+

कति चाहिन्छ शरीरलाई बोसो ?

२०७९ फागुन  २ गते १४:०३ २०७९ फागुन २ गते १४:०३
कति चाहिन्छ शरीरलाई बोसो ?

धेरैको चिन्ता छ, शरीरको बोसो घटाउने । धेरैलाई लाग्छ, शरीरका लागि बोसो हानिकारक छ ।

जबकि शरीरमा जरुरी पोषकतत्वमध्ये वोसो पनि एक प्रमूख हो । त्यसो भए वोसोले शरीरमा के काम गर्छ ? कसरी काम गर्छ ? शरीरका लागि कति वोसो जरुरी हुन्छ ? त्यसको स्रोत के हुन् ?

बोसो शरीरलाई शक्तिप्रदान गर्न अतिआवश्यक छ । एक ग्राम बोसोले नौ किलोग्राम क्यालोरी जति ऊर्जा प्रदान गर्छ ।  हाम्रो पेटमा चलिरहने मेटाबोलिक प्रक्रियामा भिटामिन, खनिजहरुलाई ग्रहण गर्ने काम बोसोले गर्छ । भिटामिन ए, डी, केजस्ता भिटामिन बोसो भए मात्रै शरीरले सोस्ने गर्छ । बोसोको नै कमी हुँदा शरीरले भिटामिनलाई सोस्न सक्दैन ।

शरीरमा इन्सुलेसनको काम पनि बोसोले गरिरहेको हुन्छ । जसकारण कुनै किसिमको आघात वा दुर्घटनाको अवस्थामा इन्सुलेटरको रूपमा शरीरको महत्त्वपूर्ण अंगलाई सुरक्षित गर्छ ।  बोसोलाई कार्बोहाइड्रेटसँग मिसाएर खायो भने झनै स्वास्थ्यवद्र्धक हुन्छ । स्वस्थ बोसोले स्वस्थ रहन मात्र होइन, कुपोषणसँग लड्न पनि मद्दत गर्छ ।

कलेजोमा बोसो बस्ने गर्छ । शरीरले उत्पादन गर्ने लाइपेज समूहका इन्जाइमहरुले  बोसोलाई पचाउने गर्छ । जुन शरीरलाई आवश्यकभन्दा बढी खाएमा इन्जाइममा प्रभाव पर्छ । कलेजो,  पेनक्र्याज र इन्जाइममा गडबड हुँदा बोसो बढ्ने हुन्छ ।

बोसो शरीरको लागि कति आवश्यक ?

नेपालमै कुनै ठोस तथ्यांकले यति बोसो शरीरलाई चाहिन्छ भनेर निकालेको छैन । यहाँ र भारतको हावापानी र रहनसहन मिल्ने भएका कारण त्यहींकै तथ्यांकलाई आधार मानेर हेर्ने गरिन्छ । शरीरलाई कति बोसो चाहिन्छ भन्ने कुरा व्यक्तिलाई चाहिने क्यालोरीको मागमा भर पर्छ । सामान्यतया स्वस्थ वयस्क व्यक्तिको लागि प्रतिदिन १५ देखि ३५ प्रतिशत बोसो चाहिन्छ । स्याचुरेटेड फ्याट कुल फ्याटको १० प्रतिशतभन्दा कम, पोलिअनस्याचुरेटेड फ्याटी एसिड  ६–१० प्रतिशत, ट्रान्स फ्याट प्रतिदिन एक प्रतिशतभन्दा कम हुनुपर्छ ।

वयस्क व्यक्तिको श्रम वा शारीरिक गतिविधिको हिसाबले शरीरले बोसो माग गर्छ । एक व्यक्ति जसले दिनमा हल्का काम मात्र हुन्छ भने २५ ग्राम मात्र मूर्त बोसो आवश्यक हुन्छ । त्यस्तै मध्यम खालको काम गर्नेका लागि ३० ग्राम र भारी तौल उठाउने काम गर्नेका लागि प्रतिदिन ४० ग्राम बोसोयुक्त खानेकुराको आवश्यकता हुन्छ ।

