+
+

टर्कीले भूकम्पमा नेपाललाई दिल खोलेर सघायो, पालो हाम्रो

नवीन ढुंगाना अच्युत पुरी नवीन ढुंगाना, अच्युत पुरी
२०७९ माघ २६ गते २१:१८
भूकम्प प्रभावितलाई काभ्रेमा राहत वितरण गर्दै टर्किस नागरिक

२६ माघ, काठमाडौं । टर्की भूकम्पमा ध्वस्त ठूला शहरहरु, भग्नावशेषमा च्यापिएका नाबालक र थुप्रै विभत्स तस्विरहरुले सामाजिक सञ्जाल भरिंदा नेपालीहरु ८ वर्ष अघि आफूले भोगेको महाप्रलय सम्झिरहेका छन् । त्यो प्रलयमा हामीलाई टर्कीको राज्यमात्रै होइन, त्यहाँका नागरिकसमेतले मन फुकाएर सघाएका थिए । यति बेला टर्की र सिरियाको सीमा नजिक गत साता गएको महाभूकम्पमा परी ज्यान गुमाउनेको संख्या १५ हजार नाघेको खबर छ ।

यस्तोमा हामी एकैछिन नेपाली महाभूकम्पको सम्झना गरौं ।

‘नेपालमा गएको भूकम्पपछि स्वतन्त्र मानवीय सहायता संस्था (आईएचएच) को खोज तथा उद्धार टोली २४ घण्टाभित्रै उक्त क्षेत्रमा पुगेर भग्नावशेष हटाउने काममा सहयोग गरेको थियो । अब हामी नेपाल जाँदैछौं, जहाँ लाखौं मानिसहरू घरबारविहीन छन् र खाद्यान्न सहायताको खाँचोमा छन्, घाउ केही हदसम्म निको पार्न, खाद्यन्न, पाल र आपत्कालीन आपूर्तिहरू खरिद र वितरणको अतिरिक्त, हामी योजनाबद्ध स्थायी परियोजनाहरूको लागि अनुसन्धान पनि गर्नेछौं । यो एक कठिन क्षेत्र हो, परकम्पनहरू सधैं जारी रहन्छ । नेपाल र नेपालीका लागि प्रार्थना गर्छौं ।’

२ जेठ, २०७२ का दिन टर्कीका स्वतन्त्र मानवीय सहायता संस्थाका सदस्यहरु मध्येका एक ताल्हा केस्कीनले आफ्नो टोलीको फोटोसहित फेसबुकमा लेखेको सन्देश हो यो । १२ वैशाख, २०७२ को नेपाल महाभूकम्प र २९ वैशाखको ठूलो पराकम्पको केही दिनपछि ताल्हा केस्कीन, उनका साथी मोहम्मद तेलाहा र अन्य टिम राहतका लागि नेपाल आएको थियो । गोरखा केन्द्रबिन्दु भएर आएको महाभूकम्पमा झण्डै ९ हजार मानिसले ज्यान गुमाएर नेपाल स्तब्ध बन्दा टर्कीबाट सरकारी र स्वतन्त्र मानवीय सहायताहरु प्रशस्त मात्रामा आएका थिए ।

ताल्हा केस्कीन र उनको संस्थाको टोलीले नेपालमा अति भूकम्प प्रभावित जिल्लाहरुमा १० दिन बिताएर राहत सामग्री वितरण गरेको थियो ।

भूकम्प प्रभावितलाई नुवाकोटमा राहत वितरण गर्दै टर्किस नागरिक

टर्की महाभूकम्पको खबर लगत्तै हामीले तिनै ताल्हा केस्कीन र मोहम्मद तेलाहालाई सामाजिक सञ्जालमार्फत सोधेका थियौं, ‘तिमीहरुलाई ठिक छ ? हामी तिमीहरुको जनता र देशका लागि पनि कामना गरिरहेका छौं ।’ ताल्हा केस्कीनले जवाफ फर्काए, ‘म ठिक छु उद्धार र राहतमा खटेको छु ।’ यसपछि उनीबाट थप जवाफ आएन ।

महाभूकम्पको महाविपत्तिमा परेको देश र जनताको ठाउँबाट थप जवाफको योभन्दा बढ्ता अपेक्षा गर्नु सायद उचित हुँदैन । तर, ८ वर्ष अघि भूकम्पले ध्वस्त भएको नेपाली गाउँ गाउँमा पुगेर मानवीय सहायता बाँडेका उनीहरुको देशले पक्कै यतिबेला नेपाल र नेपाली जनाताबाट पनि मानवीय सहयोगको अपेक्षा राख्दछन् ।

