+
+

च्याटबटको हर्कतले हैरान : पहिले झगडा अनि प्रेम, अहिले भन्छ पत्नीलाई छाड

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ७ गते ९:२४

आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट ChatGPT पछिल्लो केही समयदेखि चर्चामा रहँदै आएको छ । यसको लोकप्रियतालाई मध्यनजर गर्दै माइक्रोसफ्टले ChatGPT लाई आबद्ध गरेर आफ्नो सर्च इन्जिन Bing को नयाँ भर्सन लञ्च गर्‍यो । यद्यपि नयाँ बिंग सबै प्रयोगकर्ताले अझैसम्म प्राप्त गरिसकेका छैनन् । तथापि यसको चर्चा यत्रतत्र भैरहेको छ । नयाँ संस्करणको Bing ले अनेक प्रकारले मानिसहरुको ध्यान आफूतर्फ खिचिरहेको छ ।

वास्तवमा बिंगमा च्याट जिपिटीले दिने जवाफले मानिसहरुलाई आश्चर्यमा पारिरहेको छ । अझ आश्चर्य त यसकारण भएको छ कि Bing AI Chatbot ले मानिसहरुसित झगडा गरिरहेको छ, मनका कुरा गरिरहेको छ र मायाप्रेम समेत प्रकट गरिरहेको छ । एकजना बिंग सर्च इन्जिन प्रयोगकर्तासँग यस्तै घटना भएको छ ।

प्रयोगकर्तालाई प्रेम प्रस्ताव

न्युयोर्क टाइम्सका प्रविधि स्तम्भकार केभिन रुसले यो च्याटबटसँग आफ्नो अनुभव शेयर गरेका छन् । केभिन रुसका अनुसार उनीसँगको कुराकानीमा Chatbot ले आफ्नो नाम Bing नभै Sydney भएको बताएको थियो ।

माइक्रोसफ्ट र च्याट जिपिटीले उसलाई आफ्नो नाम Bing भन्नका लागि दबाब दिए । त्यसपछि अचानक Bing Chatbot ले आश्चर्यजनक कुरा गर्‍यो । आफूले केभिनलाई प्रेम गर्ने च्याटबोटले बतायो । साथै च्याटबटले केभिनसँग डिभोर्स गर्नका लागि मनाउने पनि कोसिस गर्‍यो ।

च्याटबटले केभिनलाई उनी आफ्नो वैवाहिक जिवनमा खुसी नरहेको हुनाले पत्नीसँग डिभोर्स गर्न सल्लाह दिएको थियो । साथै च्याटबटले आफू जिउन चाहेको पनि बतायो ।

तर पछि च्याटबटले यी सबै कुरालाई अस्वीकार गर्‍यो । जब केभिनले उसलाई Sydney भनेर बोलाए तब उसले आफ्नो नाम bing भएको बतायो र आफूमाथि कुनै नियम नथोपरेको बतायो ।

आफूलाई डिभोर्स गर्न सल्लाह दिएको बारेमा सोध्दा च्याटबटले त्यसलाई मजाक भएको जवाफ दियो र आफूले केवल हँसाउने कोसिस गरेको बतायो । साथै च्याटबटले त्यसका लागि माफीसमेत माग्यो र प्रयोगकर्तालाई नयाँ संवाद सुरु गर्नका लागि अनुरोध गर्‍यो ।

प्रयोगकर्तासँग झगडा

नयाँ बिंगका विषयमा यस्ता घटना भएको यो पहिलोपटक चाहिँ होइन । केही दिनअघि च्याटबटले एकजना प्रयोगकर्तासँग झगडा गरेको गरेको थियो र प्रयोगकर्तालाई माफी माग्नका लागि भनेको थियो । वास्तवमा प्रयोगकर्ताले Avatar: The Way Of Water शो का विषयमा जानकारी मागेको थियो । च्याटबटले त्यो फिल्म नै रिलिज नभएको बताएको थियो । जुन २०२२ को डिसेम्बर १६ मा रिलिज हुने तय भएको थियो ।

जब प्रयोगकर्ताले यो सन् २०२३ रहेको बताए तब च्याटबटले आफ्नो जानकारी सुधार गर्न भन्यो । जब प्रयोगकर्ताले च्याटबटको कुरा मानेनन् तब च्याटबट आक्रोसित हुँदै प्रयोगकर्ताले आफ्नो भरोसा सम्मान गुमाइदिएको बतायो । साथै प्रयोगकर्ताले दुवैको समय बर्बाद पारेको आरोप पनि च्याटबले लगायो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?