त्यस्तै, महिलाको हकमा भने अलि फरक छ । हल्का काम गर्ने महिलालाई २० ग्राम, मध्यम काम गर्नेलाई २५ ग्राम र भारी काम गर्नेलाई ३० ग्राम आँखाले देख्न सकिने बोसो आवश्यक पर्छ । त्यसमा शरीरमा रोग लाग्यो भने बोसोको मात्रा त्यहीअनुसार निर्धारण गर्नुपर्ने हुन्छ ।

बोसोका प्रकार

आँखाले देख्न सकिने तेलजन्य पदार्थ र घिउलाई दृश्य बोसो भनिन्छ । कार्बोहाइड्रेट, तरकारी र मासुमा बोसो त हुन्छ तर आँखाले प्रत्यक्ष देखिंदैन । जसलाई अदृश्य बोसो भनेर भनिन्छ ।

उक्त बोसोलाई मुख्यतया तीन प्रकारको हुन्छ, स्याचुरेटेड, अनस्याचुरेटेड र ट्रान्स फ्याट ।

स्याचुरेटेड बोसो

कुनै पनि तेल वा घिउको स्रोत जुन कोठाको तापक्रममा राख्दा जम्छ त्यसलाई बुझाउँछ । जुन जनावरको स्रोतबाट प्राप्त हुन्छ । जस्तै, दूध, मासु र घिउ । जम्ने चिल्लो पदार्थको सेवन बढी गर्दा रगत प्रवाह हुने नसामा अवरोध ल्याउने वा जम्ने गर्छ । जसले रक्तसञ्चारमा असर गर्दै मुटुरोग लाग्ने गर्छ । जसकारण यसलाई नराम्रो मानिन्छ ।

अनस्याचुरेटेड बोसो

चिल्लो पदार्थको स्रोत जुन कोठाको तापक्रममा राख्दा पनि तरल पदार्थ नै हुन्छ त्यसलाई तेल भनिन्छ । जुन स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ । वनस्पतिजन्य तेल तोरी, नरिवल, ओलिभ, भटमास र सूर्यमुखी तेल अनस्याचुरेट तेलमा पर्छन् ।

ट्रान्सफ्याट

डीप फ्राइ गरेको खाना र तेल दुवैमा ट्रान्स फ्याट हुन्छ जुन स्वास्थ्यको लागि हानिकारक हुन्छ । यसको प्रयोगले कोलेस्टेरोल बढाउँछ र मुटुका समस्या निम्त्याउँछ । ट्रान्स फ्याट मासुमा पनि केही मात्रामा हुन्छ । जसको थोरै मात्रामा प्रयोग गर्दा स्वास्थ्यमा खास असर गर्दैन ।

तेल कुन खाने, कति खाने ?      

मिश्रित खालको वनस्पति तेल प्रयोग गर्न सकिन्छ । वर्षौंसम्म एकै तेल खाने धेरै परिवारमा देखिन्छ । तर तेल भनेको परिवर्तन गर्दै खानुपर्छ । जस्तै, १५ दिन तोरीको तेल खाएको छ भने १५ दिन भटमास, ओलिभ वा सूर्यमुखीको तेल खान सकिन्छ । सबै किसिमको तेल खाने गर्दा सबै वनस्पतिबाट पाउने गुण हामीलाई प्राप्त हुन्छ । कुनैमा मोनो अनस्याचुरेटेड फ्याटी एसिड र कुनैमा पोलिअनस्याचुरेटेड फ्याटी एसिड हुन्छ ।

जसकारण कुनैपनि तेल भरिपूर्ण तत्त्वले भरिएको हुँदैन, जुन पूर्ति गर्न तेल परिवर्तन गर्दै खानु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ ।

महिनाभरमा आधा लिटर मात्र तेल वा घिउ एक व्यक्तिले प्रयोग गर्न सक्छ । चार जना भएको परिवारले महिनामा दुई लिटर तेल प्रयोग गर्नु उपयुक्त हुन्छ ।

वनस्पतिजन्य तेल, भटमास, नरिवलको तेल ओखर, बदाम र आलसमा कोलेस्टेरोल हुँदैन । तेल कम्पनीले ०.५ प्रतिशत कोलेस्टेरोल हुन्छ भन्ने दाबी गरेका हुन्छन् । तर यो देशअनुसार हुन्छ । यो प्रचारको लागि मात्रै हुने गरेको देखिन्छ । त्यस्तै, पशुजन्य उत्पादन माछामासु, दही, दूधमा भने कोलेस्टोरल हुन्छ ।

बोसोको कमी हुँदा के हुन्छ ?

