+
+

मुग्लिन-नारायणगढ सडकखण्ड थप १५ दिन बन्द हुने

सुवास पण्डित सुवास पण्डित
२०७९ फागुन ५ गते १५:०४

५ फागुन, चितवन। नारायणगढ-मुग्लिन सडकखण्डको चिसेन्जी खोला र तुइनखोलामा पुलका लागि सडक बढाउन पहरो काट्ने काम नसकिएपछि थप १५ दिन सडक बन्द हुने भएको छ ।

गत पुस ५ गतेदेखि माघ ५ गतेसम्म पहिलो र माघ ५ देखि फागुन ५ गतेसम्म दोस्रोपटक १-१ महिनाको दरले दैनिक ४ घण्टा सडक बन्द गरेर पहरो काट्ने काम गरे पनि नसकिएपछि थप १५ दिन बन्द गर्न लागिएको सडक आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए ।

सडक आयोजना प्रमुख कार्कीका अनुसार फागुन ६ गतेदेखि २० गतेसम्म १५ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गर्न गरेर पहरो काट्ने काम गरिनेछ ।

तीन मुख्य स्थान कालिखोला, चिसेन्जी र तुइन खोलामा पुल बनाउन समस्या भएकोले पहरो काटेर पुलका लागि फाउण्डेशन बनाउन खोजिएको हो । कालिखोलाको भित्ता काट्ने काम सकेर पुलको फाउण्डेशन बनाउन काम जारी छ । चिसेन्जीको मुग्लिनतर्फको पहरो काट्ने काम लगभग सकिएको छ भने नारायणगढतर्फको ३० प्रतिशत काम अझै बाँकी छ ।

नारायणगढतर्फको तल्लो भागमा केही कडा चट्टान आए पनि थपिएको १५ दिनमा भ्याउने तयारी आयोजनाको छ । तुइन खोलाको मुग्लिनतर्फको भीर सबैभन्दा जटिल र गाह्रो भाग भएको निकै समय लागेको आयोजना प्रमुख किरण कार्कीले बताए । ६० मिटर अग्लो पहाडलाई काटेर करीव २५ मिटरमा झारिएको छ ।

समग्रमा दुई महिनामा ३५ प्रतिशत मात्रै काम तुइनको मुग्लिनतर्फको भागको सकिएको छ । ब्रेकरको सहायताले चट्टान काट्दा निकै समय लागेको र समस्या भएकोले आयोजनाका अधिकारीहरू अब विस्फोट गराउने तयारीमा जुटेका छन् ।

आयोजना प्रमुख कार्कीले दिएको जानकारी अनुसार तुइनको मुग्लिनतर्फको भागलाई अब विस्फोट गराएर फुटाउनुको विकल्प नभएकोले सबै प्रक्रिया पूरा गरेर फाइल विभाग हुँदै गृहमन्त्रालयमा लगेको बताउँछन् ।

उनका अनुसार गृहबाट रक्षा मन्त्रालयमा गएपछि नेपाली सेनाको प्राविधिक टोलीले पहरोमा कन्ट्रोल विस्फोट गर्नेछ । विस्फोटको सबै अधिकार र जिम्मा नेपाली सेनाले लिने गरेको छ ।

‘धेरै माथिबाट विस्फोट गराउँदा तल रहेको पुल र सडकलाई क्षति गर्नसक्ने अवस्था थियो, हामीले झण्डैं २ महिना लगाएर केही काटेर तल झारेका छौं’ आयोजना प्रमुख कार्कीले भने, ‘अब होचो भागमा विस्फोट गराउँदा सुरक्षित हुन्छ होला ।’

तुइन खोलाको नारायणगढको तर्फको भागमा ३० प्रतिशत काट्न बाँकी रहेकोले थपिएको १५ दिन भित्र त्यसलाई सकिने आयोजनाका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले बताए ।

