरिएको छ ।

एक पटकमा १५ देखि ७५ किलोग्रामसम्म माछा निकाल्ने र बिक्रीबाट भएको आम्दानी सहकारी कोषको बचतमा राख्ने गरिएको उनले बताए । माछा विक्रीबाट अघिल्लो वर्ष सहकारीले रु १० लाख आम्दानी गरेकाकामा यस वर्ष करिव रु ११ लाख आम्दानी भएको छ ।

‘तालमा रु २५लाख देखि ३० लाखसम्मको भुरा राख्न सकेमा तालको पर्यावरणीय संरक्षणसँगै माछाको उत्पादन बढाउन सकिन्छ’, अध्यक्ष रानाभाट भन्छन्, ‘तालमा लगभग रु एक करोड बराबरका माछाका भुरा छोड्न सकिने अवस्था छ ।’

भूगोलका दृष्टिले पनि यो ताल पोखराका अन्य तालभन्दा सुरक्षित मानिन्छ । वरिपरि वस्ती नहुनु र चारैतिर सामुदायिक वनले घेरिनु यहाँको विशिष्टता हो । कतैबाट पनि अतिक्रमित नभएका कारण यसलाई कुमारी ताल भन्ने गरिएको छ ।

दिपाङ ताल संरक्षण समितिको सक्रियता र राष्ट्रिय ताल संरक्षण विकास समितिको सहयोगमा आर्थिक वर्ष २०६६/६७ मा रु २९ लाखको लागतमा तालको बाँध निर्माण गरिएको थियो ।  राष्ट्रिय ताल विकास तथा संरक्षण बोर्डको सहयोगमा ताल सरसफाइ, वृक्षरोपण, उद्यान तथा वनभोज स्थल आदि निर्माण गरिएको छ ।

दृश्यावलोकनका लागि प्रेमी प्रेमीकाको आकर्षण बन्दै गएको यो ताललाई नवविवाहित जोडीलाई पनि आकर्षण गर्ने किसिमले नै ‘हनिमुन लेक’ का रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य छ । पर्यटकको सुविधालाई लक्ष्य गरी विस्तारै होटल तथा रेष्टुराँ, विश्राम स्थलजस्ता पूर्वाधार निर्माणलाई अघि बढाउने सोच राखिएको छ ।

ताल वरपर बाँधसहित पाँच किलोमिटर लामो पदमार्गले ताल अतिक्रमणको समस्या दीर्घकालीन रुपमा समाधान गर्नाका साथै यसले तालको दृश्यावलोकनलाई टेवा पुर्‍याएको छ । वरिपरि पन्थको डाँडा सामुदायिक वन, सहेलो पाखा सामुदायिक वन, पाखरे सामुदायिक वन, भालटारी भित्तेरी सामुदायिक वन र केही खेत छन् । वरिपरिका सामुदायिक वनका कारण पनि यो अन्य तालभन्दा सुरक्षित बनेको छ ।

ताल अवलोकन गर्न आउने पर्यटकलाई लक्ष्य गरी तालसँगै जोडिएको पन्थको डाँडा सामुदायिक वन क्षेत्रमा निर्मित वनभोज स्थलमा यतिखेर पोखरा आसपासबाट विभिन्न समूह समय समयमा बनभोजका लागि पुग्ने गरेका छन् ।

तालको किनारामा रहेको बनभोजस्थल भौगोलिकरुपमा पनि उपयुक्त रहेको बरिष्ठ पर्यटन व्यवसायी बोबरजंग गुरुङ बताउँछन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?