शरीरमा बोसोको कमी हुँदा व्यक्ति कुपोषित हुन्छ र शरीर कमजोर हुन्छ । त्यति मात्र नभई बोसोको कमीले शरीरलाई चाहिने भिटामिन ग्रहण हुन पाउँदैन । जसले  भिटामिन एको कमी हुँदा आँखा नदेख्ने, रतन्धो हुने, संक्रमण बढी हुनेजस्ता समस्या देखिन्छ । भिटामिन डीको कमी हुँदा हाडजोर्नीसम्बन्धी समस्या हुने, भिटामिन ईको कमी हुँदा बाँझोपनको समस्या र भिटामिन केको अभाव हुँदा कतै काटेर रगत बग्न थाल्यो भने रोकिंदैन, जसले ज्यानैसमेत जोखिममा पर्न सक्छ ।

पातलो व्यक्तिमा भित्री बोसो कम हुने भएका शरीरमा इन्सुलिन पनि कम हुन्छ, जसकारण त्यस्ता व्यक्तिलाई जाडो बढी हुन्छ । मोटो व्यक्तिमा भने बोसोको मात्रा बढी हुने कारणले जाडो कम हुन्छ । कोलेस्टेरोल मासुको उत्पादनबाट आउँछ । वनस्पतिको तेललाई पटकपटक प्रयोग गरियो भने ट्रान्सफ्याट बन्छ । यसले मुटुसम्बन्धी रोग लाग्ने, स्ट्रोक गराउने नराम्रो कोलेस्टेरोल बढ्ने गर्छ । र, शरीरलाई चाहिने राम्रो खालको कोलेस्टेरोलको स्तर घट्न सक्छ ।

शरीरमा अत्यधिक बोसो जम्मा हुनु धेरै हानिकारक हुन्छ । अहिले किशोरकिशोरी र युवाहरुमा मोटोपनको समस्या धेरै देखिन्छ । विलासी जीवनशैली अपनाउनेमा यो समस्या बढी देखिन्छ । जसको प्रमुख कारण शारीरिक गतिविधि कम हुनु, कम्प्युटरको अगाडि घण्टौंसम्म बस्नु, व्यायाम–योग नगर्नु, घण्टौं टीभी हेर्नु, फुर्सदको समयमा पनि मोबाइलमा मात्र ध्यान दिनु हो । यसबाहेक खानामा जंकफुड, मिठाई, फ्याटी र रिफाइन्ड खानेकुरा, फास्टफुड र चिसो पेय पदार्थको प्रयोगले शरीरमा अत्यधिक बोसो जम्मा हुन थाल्छ ।

अन्य कतिपय देशमा भन्दा नेपालमा बोसोको स्रोत राम्रो देखिन्छ । तर हाम्रो खाना पकाउने विधि भने राम्रो छैन । विकसित देशको पाक विधि राम्रो हुन्छ । उनीहरु साधेको, उसिनेको खानेकुरा धेरै खान्छन् । तर हामी भने तारेका खानेकुरा धेरै खाने र तेललाई पुनः प्रयोग गरेर खाने हुँदा स्वास्थ्यको हिसाबले खान हुँदैन । घिउ, तेल, बटर र चीज सबै स्वास्थ्यको दृष्टिकोणले राम्रो हो तर आवश्यकताभन्दामाथि खानु भनेको हानि पुर्‍याउनु नै हो ।

(सापकोटा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छिन् । उनी योगहार न्यूट्रिसन कन्सल्टेन्सी प्रालिकी संस्थापक पनि हुन् । वयोधा अस्पतालमा पनि आहारविद्को रुपमा काम गरिसकेकी सापकोटाले आहार र पोषणमा पूर्वाञ्चल विश्वविद्यालयबाट एमएससी गरेकी छन् ।)

बोसो शरीर
लेखक
योगिता सापकोटा, आहार विशेषज्ञ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय