+
+

क्यान्सर जितेर दौडिरहेका पाण्डव, भन्छन् : कम्तीमा हिँड्नुस्

अमृत सुवेदी अमृत सुवेदी
२०७९ फागुन ६ गते २०:३८

६ फागुन, पोखरा । ‘जिन्दगीका सबै दौड पहिलो हुनका निम्तिमात्र हुँदैन । विजयी हुनका लागि मात्र मान्छे दौडिँदैन । जिन्दगीको दौड कहिलेकाहीँ गलत बाटोमा हुन सक्छ तर फेरि सही बाटोमा फर्किएर खुसीका साथ दौडनु ज्यादा ठूलो कुरा हो ।’

पोखरा म्याराथनको रुट बिर्सिएर पनि ३ घण्टा १० मिनेटमा निर्धारित दूरी (४२ किमी) पार गरेपछि पाण्डव महतोले यसै भने । ५० वर्षीय पाण्डव १० किलोमिटर जति दौडिएपछि गलत रुटतिर लागेछन् । आयोजकले ठाउँ ठाउँमा म्याराथन रुटको संकेत र प्वाइन्ट/प्वाइन्टमा मानिस राखेको बताए पनि पाण्डले यस्तो पाएनन् र झुक्किए तर बेलैमा पत्ता लगाएर फेरि दौडिए ।

उनीभन्दा ५० मिनेट अगाडि निर्धारित दूरी पार गर्ने केन्याली धावक प्रथम भए । तर, उनी भन्छन्, ‘जित्छु भन्ने नै थिएन तर अलि छिटो आइपुग्थें । कोइ बात छैन, बहुत मजा आयो ।’ ५० वर्षको उमेरमा उनी पोखरा म्याराथनमा सहभागी हुनकै लागि इंग्ल्याण्डदेखि आइपुगेका हुन् ।

पाण्डवले आफ्नै जीवनमा सुखीको अर्को रेकर्ड थपेका छन्, ‘म्याराथनमा १९ औं पटक सहभागी भएर पूरै दूरी पार गरें, यो मेरा लागि निकै खुसीको बात हो ।’ विश्वकै प्रख्यातमध्येको लण्डन म्याराथनमा बर्सेनि सहभागिता जनाउँदै आएका पाण्डव जर्मनीको बर्लिन, अमेरिकाको सिकागो, बोस्टर्न अमेरिका म्याराथन हुँदै पछिल्ला केही वर्षदेखि पोखरा म्याराथनको पनि धावक बनिरहेका छन् ।

अर्को रोचक के छ भने उनी पोखरा म्याराथनमा दौडनकै लागि युकेदेखि आएका हुन् । उनी ३० वर्षदेखि बेलायतमा बसोबास गर्दै आएका छन् । तेञ्जिङ हिलारी एभरेष्ट म्याराथनमा पनि भाग लिन आइपुग्छन् पाण्डव ।

दौडनु, हिँड्नु उनका लागि खुसी उत्पादन गर्ने कारणजस्तै भएको छ । यसरी खुसी पछ्याउँदै हिँड्नुका पछाडि आफैंले नाघेर आएको कहाली लाग्दो जीवन रहेछ, पाण्डवको । सिरहाको कर्जन्हा नगरपालिकावासी पाण्डव भारतमा ‘सेफ’ पढेर फर्किए । केही वर्ष काठमाडौंको याक एण्ड यतीमा काम गरेर युके हानिए ।

सन् २००८ तिर दिशामा हल्का रगत देखिन थाल्यो । खान नरुच्ने र पेट दुख्न थाल्दा पनि उनले बेवास्ता गरिरहे । सामान्य औषधी खाने तर खाने, बस्ने, व्यायाम गर्ने कुनै ठेगान थिएन । मन लागेको खायो, हिँड्यो ।

जसरी उनले आफैंलाई बेवास्ता गर्दै बसे, उसैगरी उनी झन् कमजोर र गल्दै पनि गए । एक दिन चिकित्सकलाई देखाउन पुग्दा उनलाई भर्ना गरेरै जाँच गर्न सल्लाह दिए । जाँचबाट पत्ता लाग्यो कि उनलाई त आमाशय अर्थात पेटको क्यान्सर रहेछ । त्यतिञ्जेलसम्म उनलाई समस्या देखिन थालेको डेढ वर्ष पुगिसकेको थियो ।

