+
+

यातायातमन्त्रीसँग प्रधानमन्त्रीले भने– विकासमा गुणात्मक फड्को मारौं

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ७ गते १४:०६

७ फागुन, काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयले थालेका सुधारका प्रयासबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ब्रिफिङ गरेका छन् । विभिन्न कार्यदल बनाएर भौतिक विकास, यातायात र सुशासन क्षेत्रमा सुधारका लागि थालिएका प्रयासहरुले सार्थकता पाउनेमा आफू विश्वस्त रहेको मन्त्री श्रेष्ठले बताएका छन् ।

आइतबार भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणाम दिने गरी काम थालनी गरेकोमा खुशी व्यक्त गरेका छन् । विकासको विस्तार, सुधार र प्रशासनको चुस्ततामा सरकारले जोड दिएको र त्यसले छिटोभन्दा छिटो सकारात्मक परिणाम दिने विश्वास प्रधानमन्त्री प्रचण्डले व्यक्त गरे । ‘पहिलो त विकासप्रतिको बुझाइमै ठीक दृष्टिकोण बनाउन जरूरी छ,’ उनले भने, ‘त्यसका लागि ऐन–कानुनको संशोधनमा समेत सरकारको जोड रहेको छ ।’

प्रधानमन्त्रीले देशलाई विकास र समृद्धिको दिशामा लैजाने राज्यका सबै अंग र तहहरूको समन्वयात्मक भूमिका र संकल्प हुनुपर्ने बताए । ‘वर्तमान सरकार देशका सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढिरहेको भन्दै विकास र समृद्धिको लक्ष्य हासिल गर्न समन्वयात्मक भूमिका र संकल्पका अघि बढ्न आग्रह गरे ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनताको दैनिक जीवनसँग जोडिएका प्रश्नहरूलाई विज्ञहरू सम्मिलित कार्यदल नै बनाएर सम्बोधन पहल बढाएकोमा प्रधानमन्त्रीले सराहना गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रा.डा. सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार विकास प्रणाली सुधार कार्यदल, पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समग्र यातायातमा सुधार अध्ययन कार्यदल र प्रा.डा. राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा सुशासन सुधार सुझाव कार्यदल बनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ, कार्यदलका संयोजकहरू र उपप्रधानमन्त्रीका सचिवालय टोलीले प्रधानमन्त्री प्रचण्डसँग भेटेको हो ।

उपप्रधानमन्त्री श्रेष्ठले जनतालाई तत्काल र दीर्घकालीन राहत दिँदै सामाजिक न्यायसहित विकासमा गुणात्मक फड्को मार्ने, समाजवादउन्मुख समृद्धि निर्माण गर्ने प्रधानमन्त्रीको लक्ष्यमा एकाकार भएर भौतिक पूर्वाधार एवम् यातायातका क्षेत्रमा कयौं सुधारहरू थालिएको बताए ।

उनले त्यसका लागि कयौं ऐन कानुनको परिमार्जनको आवश्यकतासमेत औल्याए । त्यसक्रममा पूर्वाधार विकास प्रणाली सुधार कार्यदलका संयोजक सूर्यराव आचार्य र यातायात सुधार कार्यदलका संयोजक शरदचन्द्र पौडेलले कार्यदलले प्राथमिकतामा जोड दिन खोजेको विषयबारे प्रधानमन्त्री प्रचण्डलाई ब्रिफिङ गरे ।

आचार्यले समस्या आम जनताले समाधान भएको र सुधारको महसुस गरे नै विकासको सार्थकता रहने र संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुनेबताए । त्यसका लागि ऐन र प्रशासन सुधार अनिवार्य भएको बताए । पौडेलले भने कार्य संचालन तहका समस्या समाधान गरी बिचौलियाको सामना गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?