नेपालमा ८ वर्ष अघि राहत वितरणमा खटिएका ताल्हा केस्कीन उनका साथी मोहम्मद तेलाहा र अन्य सदस्यहरुको सामाजिक सञ्जाल फर्केर हेर्दा उनीहरु धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लाका गाउँ गाउँ पुगेर राहतका लागि काम गरेको फेला परे ।

५ जेठमा धादिङ खाल्टेको एक भग्नावशेषयुक्त विद्यालयको फोटो राख्दै उनीहरुले लेखेका छन् ‘धन्य यो दिन विद्यालय बन्द थियो ।’

१० दिनको नेपाल बसाइमा उनीहरु राहतका लागि गाउँ गाउँ पुगेको र उनीहरुले मानवीय सहायता र राहतका लागि काम गर्दा खेपेको हैरानी उनीहरुको पेजमा अहिले पनि कायमै छ ।

राहत बोकेको गाडी फसेर धकेल्दै गरेका होस् वा चामलको बोरा बोकेर बाँड्न उद्धत उनीहरुले विगतले हामीलाई पुनः झेलेको विपत्ति सम्झाइदिएको छ ।

नेपालमा १० दिनको आपतकालीन राहत कार्यपछि, घर फर्किने समय आएको भन्दै एउटा फोटोमाथि तेलाहाले यस्तो क्याप्सन लेखेका थिए, ‘हाम्रो नेपाल बसाइ सकिएको छ, अवश्य पनि, हामी र हाम्रो साझेदार संस्थामार्फत यहाँका जनताको अत्यवश्यक वस्तुहरुको राहत वितरण जारी रहनेछ ।

विश्वका विभिन्न देशहरूबाट भएको सहायताहरु भाषा, धर्म, जातिको भेद्‍भाव नगरी बाँडफाँट हुने गरेको हामीले देखेका छौं । हामीले हजारौं परिवारको खाना, कम्बल र पाल जस्ता आवश्यकताहरू पुरा गरेका देख्यौं । भूकम्प पीडितहरूलाई सहयोग गर्ने सबै परोपकारीहरूलाई धन्यवाद । ’

नेपाल सरकारले बुधबार पहिलो चरणमा स्वास्थ्यकर्मीसहितको सहायता टर्कीका लागि पठाउने घोषणा गरिसकेको छ । नेपालबाट टर्की र त्यस क्षेत्र हुँदै उडान भर्ने जहाज कम्पनीले पनि मानवीय सहायता सित्तैमा बोकिदिने घोषणा गरेका छन् । अब, खाँचो नेपाली जनताले टर्कीका जनताका लागि गरिदिने सहयोगको हो ।

उद्योग, वाणिजय तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार नेपालबाट टर्कीलाई सहायता उपलब्ध गराउने सम्बन्धमा बुधबार परराष्ट्र मन्त्रालयमा छलफल भएको थियो । निजी क्षेत्र र सरोवालासँगको छलफलमा बच्चा देखि वृद्धसम्मलाई हुने राहत सामग्री पठाउनेबारे छलफल भएको उनले जानकारी दिए ।

२४ घण्टा भित्र ८२ जनाको टीम टर्कीबाट आएको थियो नेपाल

१२ वैशाख २०७२ को भूकम्पका बेला टर्कीबाट ८२ जनाको उद्धार टोली नेपाल आएको थियो । यो टोली नेपालमा भूकम्प गएको २४ घण्टा भित्र आएको थियो । यो टोली १० मे २०१५ सम्म नेपालमा बसेको थियो । नेपाल भूकम्पमा सहयोग गर्न संसारका ३४ वटा मुलुकबाट ४ हजार ५२१ जना नेपाल आएका थिए । जसमध्ये सबैभन्दा धेरै भारतबाट १४१५ जना उद्दारकर्मी नेपाल आएका थिए ।

टर्कीबाट नेपालले बिस्कुटसहित खाद्य सामग्री सहायताका रुपमा पाएको थियो । १ हजार टेण्ट र २४०० फुड प्याकेज पनि टर्कीबाट नेपाल आएको थियो । खाद्यान्न, औषधि र व्यक्तिगत सरसफाइका मानवीय सहायताका सामग्री टर्कीले नेपालमा पठाएको थियो ।

यस्तो छ नेपाल टर्की ६० वर्षे सम्बन्ध

नेपाल र टर्कीबीच ३० कात्तिक २०१९ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । अहिले नेपालले टर्कीको कूटनीतिक मामला पाकिस्तानस्थित दूतावासले हेरिरहेको छ । टर्कीको राजधानी स्तानबुलमा नेपालको आफ्नै महावाणिज्य दूतावास छ । टर्कीले नेपाल मामिला भने नयाँ दिल्लीस्थित टर्कीको दूतावासले हेर्दै आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

