नेपाली युवा व्यवसायमा असफलता बेहोरिरहेका छन् । त्यसैले जोखिम मोलेर व्यवसायमा फर्किने आँट गर्दैनन् । पढेलेखेका भनिएका युवाको पहिलो रोजाइ जागिर हो, जागिरमा जोखिम कम हुन्छ ।
लगाए अह्राएको काम गरेपछि महिना पुगेपछि तलब आउँछ । त्यसले जीवन चलाउन सहज हुन्छ । जागिर खानेको जीवन चल्छ । त्यसैले धेरैको रोजाइ जागिरमा हुन्छ तर जागिर सबैलाई जुर्दैन । यद्यपि जागिरमा आफ्नै खालका कठिनाइ हुन्छन् नै ।
नयाँ व्यवसाय गर्नेहरूमध्ये धेरैजसो मध्यमवर्गका युवा पुस्ताका मानिस हुने गर्छन् । समाजमा अलि राम्रो आर्थिक पहुँच भएकाहरू अमेरिका, युरोप, अष्ट्रेलिया, क्यानडा अध्ययनको बहानामा जान्छन् र उतै भासिन्छन् । त्यो तहको शैक्षिक र आर्थिक पहुँच बनाउन नसकेका युवाहरू मलेसिया र खाडी मुलुक जान्छन् । कडा मेहनत गर्छन् र देशमा रेमिट पठाउँछन् ।
त्यसपछि देशमै केही गर्ने चाहना राख्छन् र फर्कन्छन् । व्यवसाय सुरु पनि गर्छन्, तर असफल हुन्छन् र फेरी विदेशिन्छन् । विदेश नगई देशमै केही गर्छु भनेर मन बनाएर बसेका र व्यवसाय सुरु गरेकाहरू पनि व्यवसायमा टिक्न सकिरहेका छैनन् । एकपछि अर्को काम गर्छन् र निराशा मात्रै हात पारिरहेका हुन्छन् ।
यस्तो किन भइरहेको छ ?
पुरानो पुस्ता निर्वाहमुखी कृषि पेसामा थियो, छन् वा कुनै जागिर वा सानातिना पेसा व्यवसायमा थिए । नयाँ व्यवसाय सुरु गर्ने भनेको युवाले नै हो । युवामा अनुभव र ज्ञानको कमी हुनु स्वभाविक हो । कुनै पनि व्यवसायमा ज्ञान र अनुभवको ठूलो महत्व हुने गर्छ ।

अरुले गरेको देखेर, अरुको सफलता देखेर मात्रै पुग्दैन । उसले कसरी गरेको छ, उसको अनुभव के थियो, उसको ज्ञान, सिप, कला, बजारको पहुँच, आम्दानी र खर्चको सन्तुलन आदिको राम्रो अध्ययन अनि सम्भावना आदिको बारेमा जानकारी लिन आवश्यक हुन्छ । यो सबैको बारेमा मसिनो गरी अध्ययन नगरी सुरु गरिने व्यवसायमा धेरै नै चुनौती हुन्छन् ।
जस्तैः कुनै सानो बजारको छेउमा कुनै किसानले चार–पाँच माउ गाईभैँसी पालेर ५०÷६० लिटर दूध उत्पादन गर्छ र राम्रो आम्दानी गर्नसक्छ । यो देखेको अर्को छिमेकीले पनि त्यही काम गर्नुपूर्व पहिले त्यो कामको सूक्ष्म अध्ययन गर्नुपर्छ ।
पहिलोले गरेको मेहनत, पशुको नश्ल, घाँसको व्यवस्था, दानाको मूल्य, उपचार र गर्भाधानको सुविधा, आफूसँग लगानी गर्न सकिने पुँजीको स्थिति, थप लगानीका लागि चाहिने रकमको स्रोत र ब्याजदर, उत्पादन गर्न लाग्ने समय, उत्पादन समयसम्म कति रकम लगानी हुन्छ, पशुको मूल्य, संरचना निर्माणमा पर्ने लागत आदिको बारेमा प्रष्ट खाका बनाउनु पर्छ ।
त्यसैगरी जोखिम व्यवस्थाका लागि बीमाको व्यवस्था गर्नु उपयुक्त हुन्छ । अनुभवका लागि यस्तो गोठमा नै काम गरेर अनुभव लिएको हुनु बढी उपयुक्त हुन्छ । व्यवसाय सुरु गरेपछि हुनसक्ने जोखिमको बारेमा पहिले नै सोधेर, सोचेर समाधानको उपाय निकाल्नुपर्छ । जस्तैः पशु बिरामी हुँदा उपचार गर्ने जनशक्तिको बारेमा थाहा पाइराख्नु पर्छ ।
यति पूर्वतयारी गरेपछि उत्पादित वस्तुको बजारको बारेमा आफू कत्तिको सुरक्षित हुन सकिन्छ भन्ने बारेमा पहिले नै सोच्नु र खोज्नुपर्छ । जस्तैः पहिलोले जुन बजारमा दूध बेचिरहेको छ, त्यो बजारको माग कति हो ? त्यो बजारले अरु खपत गर्न सक्छ कि सक्तैन ? अर्थात् त्यहाँ बजार विस्तारको सम्भावना छ कि छैन ?
