
१२ फागुन, काठमाडौं । झापाको मेचीनगरमा दुई वर्ष अगाडि सञ्चालनमा आएको पाँचतारे डिलक्स होटल मेची क्राउनले क्षमता विस्तार गर्ने भएको छ । अहिले १०१ कोठामा १८५ शय्या रहेको होटलले क्षमता विस्तार गरी २५१ कोठा र ४८५ शय्या पुर्याउने भएको छ ।
यसका लागि होटलले १५० कोठामा ३ सय शय्या थप गर्ने प्रस्तावको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । अब यो होटल पूर्वी नेपालको सबैभन्दा ठूलो क्षमताको होटल बन्ने छ । होटलमा स्पा, साउना, स्वीमिङ पुल, जिमहल र क्यासिनोसहितका सुविधा छन् ।
भारतीय पाहुनाको बाहुल्य
पूर्वी नेपालमा भारतीय सीमा नजिकै रहेको यो होटलले उल्लेख्य संख्यामा भारतीय पर्यटक भित्राउन सफल भएको पाइएको छ ।
होटलको तथ्यांक अनुसार सन् २०२२ को ११ महिनाको अवधिमा यस होटलमा बास बसेका पाहुनामध्ये भारतीय ६९.७८ प्रतिशत थिए । २९.७६ प्रतिशत नेपाली थिए । बाँकी ०.५ प्रतिशत मात्र अन्य मुलुकका रहेको होटलको तथ्यांक छ ।
तथ्यांक अनुसार यस अवधिमा होटलले कुल १४ हजार २८४ जना पाहुनालाई सेवा दिएको छ । जसमध्ये भारतीय मात्र ९ हजार ९७६ जना छन् ।
नेपाली पाहुनाको संख्या ४ हजार २५१ छ । ६६ जना मात्र अन्य मुलुकका पाहुना रहेको होटलको तथ्यांक छ । होटलमा ११ महिनाको अवधिमा ६५ वटा कार्यक्रम आयोजना भएका छन् । जसमा ५ हजार ६४० जना सहभागी भएका थिए । यो होटल चन्द्रगढी विमानस्थलबाट १० किलोमिटरको दूरीमा रहेको छ ।
नेपाल–भारत जोड्ने काँकडभिट्टा नाकाबाट यो होटल ५.३ किलोमिटर पश्चिमतर्फ छ । यो होटलबाट इलामको कन्याम २२ किलोमिटरको मात्र दूरीमा छ । यहाँ विवाह तथा व्रतवन्धजस्ता कार्यक्रमका लागि भारतीय पर्यटक धेरै आउने गरेका छन् ।
२ भवन थप्ने प्रस्ताव
यस होटलमा अहिले कुल ९ वटा भवनमा १०१ कोठा र १८५ वटा शय्या छन् । अब स्तरोन्नती गरी २ भवनमा १५० कोठा र ३ सय शय्या पुर्याउने होटलको योजना छ ।
यो होटलमा अहिले १११ जना कामदारले प्रत्यक्ष रोजगारी पाएका छन् । क्षमता विस्तारपछि होटलले १६१ जनालाई प्रत्यक्ष रोजगारी दिने योजना बनाएको छ ।
प्रतिक्रिया 4