‘विसं २०३३ पछि एक्सरसाइज नै गर्न छाडिसकेको थिएँ । खानपानमा कुनै ख्यालै गरिएन । जाँडपानी सबै खाइयो । दिशामा रगत देखिँदा पनि बेवास्ता गरेर बसें’, पाण्डवले शनिबार पोखरा रंगशालामा ती दिन सम्झिए, ‘आमाशयको क्यान्सर सेकेण्ड स्टेजको पनि अन्तिमतिर आइसकेको रहेछ । त्यसपछिको पीडाको त म वर्णन नै गर्न सक्दिनँ ।’

क्यान्सर जो कोहीलाई पनि हुन सक्थ्यो । उनलाई लाग्यो, आफूलाई चाहिँ खानपान र जीवनशैलीकै कारण क्यान्सरले गाँज्यो । सेफको काम गर्ने तर खानपानमा कुनै ख्याल नगर्ने, कुनै शारीरिक व्यायाम नै नगर्दा र समस्या देखिइसक्दा पनि बेवास्ता गरेर झण्डै मरेनछु भन्ने उनलाई महसुस भयो ।

‘त्यही बेलादेखि नै प्रण गरें, क्यान्सरले जित्यो भने म रहन्नँ, म रहनका लागि क्यान्सरलाई जित्नुपर्छ,’ पाण्डवले भनें, ‘त्यसपछि खानपानदेखि दैनिक व्यायाम गर्न थालें । ६ हप्तामै अप्रेसन गरेको घाउ सुक्यो अनि हिँडडुल गर्न थालिहालें । म आत्मविश्वासकै कारण बाँचेको हुँ ।’

आमाशय क्यान्सरले बाहिर ठूलो असर नदेखाउने तर भित्रभित्रै खोक्रो पारिसकेको हुने पाण्डवको अनुभव छ । यो क्यान्सर सबैभन्दा बढी शहरी जीवन बाँच्ने, खानपान र जीवनशैली अव्यवस्थित हुनेहरुलाई लाग्ने बढी खतरा हुन्छ ।

७ महिना किमो थेरापी चल्यो । त्यसलगत्तै उनी क्यान्सरसम्बन्धी सचेतना र व्यायाममा लाग्न थाले । उनी म्याराथन, क्रस कन्ट्रीजस्ता इभेन्ट प्राय छुटाउँदैनन् ।

अहिले त उनीहरुले अभियानै चलाएका छन् । बेलायतमा दौड र व्यायामसम्बन्धी जागरण चलाउनका लागि संस्था नै खोलेर अभियान चलाइरहेका छन् । शारीरिक तन्दुरुस्ती, जीवनशैली, पार्क रनसम्बन्धी अभियान चलाउँदै पाण्डव, सन्तोष राई र जघन कार्कीहरुको नेतृत्वमा ‘नेपाल रन’ नामक संस्था नै खोलेको छ ।

यो संस्थाले विशेष गरी नेपाली समुदायभित्र प्रत्येक शनिबार दौड कार्यक्रम राख्छ भने वर्षमा केही ठूला प्रतियोगिताहरुसमेत गर्दै आइरहेको छ । खानपान र व्यायामबारे सचेतनासमेत जगाउने यो संस्थामा अहिले साढे २ सयभन्दा बढी जोडिएका छन् ।

‘गोर्खा सैनिकहरु अवकाशपछि निष्क्रिय बन्ने, खानपान र जीवनशैलीमा ख्याल नगर्ने र अरु काम नगर्ने तथा नगरे पनि पुग्ने परिवारका सदस्यहरुमा धेरै समस्या देखिए’, उनले भने, ‘डाइबिटिज (मधुमेह), ग्यास्ट्रिक, हर्ट एट्याक्ट (हृदयघात) सम्मका समस्या बढेपछि यो संस्थाले अहिले स्वास्थ्य, जीवनशैली र दौडबारे बुझाउँदै र इभेन्टहरु गर्दै आइरहेको छ ।’