फेरि साना उत्पादकहरूले धेरै टाढाको बजार खोज्नु पनि हुँदैन, नजिकैको बजारकै भर पर्नुपर्ने र सकेसम्म सोझैं उपभोक्तासम्म नै पहुँच बनाउनुपर्ने हुन्छ । यस्तो सम्भावना बनाउन सकिन्छ । यसका लागि उपभोक्तासम्म पुगेर प्रस्ताव गर्नुपर्छ । उपभोक्ताको रूचि अनुसारको उत्पादन जस्तैः दूध, दही, घिउ, पनिर, नौनी, खुवा आदि दिन सकिन्छ ।
यसरी उत्पादनदेखि उपभोक्तासम्मको चक्र निर्माण गर्नुपर्छ । यो काम गर्न सुरुमा एकदमै कठिन हुन्छ । लगन, मेहनत, धैर्य, इमान, आम्दानी खर्चको सन्तुलन यो सबैको संयोजनले मात्रै सफलता हात पर्न सक्छ, यो सजिलो काम भने होइन । तर असम्भव छैन ।
कुनै पनि काम, व्यवसाय अरुले गरेको देख्दा र कथा सुन्दा सजिलो लाग्छ । तर जब त्यही काम आफैले सुरु गरिन्छ तब त्यहाँ आफूले अनुमान नै नगरेका नयाँ नयाँ समस्याहरू आइपर्छन् । ती समस्याहरूसँग जुझ्दै समाधान गर्दै अगाडि बढदै जाँदा नै सफलताको मार्गमा हिँडन सकिन्छ ।
एकदुई वटा सफलता र त्यस्तै थोरै असफलताले न जीवन पूरै सफल भएको हुन्छ न पूरै असफल हुन्छ । त्यसैले धीरताका साथ नहौसिकन निरन्तर मेहनतका साथ काम गर्ने मानिस अन्ततः सफल भएरै छोड्छ ।
नेपालमा सबैभन्दा धेरै युवालाई रोजगारी दिने भनेको कृषि र कृषिसँग जोडिएका व्यवसाय र उद्यम हुन् । यो व्यवसायमा अरु व्यवसायको जस्तो वर्षौंवर्षको ज्ञान र अनुभवको आवश्यकता पर्दैन, बजार खोज्न पनि विदेश वा टाढा जानु पर्दैन । थोरै पुँजी लगानी गरेर बढाउँदै लैजान सकिन्छ । कामबाटै अनुभव बढाउँदै लैजान सकिन्छ । गर्दै सिक्दै र सिक्दै गर्दै जान सकिन्छ ।
कृषि उत्पादनको बजार नजिकै खोज्न सकिन्छ । यसका उपभोक्ता खोज्न टाढा जानु पर्दैन । उपभोक्ताको रोजाई र बजारको मागलाई ध्यानमा राखेर सिजन अनुसारको उत्पादनको शृङ्खला बनाउन सकिन्छ ताकि एकै समयमा एकै खालको धेरै उत्पादन गरेर सडकसम्म पुग्नु नपरोस् ।
यसका लागि सबैभन्दा पहिला कृषि सम्मानित पेसा हो, कृषिलाई सम्मानित पेशा बनाउँछु, अरुले बुझेनन् मैले बुझेँ, म गर्छु र अरुलाई बुझाउँछु भनेर आफूलाई तयार गर्नुपर्छ । जब आफूलाई तयार पारिन्छ तब परिवारलाई सम्झाउन र सहमतिमा लिन सजिलो हुन्छ । परिवारको सहमति भएपछि अरुको चिन्ता लिनु पर्दैन, कुरा काट्ने काट्दै गर्छन्, तिनलाई वास्ता नगरे हुन्छ ।
अनि जब आपैmँलाई लाग्छ कृषि पेसा हो, जागिर हो, व्यवसाय हो, उद्योग हो, उद्यम हो, रोजगार हो, जीवन जिउने आधार हो, तब आफ्नो र परिवारको गौरव र सम्मानको विषय बन्न पुग्छ । कृषि मात्रै होइन कुनै पनि व्यवसाय परिवार र आफ्नो परिचय र गौरवको विषय बन्न पुग्छ । तर यहाँसम्म पुग्न हतार, लहड, रहर, देखासिखी, इष्र्या आदिले हँुदैन । लगातारको मेहनत, ज्ञान, इमान, कोसिस, सफलता र असफलताको मिश्रणबाट मात्रै गन्तव्यमा पुगिन्छ ।
हाम्रा युवा व्यवसायीमा ज्ञानको अभाव छ, बजारको अध्ययन छैन । प्रतिष्पर्धी क्षमताको विकास भएको छैन, आम्दानी र खर्चको सन्तुलन छैन, इमानको कमी छ । त्यस्तै वचन पूरा गर्ने बानी छैन, खर्च गर्ने अरुको बानीले चाँडै आकर्षित गर्छ ।
