+
+

खाना पकाउने ग्याँसको सुरक्षित प्रयोगमा सरकारले बेवास्ता गरेको व्यवसायीको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १८:४६

४ फागुन, बुटवल । खाना पकाउने ग्यास र यससँग सम्बन्धित वस्तुहरुको सुरक्षित प्रयोगमा स्थानीयदेखि केन्द्रसम्म तीनै तहका सरकारले बेवास्ता गर्दा दुर्घटनाको जोखिम बढ्दै गएको व्यवसायीले बताएका छन् ।

ग्यास बिक्रेता संघ रुपन्देहीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी एलपीजी ग्यासको बिक्री वितरण र प्रयोगबारे तीनै तहका सरकारले जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्न माग गरेको छ ।

ग्यास सिलिण्डरमा जोड्ने रेगुलेटर र पाइपको गुणस्तर र विक्रिमा निश्चित मापदण्ड बनाइ अनधिकृतरुपमा यस्ता वस्तुको बिक्री वितरण कडाइका साथ रोक्नुपर्ने संघका अध्यक्ष प्रदीप पन्थले बताए ।

ग्यास सिलिण्डरबाट आगजनी वा विष्फोट हुने मुख्य तीनवटा कारणमा सिलिन्डर, रेगुलेर र पाइप हुने भन्दै उनले यी तीनवटै वस्तु नेपाल गुणस्तर चिन्ह प्राप्त भएको हुनुपर्ने वयवस्था कडाइका साथ लागु गर्न उनले माग गरे । बजारमा सेन्सरयुक्त रेगुलेटर पनि उपलब्ध रहेको भन्दै उनले यस्तो रेगुलेटर प्रयोग गर्दा दुर्घटनाको जोखिम नहुने बताए । सचेतना फैलाउने काममा ग्यास बिक्रेता संघ जहिले पनि तयार रहेको तर वजेट अभाव र सरकारले समन्वय र सहकार्य नगरेको संघले गुनासो गरेको छ ।

‘खाना पकाउने ग्यास ज्यादै संवेदनशील वस्तु हो तर यसको सुरक्षित प्रयोगबारे कुनै पनि सरकारले प्रभावकारी जनचेतनामूलक अभियान कहिल्यै गरेन’, अध्यक्ष पन्थले भने, ‘सामान्य कुराको ज्ञान र चेतनाको कमीले पनि दुर्घटना निम्तिन सक्छ, यसमा सरकार संवेदनशील हुनुपर्छ ।’

उपभोक्ताको सचेतना बढाउन हरेक पालिकामा स्थानीय, प्रदेश र संघीय सरकारले लगानी गर्नुपर्ने बताए ।

सिलिण्डरमा जोडिने ग्यास पाइप पीभीसीको सट्टा तीन लेयर (तह) को ‘सुरक्षा’ पाइप प्रयोग गर्दा सुरक्षित हुने संघकी वरिष्ठ उपाध्यक्ष कलपना कुवरले बताइन् ।

‘पीभीसी पाइप मुसाले काट्न सक्ने र तातिएर पग्लिन सक्ने हुन्छ, बजारमा ९० प्रतिशत पीभीसी पाइप छ, यसको सट्टा सरकारले थ्री लेयरको पाइप प्रयोगलाई अनिवार्य गर्नुपर्छ ।’

तीन लेयरको पाइप महँगो पनि नहुने र एक मिटरको ३०० देखि ४०० रुपैयाँ मूल्यको हुने बताइन् ।

सरकारी निकायबाट ग्यास बिक्री सम्बन्धी अनुगमन शून्यप्राय रहेको भन्दै संघले यसको लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट नियमित रुपमा अनिवार्य रुपमा ग्यास उद्योग, उत्पादन अवस्था, उत्पादन पछिको भण्डारण लगायतका विषयमा अनुगमन, नियमन गर्न माग गरेको छ ।

हाल बजारमा देखिएका सानो आकारका सिलिन्डर ग्यास अवैध रहेको र यो कमजोर समेत रहेकाले यसको विक्रि र आयातलाई बन्द गर्न महासचिव सूर्य खनालले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?