+
+

विवेकशील साझाका नेताहरु फेरि एकै ठाउँमा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १७:१५

२६ माघ, काठमाडौं । विवेकशील साझा पार्टीको पहिलो महाअधिवेशन भोलि शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले ‘विचारभन्दा माथि देश’ नामक प्रस्ताव ल्याएपछि पार्टी छाडेका नेताहरू पनि महाधिवेशनको पूर्वसन्ध्यामा विवेकशील साझामै सक्रिय भएका छन् ।

मिश्रले साउन २०७८ मा संघीयता खारेज र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अघि सारेपछि तत्कालीन संयोजक मिलन पाण्डेसँगै नेताहरू केशव दाहाल, रञ्जु दर्शना, रमेश पौडेल लगायतले पार्टी छाडेका थिए ।

११ जेठ २०७९ मा विवेकशील साझाको अध्यक्ष छाडेका मिश्र १२ असोजमा राप्रपा प्रवेश गरे । ४ मंंसिरको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी २० सिटसहित संसदको चौथो दल बन्दा विवेकशील साझाले भने समानुपातिकमा मुश्किलले ४ हजार मत पायो । विवेकशील साझा छाडेर स्वतन्त्र रूपमा चुनाव लडेकी रञ्जु दर्शना र साझा पार्टीबाट लडेका मिलन पाण्डे पनि पराजित भए ।

चुनावको निराशाजनक परिणाम र ‘विचारभन्दा माथि देश’को प्रस्ताव खारेज गर्ने पार्टी निर्णयपछि नेताहरूबीच फेरि सम्वाद सुरु भएको हो । र, महाधिवेशनको पूर्वसन्ध्यामा रवीन्द्र मिश्रको प्रस्तावकै कारण पार्टी छाडेका नेताहरू एकठाउँमा आएका छन् । पाण्डे भन्छन्, ‘जुन दस्तावेजका कारण वैचारिक विमति थियो, त्यसलाई घातक भनेर खारेज गरेपछि एक ठाउँमा नबस्नुपर्ने केही थिएन ।’

अहिले आफूहरू पार्टी महाधिवेशनमा पेश गर्ने दस्तावेजलाई अन्तिम रूप दिन जुटेको उनले सुनाए । पाण्डेका अनुसार अब संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायतका विषयमा प्रष्ट धारणा बनाएर अघि बढ्ने तयारी छ ।

नेतृत्व भने सहमतिमा चयन गर्ने भनिएको छ । दस्तावेज लेखन र निर्वाचनको जिम्मा पाएका नेता केशव दाहाल नेतृत्वमा आफ्नो दाबी नरहेको बताउँछन् ।

‘हामी वैकल्पिक राजनीतिको मूल बाटो पहिल्याउने गरी राजनीतिक दस्तावेज लेखनमा लागिरहेका छौं,’ उनले भने, ‘महाधिवेशनमा निर्वाचन गराउने जिम्मा पाएको छु, पार्टीको नेतृत्व सहमतिमा खोज्न अधिकतम मेहनत गर्नेछौं ।’

पार्टीका अर्का नेता यसपटक पार्टी नेतृत्वको बहसले प्राथमिकता नपाएको बताउँछन् । ‘धोका र विश्वासघातबाट थलिएको बेला इमान्दारितापूर्वक वैकल्पिक राजनीतिको झण्डा उठाइरहेका साथीहरूमध्ये कसैले पार्टीको नेतृत्व गर्नुहुन्छ,’ उनले भने, ‘अहिलेसम्म कुनै नेताले नेतृत्वमा दावी गरेका छैनन् ।’

यद्यपि, पार्टी अध्यक्ष समीक्षा बास्कोटा र पूर्वसंयोजक मिलन पाण्डेमध्ये एकजना नेतृत्वमा आउने संभावना रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?