+
+

सदनमा वादविवाद गर्न दिइने छैन : सभामुख घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १५:१६

१० फागुन, काठमाडौं । सभामुख देवराज घिमिरिले प्रतिनिधिसभाको बैठकमा वाद प्रतिवादमा नउत्रिन सांसदहरुलाई आग्रह गरेका छन् ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिलाई लिएर एमाले, माओवादी केन्द्र, जसपा र राप्रपाका सांसदहरु एक अर्कोको भनाइप्रति प्रतिवादमा उत्रन थालेपछि सभामुख घिमिरेले सदनमा दोहोरो संवाद गर्न नदिइने बताएका हुन् ।

विशेष समयमा बोल्दै जनता समाजवादी पार्टी (जसपा) की सांसद सुशीला श्रेष्ठले गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी थिइन् । ‘फागुन ७ गते जुन अभिव्यक्ति आएको छ त्यसमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ । वर्तमान व्यवस्थाप्रति ठाडो आक्रमण गर्ने प्रबृति निन्दनीय छ’ ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै उनले भनिन् ।

त्यसपछि सांसद श्रेष्ठले पूर्वराजा शाहको भनाइको तोडमोड गरेको भन्दै राप्रपा महामन्त्रीसमेत हरेका संसद धवलशमशेर राणाले प्रतिवाद गरे । ‘पूर्व राजाले बोलेको कुरालाई अलिकति तोडेमोडेर आएको छ । पूर्वराजाले भनेको कुरा सकारात्मक हो । सबै पार्टीहरु र राजसंस्थाले मिलेर यो देशलाई उमो लगाउँ भन्ने कुरा उहाँले गर्नुभएको हो’ राणाले भने । राप्रपाका सांसद जबराले पूर्वराजा शाहले वर्तमान व्यवस्थाप्रति कुनै आपत्तिको कुरा नगरेको पनि जिकिर गरे ।

सांसद राणाले पूर्वराजाको बचाउ गरेपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र नेकपा एमालेका सांसद रघुजी पन्तले उठेर राप्रपा सांसद जबराको भनाइको प्रतिवाद गर्न खोजे ।

‘उहाँ (धवल शमशेर जबरा) ले यहाँ जे कुरा राख्नुभयो । त्यसप्रति हाम्रा केही भनाइहरु छन्, हाम्रा केही रायहरु छन् । समय चाहियो’ भन्दै सांसद पन्तले हात उठाएर सभामुखसँग समय मागे । माओवादी सांसद पाण्डेले पनि हात उठाएर सभामुखसँग समय मागिरहे । तर, सभामुख घिमिरेले दुबै जनालाई बोल्न समय दिएनन् । बरु उनले सदनमा दोहोरो प्रतिवाद गर्न नदिइने बताए ।

‘आफ्नो अभिव्यक्तिलाई बोल्न दिनुपर्छ । यसरी यहाँ दोहोरो डिसकसहरु गर्न दिइने छैन’, घिमिरेले थपेका छन्, ‘सबै माननीय सदस्यहरु बस्नुस् । आफूलाई लागेका कुराहरु व्यवस्थाभित्र बसेर अभिव्यक्ति दिने व्यवस्था गरिएको छ ।’

समय नपाएपछि सांसदहरु बसे । सदनको कारबाही अगाडि बढ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?