+
+

आईओएमको मौका परीक्षा पर्खिरहेका विद्यार्थी भन्छन् – हामी अन्यायमा पर्‍यौं

नुनुता राई नुनुता राई
२०७९ माघ २७ गते ७:००

२७ माघ, काठमाडौं । चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)ले मौका परीक्षाको अवसर नदिएको भन्दै एमबीबीएस र बीडीएसका विद्यार्थीले गुनासो गरेका छन् ।

पहिलो वर्षमा फेल हुने विद्यार्थीलाई मौका परीक्षाको अवसर दिएको तर दोस्रो वर्षमा फेल हुने विद्यार्थीलाई नदिएको विद्यार्थी राजीव दासले बताए ।

त्रिविले चिकित्सा शास्त्र अध्ययन संस्थानको चार वर्षको पढाइलाई तीन फेजमा विभाजन गरेको छ । जस अनुसार पहिलो र दोस्रो वर्षलाई पहिलो फेज, तेस्रो वर्षलाई दोस्रो फेज र चौथो वर्षलाई तेस्रो फेज भनिन्छ ।

पहिलो फेज उतीर्ण गर्न मौका परीक्षाको आशा गरेका विद्यार्थी राजीव भन्छन्, ‘हामीलाई पनि मौका परीक्षा दिने अवसर दिनुहोस् भनेर माग गरिरहेका छौं तर दिइएको छैन । हामीलाई मात्रै किन विभेद गरिँदैछ भन्ने प्रश्न हो ।’

पहिलो फेजमा आईओएमको व्यवस्था अनुसार चार पटक परीक्षा दिएका राजीवले दोस्रो वर्षको एउटा विषय पास गर्न नसक्दा मौका परीक्षाको आशा गरेका हुन् ।

गण्डकी मेडिकल कजेजमा एमबीबीएसका अध्ययरत राजीवले मौका परीक्षा दिन पाएको र पास गरेको भए अहिले अन्तिम वर्ष पढिरहेका हुने थिए । तर पहिलो फेज उतीर्ण गर्न नसक्दा दोस्रो फेजमा पढ्न नै पाएका छैनन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थान अतर्गतका ९ वटा क्याम्पसमा एमबीबीएस, बीडीएस शैक्षिक कार्यक्रमको प्रथम फेजको दोस्रो वर्षमा अध्ययनरत ३ सय भन्दा बढी विद्यार्थी मौका परीक्षाको आशामा छन् ।

चिकित्सा शिक्षाका विद्यार्थीले पहिलो फेजको परीक्षा पास गरेपछि मात्र दोस्रो फेज पढ्न पाउँछन् । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले २०७८ पुसमा परीक्षा प्रणाली संशोधन गर्दै एमबीबीएस र बीडीएस पहिलो फेज उतीर्ण गर्न प्रथम वर्षको ६ पटकसम्म र दोस्रो फेजको ४ पटकसम्म परीक्षा दिन पाउने व्यवस्था गरेको थियो ।

तर चैतमा पुन परीक्षा प्रणाली संशोधन गर्‍यो । त्यसपछि प्रथम फेज (प्रथम र दोस्रो दुवै वर्षमा) चार-चार पटक मात्र परीक्षा दिन पाउने व्यवस्था लागू भयो र चार पटकसम्म पनि पास गर्न नसकेमा विद्यार्थीले क्याम्पस छाड्नुपर्ने भयो ।

पहिलो फेज पास गरेमा दोस्रो फेज अर्थात तेस्रो वर्ष र तेस्रो फेज अर्थात चौथो वर्ष (इन्टर्नसहित) मा भने उतीर्ण हुने समयसीमा राखिएको छैन । पहिलो फेज उत्तीर्ण गर्न नसकेका सबै विद्यार्थीले सबै फेजको शुल्क पहिल्यै बुझाइसकेकाले बीचमा पढाइ छाड्न बाध्य पार्न नहुने पनि बताएका छन् ।

२०७९ भदौमा पनि विद्यार्थी संगठनहरु संस्थानबीच भर्ना हुँदा एकमुष्ट लिएको प्रमाणको आधारमा डीन कार्यालयबाट फिर्ता गराउन पहल गर्ने सहमति भएको थियो ।

बीडीएसका विद्यार्थी सूर्यबहादुर थापाले एक पटक पनि मौका परीक्षाको अवसर नदिएर चिकित्सा शास्त्र अध्ययन संस्थाले आफूहरुलाई अन्याय गरेको बताए ।

