+
+

राजावादी राप्रपालाई राष्ट्रपतिमा निर्णय लिन धौ–धौ

रामकुमार डिसी रामकुमार डिसी
२०७९ फागुन १२ गते २२:०७

१२ फागुन, काठमाडौं । राष्ट्रपति निर्वाचनबारे आफ्नो ‘पोजिसन’ प्रष्ट पार्न बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबारको बैठक अनिर्णित बन्यो ।

राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापनाको एजेण्डा बोकेको राप्रपाभित्र राष्ट्रपति चुनावबारे दुई थरी मत देखिएपछि बीचको निर्णय गरेर तत्कालका लागि बैठक सकिएको छ ।

केन्द्रीय कार्यसम्पादन बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरु राष्ट्रपतिका उम्मेदवारको समर्थक र प्रस्तावक दुवै नबन्ने बताए । ‘राष्ट्रपति निर्वाचनमा राप्रपा कम्तीमा समर्थक र प्रस्तावक बन्दैन’ पत्रकारसित उनले भने, ‘र, अन्य विषयमा पछि छलफल हुन्छ ।’

राप्रपाभित्र राष्ट्रपति निर्वाचनलाई उपयोग गर्ने कि तटस्थ बस्ने भन्नेबारे मत बाझिएको छ । ‘राष्ट्रपति चुनाव उपयोग गर्ने कि तटस्थ बस्ने भन्ने दुई खाले धारणा थियो’ एक पदाधिकारीले भने, ‘त्यही भएर हतारिएर अहिले नै निर्णय गरेनौं ।’

करिब पाँच घण्टा चलेको बैठकमा पशुपतिशमशेर राणा, विक्रम पाण्डे, ध्रुव प्रधान, रोशन कार्की, दिनेश श्रेष्ठ, प्रल्हाद शाह लगायतले मत हालेर जानुपर्ने पक्षमा धारणा राखेका थिए । राष्ट्रपति चुनाव प्रजातान्त्रिक प्रक्रियामा भएकाले भाग लिनुपर्ने उनीहरुको मत थियो ।

तर, नेता प्रकाशचन्द लोहनी र महामन्त्री धवलशमशेर राणा भने तटस्थ बस्नु पर्ने पक्षमा उभिएका थिए । राप्रपा तटस्थ बसिदिए हुन्थ्यो भन्ने जनमत भएकाले जनमत अनुसार जानुपर्ने उनीहरुको धारणा थियो ।

आजको बैठकमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भने धारणा राख्न पाएनन् । उनले बोल्ने सूचीमा आफ्नो नाम लेखाएको भए पनि समय अभावका कारण धारणा राख्न पाएनन् ।

सरकारमै जान नहुने पक्षमा रहेका मिश्र पनि राष्ट्रपति चुनामा तटस्थ उभिनुपर्छ भन्ने पक्षमा रहने निश्चित नै छ । राप्रपाभित्र उनी चर्को राजावादीका रुपमा देखिएका छन् । आजको बैठकमा बोलेका उनी मिश्र निकट नारायण कोइरालाले तटस्थ बस्नुपर्नेमा नै जोड दिएका थिए ।

३३ सदस्यीय कार्यसम्पादन समितिमा मिश्र पक्षकै ८ जना छन् । त्यसमाथि पाका नेता लोहनी र पार्टीभित्र पकड राख्ने महामन्त्री धवलशमशेर राणा समेत विपक्षमा उभिएपछि अध्यक्ष लिङ्देन अप्ठ्यारोमा परेका छन् । ‘पार्टीमा दुई धार देखिएको छ’ उपाध्यक्ष बुद्धिमान तामाङले भने, ‘त्यही भएर पनि अहिले निर्णय भएको छैन ।’

राष्ट्रपति को बन्ने भन्ने विषयकै कारण वर्तमान सत्ता समीकरण बदलिन लागेकाले पनि राप्रपा अप्ठ्यारोमा परेको देखिन्छ । राष्ट्रपतिमा नेपाली कांग्रेस र नेकपा एमालेका गरी दुई उम्मेदवार हुने देखिन्छ ।

राप्रपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी छ । सरकारकै नेतृत्वकर्ता माओवादीले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेपछि चुनाव ताकाको गठबन्धन ब्युँतिएको छ र गठबन्धनमा केही दल थपिएका पनि छन् ।

‘परिस्थिति परिपक्व भइसकेको छैन’ एक नेताले भने, ‘एकातिर आठ दलको गठबन्धन बनिरहेको छ । त्यही भएर पनि राष्ट्रपति चुनावमा हामीलाई मरिहत्ते गरेर लाग्नुपर्ने कारण छैन ।’

अहिलेको सरकार छोड्ने, नछोड्नेबारे निर्णयमा पुगि नसकेका कारण पनि राप्रपाले केही दिनलाई ‘पर्ख र हेर’को नीति लिने देखिन्छ । यद्यपि अध्यक्ष लिङदेन निकट एक नेताले राप्रपाले राष्ट्रपतिमा मत हाल्ने र जुन समीरकणबाट सरकारमा गएको हो, त्यसैलाई सघाउने बताए ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण राप्रपा सरकारमा गएको थियो । सरकारमा रहँदा पनि प्रधानमन्त्री प्रचण्ड भन्दा ओली नजिक रहेका लिङ्देनले राष्ट्रपति चुनावमा एमालेलाई नै सघाउने देखिन्छ । राष्ट्रपति चयनका लागि फागुन २५ गते मतदान हुने कार्यतालिका छ । त्यतिबेलासम्म निर्णयमा पुगिने राप्रपा नेताहरुले बताएका छन् ।

सांसद समेत रहेका नेता दीपक सिंहले २३ गते बस्ने कार्यसम्पादन समितिको अर्को बैठकले यसबारे निर्णय लिने बताए । ‘हामी २३ गते अर्को बैठक बस्छौं’ उनले भने, ‘त्यो बेलासम्म उम्मेदवारहरु पनि प्रष्ट भइसकेको हुन्छ । के गर्ने भन्नेबारेमा हामीले त्यो बैठकबाट निर्णय गर्छौं ।’

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?