विस्फोट गराउने प्रक्रिया र समय दुवै लाग्ने भएकोले अहिले काटिएको भागलाई स्लोप दिने र सुरक्षित बनाउने गरी फिनिसिङ्गको काम बाँकी १५ दिनमा गरिने आयोजना प्रमुख कार्कीले बताए ।

‘विस्फोट गराउनका लागि समय लाग्न सक्छ, त्यतिबेला अहिले काटिएको ठाँउबाट ढुंगा झर्ने लगायतका जोखिम भएन भने त्यसलाई मिलाउने काम १५ दिनमा गछौँ’ कार्कीले भने, ‘त्यसपछि विस्फोट गराएर थप काम अगाढि बढ्छ ।’

चिसेन्जी र तुइन खोलामा पहाड भत्काएर भित्र नयाँ पुल बन्ने गरी डिजाइन गरिएकोले पहाड काटिएको हो । सडकखण्डको मुग्लिनबाट नारायणगढतर्फ आउँदाको पहिलो पुलको काम अझै सुरु हुन सकेको छैन ।

पहिलो खहरे खोला पुलमा पनि अहिले भइरहेको पुलबाट तल अर्थात त्रिशूली नदीतर्फ अर्को पुल बन्ने गरी डिजाइन भएको छ । पुल बन्ने ठाँउको मुखका ५ घरहरू भत्काउनुपर्ने छ ।

चालु वर्षमा १३ वटा पुलको काम सक्ने र मुअब्जाका लागि बजेट आए बनेका पुलहरु तत्काल सञ्चालन गर्ने योजना आयोजनाको छ । यो सडकखण्डमा पर्ने १९ वटा पुल मध्ये ४ वटा तयार भएर सञ्चालनमा आइसकेका छन् । बाँकी १५ वटा पुल मध्ये ९ वटा पुल तयार करीव तयार भैसकेका छन् । सेती दोभान, खहरे, डुम्रे, टोपे, न्याम्सी, खोर, लामोबालुवा, भोर्लेका पुल तयार भएर सञ्चालनको तयारीमा छन् ।

चिसेन्जी, खहरे (मुग्लिन नजिकैको) र तुइन खोलाको पुलको फाउण्डेशनको काम नै बाँकी छ । तोकिएको समय भित्र काम नसकिने भएपछि पुल निर्माणका लागि २०८० पुस ९ गतेसम्मको म्याद थप गरिएको आयोजनाका प्रमुख कार्कीले जानकारी दिए ।

सडकखण्डमा पुल बनाउने ठेक्काको जिम्मा अनक कन्स्‍ट्रक्सनले पाएको हो । पुल बनाउन २०७६ चैत्र १० मा सम्झौता भएको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाले मुग्लिन नजिकैको खहरे खोलादेखि रिग्दी खोलासम्मका सात वटा पुललाई प्याकेज–१ र जुगेडीदेखि सिमलतालसम्मका आठ वटा पुललाई प्याकेज–२ बनाएर काम अघि बढाएको हो ।

प्याकेज-१ अन्तर्गतका पुल इच्छाकामना गाउँपालिकामा र प्याकेज-२ अन्तर्गतका पुल भरतपुर महानगरपालिकामा पर्छन् । प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, चिसेन्जी, तुइन, काली, टोपे, न्याम्सी र रिग्दीखोला गरी ७ पुल छन् ।

प्याकेज-२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान गरी ८ पुल छन् । प्याकेज–१ का पुल ६७ करोड ९९ लाख ५९ हजार रुपैयाँमा र प्याकेज-२ का पुलको लागत ५९ करोड ५ लाख ५९ हजार छ ।

सडक विस्तार भइसक्दा पनि पुल साँघुरा र जीर्ण भएकोले दुर्घटनाको खतरा बढेपछि नयाँ पुल बनाउन लागिएको हो । पुलको चौडाइ सडकसँग मिल्ने गरी ७ मिटरदेखि ११ मिटरका हुनेछन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?