+
+

सिटी बराबरीमा रोकियो, आर्सनलको रोमाञ्चक जित, चेल्सी हार्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ७ गते ९:३५

७ फागुन, काठमाडौं । प्रिमियर लिगमा शनिबार ठूला क्लबहरुको नतिजा अनपेक्षित जस्तै रह्यो ।

शीर्ष स्थानको म्यानचेष्टर सिटी बराबरीमा रोकिँदा दोस्रो स्थानको आर्सनल रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा फर्कियो ।

खेलाडी अनुबन्धमा ठूलो रकम खर्च गरेको चेल्सी अझै जितको खोजीमा छ ।

शनिबार चाँडै भएको खेलमा आर्सनलले एस्टन भिल्लाविरुद्ध दुई पटक पुनरागमन गर्दै ४-२ को रोमाञ्चक जित निकाल्यो ।

भिल्लाको मैदानमा भएको खेलमा आर्नसलले इन्जुरी टाइममा दुई गोल गरेको थियो । त्यसमा भिल्लाका गोलकिपर एमिलियानो मार्टिनेजले आत्मघाती गोल गरे भने गाब्रीएल मार्टिनेलीले अर्को गोल गरे ।

त्यसअघि वली वाट्किन्स र फिलिप काउटिन्होले गोल गर्दै भिलल्लाई दुई पटक अग्रता दिलाएका थिए । तर आर्सनलका बुकायो साका र एलेक्जान्डर जिनचेन्कोले बराबरी गोल फर्काएका थिए ।

जितपछि आर्सनल २३ खेलबाट ५४ अंक जोड्दै शीर्ष स्थानमा उक्लियो ।

त्यसपछि सिटीलाई नटिङहम फरेस्टलाई हराएर शीर्ष स्थानमा फर्कन अवसर थियो । तर अग्रता लिएर पनि गोलका अवसर सदुपयोग गर्न नसक्दा सिटी फरेस्टसँग अंक बाँड्न बाध्य हुँदा आर्सनललाई फाइदा भयो ।

फरेस्टको मैदानमा भएको खेलमा बर्नार्डो शिल्भाले ४१औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा सिटीले गोल गर्ने केही राम्रा अवसर गुमाउँदा अग्रता बढाउन सकेन । उता वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका क्रिस उडले ८४औं मिनेटमा गोल गर्दै सिटीलाई जितबाट रोके ।

यस बराबरीपछि २२ खेलबा६ ५२ अंक जोडेको सिटी दोस्रो स्थानमा छ ।

अर्को खेलमा चेल्सी पुछारमा रहेको साउथह्याम्पटनसँग १-० ले पराजित भयो । साउथह्याम्पटनको जितमा जेम्स वार्ड प्रावसले पहिलो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरे ।

खराब प्रदर्शन गरिरहेको चेल्सी २३ खेलबाट ३१ अंकसहित दशौं स्थानमै छ ।

लिभरपुलले दश खेलाडी रहेको न्युकासललाई २-० ले पराजित गर्दे अंकतालिकामा एक स्थान सुधार गरेको छ ।

खेलको दशौं मिनेटमै डार्विन नुनेज र १७औं मिनेटमा कोडी गाक्पोको गोलमा लिभरपुलले २० मिनेटभित्रै दुई गोलको अग्रता बनाएको थियो ।

२२औं मिनेटमा न्युकासलका गोलकिपर निक पोप रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । तर त्यसपछि लिभरपुलले गोल थप्न भने सकेन ।

यस जितपछि लिभरपुल २२ खेलबाट ३५ अंक जोडेर आठौं स्थानमा उक्लेको छ र शीर्ष चारमा रहने अभियानलाई कायम राखेको छ ।

लिभरपुल चौथो स्थानको न्युकासल भन्दा ६ अंकले पछि छ र लिभरपुलले अझै एक खेल कम खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?