+
+

सुर्खेतमा भाडामा लगाएका पार्टी कार्यालय खाली गराइँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १९:०३

२६ माघ, सुर्खेत । सुर्खेतको नगर विकास समितिले आफू मातहतको जग्गाको खोजी र संरक्षण सुरु गरेको छ ।

पहिलो चरणमा नगर विकास समितिको नाममा रहेको जग्गाको अवस्था पहिचान गरी उपयोगको वास्तविक स्थिति सहितको प्रतिवेदन तयार गरिने अध्यक्ष तथा वीरेन्द्रनगर नगरपालिकाकी मेयर ढकालले जानकारी दिएन् ।

त्यसलगत्तै प्रतिवेदनका आधारमा अतिक्रमण हटाउने नगर विकास समितिले निर्णय समेत गरेको छ । ‘नगर विकास समितिको पहिलेको नेतृत्वले मनोमानी ढंगले जग्गा वितरण गरेको देखिन्छ, हामी छानबिन गरेर निर्ममताका साथ अतिक्रमण हटाउँछौं’, मेयर ढकालले अनलाइनखबरसँग भनिन् ।

मेयर ढकालका अनुसार अतिक्रमित जग्गा हटाउने अभियान सबैभन्दा पहिला राजनीतिक दलहरुको पार्टी कार्यालयमा रहेका सटरबाट सुरु गरिएको छ । विभिन्न दलले नगर विकास समितिको जग्गामा बनेका पार्टी कार्यालय व्यवसायिक रुपमा सटर भाडामा लगाउँदै आएका छन् । त्यसलाई हटाउन निर्देशन दिने मंगलबार बसेको नगर विकास समितीको बैठकले निर्णय गरेको छ ।

‘जुन प्रयोजनका लागि लिइएको हो, त्यसमै प्रयोग गर्नुपर्छ । पार्टी कार्यालयहरु व्यावसायिक कम्प्लेक्स बनाउन मिल्दैन’, नगर विकास समितिको अध्यक्ष समेत रहेकी ढकालले भनिन्, ‘त्यसको सुरुवात पार्टी कार्यालयका सटरबाट गरेका छौं । विस्तारै सबैतिर गर्छौं ।’ दलहरुलाई ३५ दिने म्यादसहित सूचना दिएर भाडामा दिइएका व्यवसायिक सटर खाली गराउन पत्राचार गरिने छ ।

वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका दलहरुले पार्टी कार्यालयमा बनेका सटरबाट भाडा उठाइरहेका छन् । एमालेले ८ वटा र माओवादी केन्द्र र २ वटा सटर व्यवसायिक प्रयोजनका लागि भाडामा दिँदै आएको छ ।

वीरेन्द्रनगरमा उपत्यका नगर विकास र जिल्ला समन्वय समितिका नाममा रहेको जग्गामा वषौंदेखि व्यक्तिले आफूखुशी संरचना बनाएर प्रयोग गर्दै आएका छन् । सरकारी जग्गा भाडामा लगाउने विषयलाई निरुत्साहित गर्दै सार्वजनिक उपयोग र प्रयोगमा जोड दिइने नगरपालिकाको योजना रहेको मेयर ढकालले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?