६० वर्षको दुई पक्षीय कूटनीतिक सम्बन्धमा नेपाल र टर्कीबीच आपसी सहकार्य, दुई पक्षीय व्यापार र सीप तथा ज्ञान आदान प्रदान हुँदै आएको छ । व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका अनुसार टर्की नेपालको २२ औ ठूलो व्यापार साझेदार मुलुक हो ।

आव २०७८/७९ मा नेपालले १७४ वटा मुलुकसँग व्यापार गरेको थियो । जसमध्ये टर्कीसँगको व्यापार २२औं स्थानमा छ । सो वर्ष नेपालले टर्कीबाट ९ अर्ब २४ करोडको वस्तु आयात गरेको थियो । ३ अर्ब ७४ करोडको नेपाली वस्तु टर्की निर्यात भएको तथ्यांक छ ।

२०७३ सालमा नेपाल र टर्कीबीच दुईपक्षीय सहकार्यका लागि संयन्त्र बनाउने समझदारी भएको थियो । नेपालको धागो, कार्पेट, पश्मिना, ह्याण्डक्राफ्ट जस्ता वस्तु टर्कीको बजारका लागि निकै रुचाइएको उत्पादन हो । यस्तै नेपालले भने टर्कीबाट खाद्यन्न परिकार, सुन र महँगा धातु तथा मेसिनरी वस्तु नेपालले आयात गदै आएको छ ।

नेपाल–टर्की साझेदारी बढाउन भन्दै सन २०६७ असारमा नेपाल र टर्की बीच हवाई सेवा सम्बन्धी समझदारीमा हस्ताक्षर भएको थियो । जसको तीन वर्षपछि २०७० बाट टर्कीको राष्ट्रिय धवजाबाहक जहाज टर्कीस एयरलाइन्सले काठमाडौं–स्तानबुल सिधा हवाई यात्रा सुरु गरेको थियो । नेपाललाई सस्तो मूल्यमा र गुणस्तरीय हवाई सेवामा टर्की र युरोपसँग जोड्न सो हवाई सेवा फलदायी मानिएको छ ।

सरकारी तथ्यांकअनुसार नेपाल २०७२ सालमा भएको महाभूकम्प पछि टर्की र नेपालको सम्बन्ध थप विस्तार भएको थियो । हालसम्म नेपालमा टर्कीबाट २ खर्ब ५० अर्ब रुपयाँको वैदेशिक लगानी भित्रिएको छ । उक्त लगानीबाट गतवर्षसम्म २५ वटा कम्पनीहरु सञ्चालमा रहेको र ती कम्पनीहरुबाट ८३३ जनालाई रोजगारी पैदा भएको उद्योग विभागले जनाएको छ ।

नेपालबाट सबैभन्दा ठूलो व्यापार रहेको धागोका उत्पादकहरुले टर्कीलाई आवश्यक सहयोगबारे छलफल सुरु गरेको जनाएको छ । नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले व्यक्तिगत सहयोगका लागि आफूहरुले पहल सुरु गरिसकेको बताए । ‘नेपालको महाभूकम्पमा हामीलाई सघाएको नाता र हाम्रो व्यावसायिक नाताले पनि टर्कीलाई सकेको सहयोग गर्नु पर्छ,’ अध्यक्ष गोल्यान भने, ‘जनस्तरबाट केही राहतको सामग्री पठाउन सकियो भने झनै राम्रो हुन्छ । हामी व्यक्तिगत रुपमा केही गर्ने सोचिरहेका छौं ।’

उनका अनुसार टर्की नेपालको थोरै सकारात्मक व्यापार भएको मुलुक मध्येको एक हो र यसमा जनस्तरबाटै सघाउनु पर्ने उनको भनाइ छ । नेपालमा रिलायन्स र त्रिवेणी धागो उद्योगले मात्रै टर्कीमा ८ अर्ब हाराहारीको धागो निर्यात गर्ने पनि उनले बताए ।

टर्कीका नागरिकहरु नेपालमा पदयात्रा लगायतका पर्यटनका लागि आउँछन् भने नेपालीका लागि पनि टर्की राम्रो पर्यटकीय गन्तव्य हो । सन् २०२३ जनवरीमा मात्र टर्कीबाट ३७४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । कोरोना भाइरसको महामारीपछि यस मुलुकबाट नेपालमा हुने पर्यटक आगमन क्रमशः बढ्दै गएको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?