नयाँ वर्षमा १० किलोमिटरको दौड प्रतियोगितासमेत गर्ने गरेको छ । लण्डन म्याराथन विश्वकै प्रख्यातमध्येमा पर्छ । पाण्डवका अनुसार लण्डन म्याराथनमा ५५ हजारभन्दा बढीले भाग लिन्छन् । पछिल्लो क्रममा धेरै नेपालीले भाग लिन थालेका छन् । पाण्डवले लण्डन म्याराथन छुटाउँदैनन् । ४० वर्षमाथि उमेर समूहका सहभागी हुनेलाई क्वालिफाइड धावकको प्रमाणपत्र दिने प्रचलन छ ।

‘क्यान्सर जित्नुमा दौडको ठूलो योगदान छ । आत्मवल बढाउने काम गर्छ । पेटमा ठूलो घाउ बनाएर चिरिएको थियो । अहिले जति पनि दौडन सक्छु । म केही पाउनका लागि होइन खुसी जीवनका निम्ति दौडिन्छु’, पाण्डव भन्छन् ।

आफूमात्र सहभागी हुने नभइ उनीहरुले नेपालका यस्ता गतिविधिमा सहयोग पनि गर्दै आइरहेका छन् ।

संसारभर म्याराथनमा भाग लिनु र निर्धारित दूरी पार गर्नु पनि जित नै मानिने उनको भनाइ छ । त्यसमा पनि ४० वर्ष कटेका व्यक्तिहरुले टास्क पूरा गर्नु नै पनि जितेसरहकै अर्थमा बुझेर प्रोत्साहन गर्नुपर्ने पाण्डवले बताए ।

‘नेपालीहरुमा एउटा भ्रम छ, म्याराथन जित्यो भनेमात्र अर्थ हुन्छ । त्यस्तो होइन, दौडन्छु भनेर लाग्नु नै विजयी हुनु हो’, पाण्डव भन्छन्, ‘म शरीरमा ऊर्जा रहँदासम्म दौडन्छु र शरीरमा ऊर्जा पनि दौडेर नै भर्छु । क्यान्सर भएयता शरीरमा अरु कुनै समस्या पनि देखिएको छैन ।’

नेपालमा पोखरा र एभरेस्ट म्याराथन उनलाई छुटाउन मन लाग्दैन । धरानमा पनि १० किलोमिटरको दौड प्रतियोगिता हुन्छ । करिब साढे ३ हजारसम्म त्यो दौडमा सहभागी हुन्छन् ।

नेपाल रनका संस्थापकमध्येका एक सन्तोष राईको छोरी फरक क्षमताकी छन् । छोरीकै नाममा प्रतिष्ठान खोलेर राइले प्रत्येक वर्ष धरानमा कार्यक्रम गर्दै आएका छन् । उनी यसपटक पोखरा म्याराथन र धरानमा हुने दुबै कार्यक्रममा सहभागी हुँदै छन् ।

म्याराथनकै लागि पनि नेपाल रनबाट १० जनाको टोली पोखरा आएको छ । पोखरा म्याराथनमा पहिलो पटक जिपिएस प्रयोग भएको छ, त्यो उनीहरुले नै सहयोग गरेका हुन् ।
शारीरिक कसरत नहुँदा धेरै समस्या देखिन सक्ने र नियमित हिँड्नेमात्रै गरे पनि शरीरमा धेरै अंग चलायमान हुने उनको सुझाव छ ।

‘आफ्नै लागि भए पनि कम्तीमा प्रत्येक दिन आधा वा एक घण्टा हिँड्नुपर्छ, दौडिनुपर्छ । जब तपाईं प्रकृतिमा रमाउँदै डुल्नुहुन्छ, साथीभाइसँग रमाइलै गरेर भए पनि कुद्नुहुन्छ भने शरीरमा भिन्नै स्फूर्ती आउँछ, चेहेरा उज्यालिन्छ’, पाण्डव भन्छन्, ‘शरीरका अंगहरु सक्रिय हुन्छन् । जीवन सुन्दर छ भन्ने महसुस गराउँछ । त्यसैले हेर्नुस्, म क्यान्सर जितेर पनि दौडिरहेको छु । दौडनकै लागि लण्डनदेखि नेपाल आएको छु ।’

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?