उनीहरु अध्ययनरत कलेजहरुले विद्यार्थीबाट पाँचै वर्षको एकमुष्ट शुल्क समेत लिइसकेको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्स, भैरहवामा बीडीएस पढेका थापा भन्छन्, ‘अरुलाई मौका परीक्षा दिने हामीलाई चाहिँ किन नदिन खोजेको हो । हाम्रो समय, पैसाको कुनै मूल्य हुँदैन र ।’ थापाको पनि पहिलो फेजको दोस्रो वर्षको एक विषय पास गर्न बाँकी छ ।

सबै कलेजले दोस्रो वर्षको अन्तिम परीक्षा हुनअघि नै पाँचै वर्षको शुल्क लिने गरेको विद्यार्थी बताउँछन् । किस्ट मेडिकल कलेज, ललितपुरमा एमबीबीएस पढिरहेकी कबिता बस्नेत भन्छिन् ‘पैसा चाहिँ सबै असुल गर्ने अनि चान्स इक्जामचाहिँ नदिने भन्ने हुन्छ ?’ मौका परीक्षा नपाएर अन्योलमा परेको बताउँछिन ।

संस्थानले कलेजलाई आर्थिक फाइदा गराउने तर विद्यार्थीको भविष्य अन्योलमा पार्ने गरेको बस्नेत बताउँछिन् । कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले एक पटकका लागि मौका परीक्षा दिनुपर्ने उनीहरुको माग छ ।

चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेकी भूमिका राजवंशी विद्यार्थीहरुको भविष्य बिग्रन नदिन एक पटक मौका परीक्षा दिनुपर्ने बताउँछिन् । उनी भन्छिन् ‘हामीले दुई वर्ष पढ्यौं । त्यसपछि मौका परीक्षाको पर्खाइमा दुई वर्ष बितिसकेको छ । लाखौं शुल्क तिरिसकेका छौं । अनि संस्थानले एक पटक पनि मौका परीक्षाको अवसर नदिएर अन्याय गरिरहेको होइन र ?’

अहिले अर्को क्षेत्र रोजेर जानको लागि पनि पचास लाख बढी पैसा तिरिसकेको आर्थिक रुपमा पनि सामथ्र्य नरहेको बताउँछिन् । आईओएमले यो भन्दा अघिकालाई मौका परीक्षाको अवसर दिएकोले अहिलेका विद्यार्थीहरुलाई पनि एक पटक दिनुपर्ने उनको जिकिर छ ।

चिकित्सा शिक्षा अध्ययन संस्थानकी डिन प्रा.डा.दिव्या सिंह शाहले विद्यार्थीसँगको सहमतिका आधारमा गठित अध्ययन समितिले नै ब्यारियर प्रणाली उचित भएको र मौका परीक्षा लिनु नपर्ने सुझाव दिएको बताउँछिन् ।

‘विद्यार्थीसँग भएको सहमतिकै आधारमा हामीले व्यारियर प्रणाली बढाउने विषयमा अध्ययन समिति बनाएका थियौं । तर समितिले ३० वर्षदेखि लागू हुँदै आएको व्यवस्था केही विद्यार्थीको मागको आधारमा परिवर्तन गर्न नहुने सुझाव दिएकाले हामी मौका परीक्षा अथवा व्यारियर पटक नबढाउने निर्णयमा पुगेका हौं’ उनले भनिन् ।

विद्यार्थीले सुरुको दुई वर्षमा नै आफ्नो क्षमता थाहा पाएर फरक क्षेत्रमा जान सहज होस् भनेर ब्यारियर सिस्टम राखेको उनको भनाइ छ । त्रिविको सम्बन्धन प्राप्त निजी कलेजका विद्यार्थीहरुमा मात्रै यो समस्या रहेको र उनीहरुकै समस्याका आधारमा व्यवस्था परिवर्तन गर्न नसकिने डिन शाहले बताइन् ।

भन्छिन्, ‘गुणस्तर कायम गर्नको लागि नै परीक्षा हुने हो । चार पटकसम्म पनि उत्तीर्ण गर्न नसक्ने विद्यार्थीलाई मौका परीक्षा दिँदा भोलि हाम्रो समग्र शैक्षिक गुणस्तरमाथिको विश्वसनीयता गुम्न सक्ने जोखिम लिन सकिँदैन ।’

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?