+
+

रुस-युक्रेन युद्धको शान्तिपूर्ण अवतरणको पक्षमा बोल्यो चीन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते ११:२८
चिनियाँ राष्ट्रपति सी चिनफिङ र बेलारूसका राष्ट्रपति अलेक्सजेण्डर लुकासेनको ।

१८ फागुन, काठमाडौं । रूसले छेडेको युद्धलाई समर्थन गर्दै आएको चीनले आफ्नो धार बदल्ने संकेत देखाएको छ । युक्रेन मामिलाबारे रूसलाई समर्थन गर्दै आएको चीनले युद्धको शान्तिपूर्ण अवतरणमा जोड दिएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका समर्थकद्वय चिनियाँ राष्ट्रपति सी चिनफिङ र बेलारूसका राष्ट्रपति अलेक्सजेण्डर लुकासेनकोले रूस र युक्रेन युद्धको अन्त्य हुनुपर्ने पक्षको अभिव्यक्ति दिएका छन् ।

बेइजिङ पुगेका लुकासेन्कोले आफ्नो राष्ट्रले युक्रेन युद्धलाई शान्तिपूर्ण अवतरण गराउने चिनियाँ नीतिमा पूर्ण रूपले सहयोग गर्न बताएका छन् ।

चीनले गत साता युक्रेनको राष्ट्रिय स्वाधिनताको रक्षाका लागि शान्तिपूर्ण वार्ता आवश्यक रहेको बताएको बीबीसीले उल्लेख गरेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेर आएपछि चीनको यस्तो अभिव्यक्ति आएको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले मध्य एशियाका समकक्षीहरूसँग युक्रेन मामिलाबारे छलफल बढाउँदै जाँदा चीनको यस्तो अभिव्यक्ति सार्वजनिक हुनु संयोग मात्रै नरहेको टिप्पणी हुन थालेको छ ।

बुधबार चीन र बेलारूसले युक्रेमा जारी द्वन्द्वमा आफूहरूको गम्भीर चासो रहेको र त्यस द्वन्द्वको शान्तिपूर्ण अवतरण यथाशीघ्र हुनुपर्ने पक्षमा रहेको संयुक्त विज्ञप्ति जारी गरेको बेलारूसको राष्ट्रिय समचार संस्था बेल्टाले जनाएको छ ।

लुकासेन्कोले युद्धमा रूसलाई सहयोग गर्दै आएका छन् । पर्यवेक्षकहरूका अनुसार उनको बेइजिङ भ्रमण रूसलाई समर्थन गर्ने राष्ट्रहरू चीनसँग निकट छन् भन्ने सन्देश पनि हो ।

बेलारूसका नेताहरूले चीनको प्रस्तावको तारिफ गरेका छन् । ‘चीनले अन्तर्राष्ट्रिय सुरक्षाका खातिर अघि सारेको प्रस्ताव र पहलको बेलारूस उच्च प्रशंसा गर्दै त्यसमा सहयोग गर्दछ,’ लुकासेन्कोले भनेका छन् ।

चीन र बेलारूसका समकक्षीले जारी गरेको १२ बुँदे दस्तावेजमा सबै राष्ट्रको स्वाभिमानको सम्मान हुनुपर्ने उल्लेख छ । त्यस दस्तावेजले रूसले युक्रेनबाट पठाएको सेना फिर्ता गर्नुपर्ने विषयमा केही बोलेको छैन । यद्यपि पश्चिमाहरूले रूसमा लगाएको प्रतिबन्धको भने विरोध जनाएको छ ।

जारी युद्धमा कसैको पनि जित नहुने भन्दै लुकासेन्कोले यसको शान्तिपूर्ण अवतरण जरूरी रहेको विषय सी समक्ष उठाएको बताएका छन् । ‘यो मामिलालाई लिएर विश्व शक्तिमाझ देखापरेको टकराव अन्त्य हुन जरूरी छ । यो युद्धमा कसैको जीत हुनेवाला छैन शान्तिपूर्ण अवतरणमा नै सबैको विजय हुनेछ,’ उनले सीसँग भनेका थिए ।

