+
+

इनरुवा अस्पतालका ८ चिकित्सकले दिए सामूहिक राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते १५:३७

२७ माघ, काठमाडौं । डाक्टरलाई मानसिक तनाव दिने, धम्काउने व्यक्तिलाई मेडिकल सुपरिटेन्डेन्टले नै मौन समर्थन गरेको भन्दै इनरुवा अस्पतालका ८ मेडिकल अधिकृतले सामूहिक राजीनामा दिएका छन् ।

बिहीबार बेलुका सुनसरीको इनरुवा अस्पतालका मेडिकल अधिकृतहरुले बिरामी र मेडिकल अधिकृतबीच भएको विवादमा मेसु डा. देवराज घिमिरे मौन बसेको भन्दैं उनीहरुले अस्पताल व्यवस्थापनलाई सामूहिक राजीनामा बुझाएका हुन् ।

सामूहिक राजीनामा बुझाउनेमा मेडिकल अधिकृतहरु डा. महेशकुमार शाह, डा. रतिकुमार यादव, डा. आशिष देव, डा. अभिषेकुमार सिंह, डा. श्रेया पंगेनी, डा. कृतिका हमाल, डा. दिपेन्द्र मेहता र डा. वीरेन्द्र मण्डल रहेका छन् । उनीहरुमध्‍ये चार जना छात्रवृत्तिका र चार जना प्रदेश सरकारले करारमा राखेका चिकित्सक हुन् ।

राजीनामा दिएकी डा. श्रेया पंगेनी यस्तो घटना पटक–पटक भएको र चिकित्सकलाई मानसिक तनाव दिएका कारण बाध्य भएर राजीनामा दिनुपरेको बताउँछिन् ।

‘यो हिजो घटनाले मात्रै राजीनामा दिएका होइनौं । अस्पतालका चिकित्सक पटक–पटक मानसिक तनाव दिने, धम्काउने काम भइरहेको छ,’ डा. पंगेनीले अनलाइनखबरसँग भनिन्, ‘व्यवस्थापनले गरेको मनपरी बोल्ने चिकित्सकलाई जागिरबाट निकालियो । अहिले पनि केही डाक्टरको सरुवा गर्ने वातावरण मिलाउनु भएको छ ।’

स्थानीय रहेका मेडिकल सुपरिटेन्डेन्ट डा. देवराज घिमिरेले राजनैतिक शक्तिको आधारमा मनपरी गर्दै आएको र चिकित्सक माथि हुने आक्रमणको घटनामा साथ दिँदै आएको चिकित्सकहरुको आरोप छ ।

‘अस्पतालमा उपचारमा बाधा पुर्याउने मान्छेलाई कारबाही गर्ने कानुन समेत बनेको छ । हाम्रो अभिभावक उहाँ हो नि । तर, उहाँले ती बिरामी पक्षका मान्छेलाई समर्थन गर्दै सँगै लिएर चिया खानजानु भयो । यस्ता खालको प्रवृति देखाउनुभएको उहाँले तीन –चार पटक भइसकेको छ,’ डा. पंगेनीले भनिन् ।

यस्तै चिकित्सकले जारी गरेको सामूहिक राजीनामा अस्पताललाई यो अवस्थामा पुर्‍याउन दिन रात खटिरहेका हामीविरुद्ध जनमानसमा भ्रामक अनावश्यक प्रचारबाजी भएको देख्दा हामीमाथि मानसिक तनावमा भएको र आफ्नो कार्यस्थलमा असुरक्षित महसुस भई आजैका मितिबाट सामूहिक राजीनामा दिएको उल्लेख छ ।

‘हामीले गल्ती नै नगरेको बिषयमा बाहिरी मान्छेलाई अगाडी चिकित्सकलाई सार्पेट नगरी उल्टै गल्ती देखाइसकेपछि पछिका दिनमा बिरामीले हामीले भनेको मान्छे होला ? यस्तो वातावरण कसरी काम गर्न सकिँदैन भनेर नै राजीनामा दिएका हौं,’ डा. पंगेनीले भनिन् ।

तर, मेडिकल सुपरिटेन्डेन्ट डा. घिमिरे भने चिकित्सकको बिषयमा मौन समर्थन नगरेको बताउँछन् । चिकित्सकहरुकै गल्तीको कारण यस्तो समस्या भएको उनको भनाइ छ ।

‘ड्युटी भएका डाक्टर अस्पतालमा बस्नुपर्ने हो नि । कोठामा गएर बस्न मिल्छ त ?,’ उनले अनलाइखबरसँग भने, ‘ यो बिषयको समस्या समधान गर्न खोजेको हुँ । कसैलाई मौन समर्थन गरेको छैन ।’

तर, डा. पंगेनीले भने दुई चिकित्सक ड्युटीमै रहेको दाबी गरिन् ।

विहीबार भएको घटना के थियो ?

मेडिकल सुपरिटेन्डेन्टका डा. देवराज घिमिरेका अनुसार एकै परिवारका दही खाँदा फुट पोइजनका बुधबार अस्पताल भर्ना भएका थिए । तर, विहीबार त्यसमध्ये दुई जनामा उच्च ज्वरो देखियो । विहीबार बेलुका बिरामीका आफन्तले अस्पतालमा चिकित्सक देखेनन् ।

ड्युटीमा भएका नर्ससँग नम्बर लिएर फोन गरे । तर, चिकित्सक सम्पर्क नर्सले गर्ने हो भन्दै बिरामीका आफन्तलाई जवाफ फर्काए । त्यहीबाट, विवाद सुरु भयो ।

विहीबार बेलुका दुई जना चिकित्सकको ड्युटी थियो । समयमै बिरामीको उपचार नहुँदा एक बालकलाई थप जटिलता देखिएका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गर्नुपरेको छ ।

हेर्नुहोस्  सामूहिक राजीनामा पत्र : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?