+
+

ग्याङस्टर फिल्म ‘छड्के २’, अनमोललाई ‘लभरब्वाय’को छवि बदल्ने अवसर

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १४:३१

काठमाडौं । फागुन १९ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘छड्के २’ विधाको हिसाबले अनमोल केसीको लागि पहिलो ग्याङस्टर फिल्म हो । टीनएज लभस्टोरी खेलेका उनको लागि ‘छड्के’को दोस्रो श्रृंखला अर्थपूर्ण छ । यसअर्थमा कि प्रेमकथाबाहेकका अन्य विधामा उनी उत्तीर्ण हुन्छन् या हुँदैनन् भन्ने कुरा धेरै हदसम्म ‘छड्के २’मा निर्भर हुनेछ ।

टिजर हेर्दा ग्याङस्टर तन्नेरी मेनडगको भूमिकामा उनी छन् । शरीरमा ट्याटु हान्ने, सिगरेट तान्ने, डनको भाषा बोल्नेदेखि पहिरन पनि त्यस्तै लगाउने खालका ‘योङ्ग्री योङ म्यान’को आवरणमा उनी आकर्षक त देखिएका छन् तर मुख्य चरित्र (प्रोटागोनिस्ट)मा उनी कति खरो उत्रिन सक्छन् भन्ने कुरा महत्वपूर्ण हुन आउँछ ।

अघिल्ला फिल्महरु होस्टेल, जेरी, ड्रिम्स, गाजलु, ए मेरो हजुर ३, ए मेरो हजुर ४ मा उनी लभरब्वाइको भूमिकामा छन् । ‘कृ’मा प्रेमी र एक्सन रोलमा देखिएका उनी ‘क्याप्टेन’मा फुटबल खेलाडीको भूमिकामा देखिए । जनराको हिसाबले छड्के २ अनमोललाई विशुद्ध नयाँ हो । यदि यो फिल्ममा सफल भए उनले चरित्रको विविधतामा पनि बाँच्न सक्छन् भन्ने सन्देश प्रवाह हुनेछ । साथै, अभिनयलाई लिएर उनीमाथि लागिरहने आलोचनालाई जवाफ दिने मौका पनि हुनेछ ।

छड्के २’ तीन ग्याङको लडाइँको कथा

फिल्ममा रोयल मनाङ, बारुलाज र ग्रीन ग्याङको कथा समावेश छ । जसको उद्देश्य स्याउ र यार्सागुम्बाजस्ता मनाङका स्थानीय प्राकृतिक स्रोत आर्जन गरेर वर्चस्व जमाउनु हो । ग्रीन ग्याङको नाइकेको चरित्रमा अनमोल छन् जसको नाम मेनडग हुन्छ । जसको शरीरभरि ट्याटु हुन्छ । हातमा हमेसा खुँडा हुन्छ । बुलेट बाइक चढ्ने उनले आफ्नो ग्याङको नेतृत्व शानका साथ गरिरहेका हुन्छन् ।

टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे धेरै कुराको खुलासा गरेको छ । मनाङको सुन्दर हिमाली ल्यान्डस्केपमा दर्शकले नयाँ र ताजा महसुस गर्न पाउनेछन् । निर्देशक समेत रहेका निगम श्रेष्ठ प्रमुख भूमिकामा छन् । फिल्ममा अनमोल नायक हुन् भने निगम खलनायक । यी दुईबीचको रस्साकस्सी नै फिल्मको कथावस्तु हो ।

‘स्थानीयस्तरमा प्राकृतिक स्रोतको उपयोग र त्यसको दुरुपयोग कसरी भइरहेको छ भन्ने फिल्मले देखाउँछ । हामीले मनाङ पुगेर यार्सागुम्बाको कथा भनेका छौं, यो त एउटा प्रतिनिधि घटना मात्रै हो,’ निर्देशक श्रेष्ठ भन्छन्, ‘प्राकृतिक स्रोतमा कसले वर्चस्व जमाउने भनेर स्थानीयस्तरमा लडाइँ चल्ने गरेको छ । ग्याङ बनाएर स्रोत हत्याउने काम भइरहेको छ । यस्ता ग्याङले कहाँबाट कसको सहयोग पाउँछन् र चोखिन्छन् त्यो पनि केही हदसम्म हाम्रो सिनेमाले देखाउने छ ।’

निर्देशक श्रेष्ठले चुनाव जिताउन यस्ता ग्याङलाई नेताले प्रयोग गर्ने गरेको बताए । ‘नेताको आडमा यस्ता ग्याङस्टरले गुण्डागर्दी गर्ने गर्छन्,’ उनले भने । आगामी बुधबार ट्रेलर सार्वजनिक गर्ने तयारी छ । फिल्ममा रविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आलेमगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अली, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी, कुमार घलानको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?