+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुमा को को आकांक्षी ?

रामकुमार डिसी रामकुमार डिसी
२०७९ फागुन ७ गते १९:१८
बाँयाबाट क्रमश: नेविसंघका योगेन्द्र रावल, अनेरास्ववियुका शम्भु भट्ट, अखिल क्रान्तिकारीका प्रदीप भट्ट र अनेरास्ववियूका समीर गौतम ।

७ फागुन, काठमाडौं । १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव ५ चैतमा हुँदैछ । राजनीतिक दलको नेतृत्व विकासको जगसमेत मानिने स्ववियू चुनावको तयारी क्याम्पसहरुमा सुरु भइसकेको छ ।

१९ फागुनदेखि निर्वाचन प्रक्रिया सुरु हुने त्रिभुवन विश्वविद्यालयको कार्यतालिका छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु नेतृत्व चासोको केन्द्रमा छ ।

पाँच हजार भन्दा बढी विद्यार्थीको नेतृत्व गर्ने भएकाले त्रिविको केन्द्रीय क्याम्पसको नेतृत्व हात पार्न विद्यार्थी संगठन र विद्यार्थी नेताहरुले दौडधुप सुरु गरिसकेका छन् ।

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को त्रिवि समिति विघटनको स्थितिमा छ । तर त्यही समितिका नेताहरुले स्ववियु चुनावको तयारी गरिरहेको छ ।

त्रिभुवन विश्वविद्यालयमा महिनौंसम्म तालाबन्दी गरेपछि नेविसंघले त्रिवि समिति नै विघटन गरेको थियो । त्यसका बाबजुद पनि आफूहरु संगठनलाई जिताउने तयारीमा लागेको नेविसंघका नेता योगेन्द्र रावलले बताए ।

‘अध्यक्षको अकर्मन्यताले गर्दा विश्वविद्यालय समिति रिक्त छ’, उनले भने, ‘तथापि विश्वविद्यालयमा क्रियाशील साथीहरु नेपाल विद्यार्थी संघलाई जिताउनुपर्छ भनेर निरन्तर लागेका छौं ।’

केन्द्रीय क्याम्पसको सभापतिमा नेविसंघबाट रावल स्वयं, पद्मा भुसाल, गणेश भण्डारी, श्यामराज ओझा, बिष्णु बडेला, किशोर भण्डारी, सागर शर्मा पौडेल लगायत आकांक्षी छन् ।

त्यस्तै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि चुनावको तयारी थालेको छ । अनेरास्ववियुको त्रिभुवन विश्वविद्यालय कमिटी अध्यक्ष शम्भु भट्टले विद्यार्थीमाझ लोकप्रिय नेतालाई सभापतिको उम्मेदवार बनाइने बताए ।

‘२८ वर्ष पूरा नभएका साथीहरु स्ववियुको उम्मेदवार हुन्छ, विद्यार्थीमाझ जो पपुलर छ, उसलाई नै संगठनले जिम्मेवारी दिन्छ,’ उनले ने ।

सभापतिका लागि भट्ट स्वयं, अनेरास्ववियुको क्याम्पस कमिटी सचिव प्रशान्त भण्डारी लगायत आकांक्षी छन् ।

माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पनि विद्यार्थीमाझ लोकप्रिय रहेकालाई नै उम्मेदवार बनाउने बताएको छ । चुनावको तयारी सुरु पनि त्यसै अनुसार सुरु गरिसकेको केन्द्रीय क्याम्पस समिति अध्यक्ष प्रदीप भट्टले जानकारी दिए ।

अखिल क्रान्तिकारीबाट आफू पनि सभापतिको दाबेदार रहेको भट्टले बताए । क्याम्पस समिति अध्यक्षसमेत भएकाले उनी नै सर्वसम्मत सभापतिको उम्मेदवार बन्न सक्ने क्रान्तिकारीका नेताहरुले बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूबाट क्याम्पस कमिटी अध्यक्ष समीर गौतम सभापतिको आकांक्षी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका नयाँ पार्टीले भने आफूहरुले भ्रातृ संगठन नबनाएकाले कुनै राम्रो उम्मेदवारलाई सर्मथन जनाउने बताएका छन् ।

‘आफ्नो उम्मेदवार नभएको अबस्थामा कोही राम्रो विद्यार्थी स्वतन्त्र विद्यार्थी उठ्छ भने हामीले सर्मथन गर्ने कुरा हुन्छ,’ रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीले भने ।

तालमेल के हुन्छ ?

गएको आम चुनावमा दलहरु गठबन्धन गरेर चुनावमा गएका थिए । स्ववियु चुनावमा चाहिँ उनीहरुका भातृ संगठन के गर्लान् ? विद्यार्थी संगठनहरु भने आम चुनावमा जे सुकै भए पनि स्ववियू चुनाव भने एक्लाएक्लै प्रतिस्पर्धा गर्ने बताउँछन् ।

नेविसंघका नेता रावलले तालमेल नगरे पनि आफूहरुले चुनाव जित्ने बताए । ‘हामी संघीय चुनाव हुँदा पनि गठबन्धन वा तालमेलका पक्षमा थिएनौं’, रावलले भने, ‘विश्वविद्यालय चुनावमा त झन गर्नै हुन्न ।’

एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले पनि एक्लै चुनाव लड्ने बताइरहेको छ । ‘अनेरास्ववियु कसैसँग तालमेल गर्दैन, त्रिविमा अनेरास्ववियु आफैं सशक्त छ’ अध्यक्ष शम्भु भट्ट भन्छन् ।

अखिल क्रान्तिकारीले पनि तालमेल नगर्ने बताएको छ । विगतमा सभापति आफूहरुले जितेको, नेविसंघको हाल समिति नै नरहेको र अनेरास्ववियुको संगठन पनि संक्रमणमा रहेको दाबी गर्दै आफूहरु नै बलियो भएको क्रान्तिकारीका अध्यक्ष प्रदीप भट्टको दाबी छ ।

‘कसैसँग तालमेल नगर्ने र एक्लै लडेर प्यानल नै जित्ने गरी अगाडि बढिरहेका छौं’ उनले भने । एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष गौतमले भने तालमेलबारे केन्द्रको निर्णयपछि मात्रै स्पष्ट हुने बताए ।

लेखक
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?