युद्ध अवतरणमा चीन संलग्न हुन चाहेको संकेत : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जलेन्स्कीले युद्धको अवतरणमा चीनले आफ्नो संलग्नता खोजेको संकेत आफूले महसुस गरेको बताएका छन् । जेलेन्स्कीले चीनको प्रस्तावबारे राष्ट्रपति सीसँग आफूले छलफल गर्न चाहेको बताएका छन् ।

लुकासेन्कोसँगको भेटमा चिनियाँ राष्ट्रपति सीले शीत युद्धताकाको मानसकिता हटाएर सबै पक्ष छलफलमा बस्नुपर्ने बताएका छन् । रूस र युक्रेनको युद्धलाई राजनीतिकरण बन्द हुनुपर्ने र सबै पक्षले युद्धविराम र शान्तिपूर्ण अवतरणका लागि पहल गर्नुपर्ने सीको धारणा रहेको लुकासेन्कोको भनाइ छ ।

चीनले बेलारूससँग सम्बन्ध सुधार गरेपछि लुकासेन्को बेइजिङ पुगेका थिए । भेटबारे चीनको विदेश मन्त्रालयको वक्तव्यले भनेको छ, ‘अब रणनीतिक साझेदारीमा दुई मुलुक अघि बढ्नेछ ।’

चीनले यो वाक्यांश पाकिस्तानपछि बेलारूसको हकमा मात्रै प्रयोग गरेको छ । यसको मतलब चीनको कूटनीतिक स्थानमा बेलारूस रूसभन्दा ठीक तल रहेको बीबीसीको विश्लेषण छ ।

बेलारूस सुरुवातदेखि नै मस्कोको सहयोगी हो । रूसले युक्रेनको किएभमा क्षेप्यास्त्र प्रहार गर्दा बेलारूसकै सीमा क्षेत्र प्रयोग गरेको थियो । रूससँगको बलियो पक्षधरताबाट पछि हट्दै चीनले अहिले दुवैको हित हुनेगरी राष्ट्रिय स्वाधिनता र राष्ट्रिय सुरक्षाको सवाललाई जोडेको छ । यद्यपि, उसले युक्रेनमा रूसले गरेको आक्रमणको खण्डन भने गरेको छैन ।

गत साता चीनमाथि अमेरिकाले लगाएको आरोपको उसले कडा शब्दमा निन्दा गरेको छ । चीनले रूसलाई हतियार सहयोग गरिरहेको अमेरिकी आरोप थियो । त्यसमा चीनले भनेको छ, ‘अमेरिकाले रूस र चीनको सम्बन्धलाई लिएर औंला ठड्याउँछ भने हामीलाई स्वीकार्य छैन । अमेरिकी दबाव वा जबरजस्ती हामीलाई स्वीकार्य छैन,’ चिनियाँ विदेश मन्त्रालय वाङ वेनविनले भनेका छन् ।

चीनले सैन्य सामग्री र प्राविधिक उत्पादनमा प्रयोग हुने सेमिकन्डक्टर चीप रूसलाई पठाइरहेको आरोप पनि अमेरिकाले लगाएको थियो ।

गत बुधरबार अमेरिकी विदेशमन्त्री ब्लिंकेन काजकिस्तान र उज्बेकस्तानको भ्रमणमा गएका थिए । युद्धका कारण यस क्षेत्रमा देखापरेको दबावबारे जानकार रहेको भन्दै उनले यस क्षेत्रको स्वाधिनता रक्षाका लागि प्रतिबद्ध रहेको ब्लिंकेनले जनाए । ‘एक शक्तिशाली देशले बल प्रयोग गरेर एक सार्वभौम छिमेकीको सिमाना मेटाउन इच्छुक छ भने त्यो रोकिनुपर्छ, मध्य एशियाका देशहरूले यो बुझेका छन्,’ उनले भने ।

मध्ये एशियाका पाँचैवटा राष्ट्र तथा पूर्व सोभियत युनियनका राष्ट्रहरूले रूस र चीनसँग व्यापार गरिरहेका छन् । तर युद्धको विषयमा उनीहरू तटस्थ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?