+
+
प्रणय दिवस विशेष :

प्रेम वासनारहित हुन्छ ?

मनिषा थापा मनिषा थापा
२०७९ माघ २७ गते १९:००

निःसर्त प्रेम मानिसका लागि सबैभन्दा ठूलो शक्ति हो । ओशो भन्छन्, ‘प्रेम हृदयको चौथो चक्रबाट सुरु हुन्छ । जब हृदय चक्र खुल्छ, त्यहाँबाट प्रेम उत्पन्न हुन्छ । त्यही प्रेम परमात्मा वा प्रकृतिसँगको भने प्रेम हृदयबाट माथि उठ्छ । त्यसमा वासना हराउँछ । सो प्रेम जब हृदयचक्रभन्दामुनि आउँछ, तब वासनाको चरणमा प्रवेश हुन्छ ।’

ओशो सन्यासी शोभिता सिम्खडाको बुझाइमा शरीरलाई जसरी भोक लाग्छ, त्यसरी नै वासनाको चाहना पनि हुन सक्छ । जुन प्रेमको गहिराइले महसुस गराउन सक्छ । जुन प्रेमी–प्रेमिकाबीच पहिला आकर्षण, दोस्रो सामीप्य हुँदै शरीर नजिक भएपछि शरीरले हर्मोन उत्पन्न गराउँछ र वासनामा पुर्‍याउँछ ।

विज्ञानले प्रेममा वासनाको उपस्थिति हुनुलाई हार्मोनको भूमिका हुने उल्लेख गरेको छ । सन् २०१२ मा भएको एक अध्ययनअनुसार युवायुवतीबीच आपसी लगाव बढ्नुमा अक्सिटोसिनको भूमिका हुन्छ । यसले प्रेमभाव मात्र नभई वासना पनि बढाउने उल्लेख छ ।

वासनारहित प्रेम 

जो भौतिक सुख र सपनालाई महत्व नदिएर आध्यात्मिक साधनामा तल्लीन हुन्छन् । उनीहरुको वरपर विपरीत लिंगी भएपनि आकर्षण हुन सक्छ तर वासनाको चाहना हुँदैन । त्यो स्वेच्छाले बनेका ब्रह्मचारीमा सम्भव हुन सक्ने सिम्खडाको बुझाइ छ ।

जब व्यक्ति प्रेममा हुन्छ, तब एक चरणपछि वासनामा पुग्न सक्छन्, जुन स्वभाविक हो । ‘तर प्रेमविना नै वासनातर्फ लाग्नु भनेको अस्वाभाविक हो । भोक नलागे पनि खानेकुरा अनावश्यक खाँदा शरीरले ग्रहण गर्न सक्दैन, त्यस्तै यौन वासना पनि प्रेम नभई वा शरीरले नखोजी हुनु गलत हो । त्यहाँ प्रेम हुँदैन । प्रेम विनाको वासना ओसोलाई पनि मञ्जुर थिएन,’ उनी भन्छिन् ।

कोही यौनकै लागि प्रेमको नाटक गर्ने पनि हुन्छन् । जसले यौन सम्बन्धपछि यौन तृष्णालाई मेटेपछि व्यक्तिसँग वितृष्णा हुँदै जान्छ । त्यही भएर धेरै सम्बन्ध जोडिंदै र केही क्षणमै तोडिने कारण बनिरहेका छन् ।

स्वामी आनन्द विनोद शर्मा भने प्रेम भावनामा वासना नहुने तर्क राख्छन् । उनका अनुसार यौन प्रकृतिको षड्यन्त्र हो । ‘प्रेममा बास्ना हुने बित्तिकै प्रेम स्वार्थ बन्छ । आध्यात्मिक साधनाबाट मात्र प्रेमको स्वरूपलाई प्राप्त गर्न सकिन्छ । कामवासना भनेको शक्ति हो । जुन महिला–पुरुषमा हुन्छ,’ शर्मा भन्छन्, ‘प्रकृतिको खेल हो वासना । चरम आनन्दको झिल्को नदिने हो भने कोही पनि यौन सम्बन्धमा जाँदैन । जसले गर्दा सृष्टि विकास हुन सक्दैन । तर यो पनि जरुरी छ ।’

चोखो प्रेम कसरी चिन्ने ?

चोखो प्रेममा जसलाई गरिएको हो, उसको उपस्थिति नै स्वर्गजस्तो हुन्छ । ‘प्रेममा स्वार्थ हुँदैन । प्रेम एउटा स्वभाव हो । जहाँ लिने हुँदैन । शंका र उपशंका हुँदैन । वशमा पारौं भन्ने हुँदैन । दिने काम मात्र भइरहन्छ,’ शर्मा भन्छन्, ‘दुवै जना एकापसमा समर्पित हुन्छन् । त्यो प्रेम सकारात्मक ऊर्जा ल्याउने शक्ति बन्न सक्छ । रिस, राग र अहंकारलाई विलीन बनाउने तागत प्रेममा हुन्छ ।’

इनसाइडरको रिपोर्टअनुसार प्रेम र वासनाबीचको सबैभन्दा ठूलो भिन्नता भनेको वासना पूर्णतः यौन आकर्षणमा आधारित हुन्छ भने प्रेम भनेको जोश र कसैप्रति चरम आत्मीयताको भावना हो ।

धेरैजसो समय शारीरिक रूपमा घनिष्ठ हुन मात्र बिताउने तर व्यक्तिगत जीवनमा कुनै खास चासो छैन र तपाईं दुवैको सोच फरक–फरक छ भने यी कामवासनाका लक्षण रहेको रिपोर्टमा उल्लेख छ ।

प्रेमबारे ६ मनोवैज्ञानिक तथ्य

१.   दुई प्रेमीहरूले एकअर्काको आँखामा हेर्दा मुटु धड्किन्छ ।

२.        प्रेममा पर्दा शरीरमा कोकिनको सेवनले जस्तै प्रभाव पार्ने देखाएको छ ।

३.     प्रियजनको तस्वीर हेर्दा पीडा कम हुन सक्छ ।

४     प्रेम लामो समयसम्म निरन्तर समृद्धिको साथमा चलिरहेको छ भने प्रारम्भिक मृत्युको जोखिम ५० प्रतिशत कम हुन्छ ।

५.     हार्टब्रेक वास्तविक छ । ब्रेकअप वा सम्बन्धविच्छेद होस् वा प्रियजन गुमाउँदा तीव्र भावनात्मक तनावले हृदयलाई कमजोर बनाउने रसायन निस्कन्छ । यसलाई ब्रोकन हार्ट सिन्ड्रोम भनेर चिनिन्छ । यसले छाती दुख्ने र श्वास फेर्न समेत कठिन बनाउन सक्ने हार्टब्रेक वास्तविक छ ।

६.      खतराले दुई व्यक्तिलाई प्रेममा पार्न ठूलो भूमिका खेल्छ । अध्ययनले के देखाएको छ भने कुनै जोखिमपूर्ण अवस्थामा एक पुरुषले महिलालाई भेटेको छ भने उनीहरु प्रेममा पर्ने सम्भावना सामान्य अवस्थामा भेटेको भन्दा बढी हुन्छ ।

प्रेम हरेक प्राणीको आफ्नो प्राकृतिक स्वभाव पनि हो । त्यसैले त साहित्य, संगीत, सिनेमा जस्ता विधामा प्रेम सर्वाधिक रुचाइन्छ ।

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?