तर, उनीहरूलाई आफ्नो औकात के हो त्यसको हेक्का हुँदैन । ‘इजी मनी’ र कमिसनको चक्करले युवालाई बर्बाद गरेको छ । त्यसमाथि चर्का कुरा र सस्ता नारा अभैmँ बिकाउ छन् । यस्ता हल्का कुराको पछि नलागी दिगो व्यवसायको पछि लाग्नु आजको युवाको जिम्मेवारी हो ।
एउटा व्यवसायमा असफल हुने बित्तिकै अर्को व्यवसायमा हात हाल्नु भनेको त्यो व्यवसायमा पनि असफल नै हुनु हो । कारण, पहिलाको व्यवसायमा पनि राम्ररी अध्ययन गरिएन, राम्रो मेहनत गरिएन, राम्रो ज्ञान थिएन । यही कुरा नयाँ व्यवसायमा पनि हुने भएपछि हुने असफलता नै हो ।
यसरी पटकपटक असफल भएपछि युवा नैराश्यता आउँछ । यस्तो नैराश्यताले विद्रोह जन्माउँछ । यस्तो विद्रोह ध्वङ्सात्मक हुन्छ । यस्तो विद्रोहलाई सस्तो नारा दिएर उदाउने उत्ताउला नेताले दुरूपयोग गर्छन् । अहिलेसम्म भएको यही हो ।
देश विकासका लागि युवालाई देशमा नै काममा लगाउनु पर्छ । युवालाई दक्ष बनाएर केही वर्षका लागि विदेश पठाउनु नराम्रो होइन तर हाम्रो हकमा दक्ष बनाएकालाई सधँैका लागि विदेश पठाउने काम भयो । अदक्षलाई विदेश पठाएर रेमिट ल्याउने काम भयो ।
यसको सट्टा युवालाई व्यवसायमा टिकाउनुपर्छ । व्यवसायमा टिकाउन ज्ञान, सिप, प्रतिष्पर्धी क्षमता, बजारको महत्त्व, इमान, धीरता, निरन्तर प्रयास, सकारात्मक वातावरण, सरकारको सहयोग, वित्तीय पहुँच, प्रविधिको पहुँच, अवसरमा पहुँच, न्याय, समानता आदिमा राज्यको तर्फबाट अनुकूल वातावरण बनाउन ध्यान दिनुपर्छ ।
सबैले आआफ्नो क्षेत्रको र भागमा परेको वा जिम्मामा परेको काम राम्ररी सम्पादन गर्ने हो भने युवालाई व्यवसायमा टिकाउन र टिक्न सहज हुन्छ । युवाले आफ्नो काम राम्ररी पूरा नगर्ने तर अरुलाई मात्र गाली गरेर समस्या समाधान हुँदैन ।
त्यस्तै बैंकले ऋण दिएन मात्रै भनेर हुँदैन । ऋण भनेको ब्याजसहित तिर्ने अवस्था देखिए मात्रै बैंकले दिन्छ, नदेखे दिँदैन । बैंकले पनि ऋणीको वास्तविक अवस्थाको अध्ययन नगरी धितो मात्रै हेरेर र ब्याजको मात्रै लोभले लगानी गर्दा कर्जा जोखिममा पर्यो भनेर लिलाममात्रै गर्दा समस्याको समाधान हुँदैन ।
लघुवित्त र सहकारीको अवस्था पनि यही हो । कर्जाको सदुपयोग नगरी दुरूपयोग गर्ने, भनेको समयमा नतिर्ने, लहैलहैको भरमा कर्जा मिनाहा गरिदिन्छौँ भनेर चन्दा उठाएर जीविका चलाउनेको पछि लागेकाले पनि बुझ्नु पर्छ चन्दाजीवि, आन्दोलनजीविको भरमा आममानिसको जीवनमा सकारात्मक परिवर्तन आउनेवाला छैन । त्यसैले यस्ता भ्रमको पछि नलागेकै बेस हुन्छ ।
चुनाव जितेर सरकार बनाउन गएका र प्रतिपक्षमा बसेकाहरूले यो देशको अवस्थामा कुनै परिवर्तन गर्न सकेनन्, युवामा आशाको दियो बाल्न सकेनन्, सुशासनका पाइला कोर्न सकेनन्, यथास्थिति फेर्ने सङ्केत गर्न सकेनन् ।
यसको अर्थ तिनले समृद्धिको सपना देखाउन र सजाउन सकेनन् र तिनिहरू पनि धमिलो पानीमा माछा मारेर जीविका चलाउने काम मात्रै गरे भने चटके र आन्दोलनजीविहरूले तिनीहरूलाई पनि विस्थापित गर्ने र अस्थिरतामा रमाउनेहरूले उत्सव मनाउने दिन टाढा छैन ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4