 
																			१८ फागुन, काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सहयोग गरेको भन्दै पक्राउ परेका दुई सैन्य अधिकारीबारे सर्वोच्च अदालतले दिएको आदेश बिहीबार जंगीअड्डाले दर्ता गरेन ।
शाहीलाई सघाएको आरोपमा पक्राउ परेका प्राड विवाकका प्रमुख सेनानी कुलदिप तिमसिना र महासेनानी महेन्द्रजंग शाहलाई तीन दिनभित्र उपस्थित गराउन बुधबार सर्वोच्च अदालतले आदेश दिएको थियो ।
न्यायाधीश हरि फुयाँलको इजलासले म्याद सूचना प्राप्त भएको मितिले ३ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दस्हित लिखित जवाफ पेश गर्न भनेको थियो । यो आदेश दर्ता गर्न बिहीबार बिहान १० बजे जंगीअड्डा पुगेका अदालतका कर्मचारी र आफन्त जंगीअड्डा पुगेका थिए ।
तर, सेनाले आदेश बुझ्न मानेन । आदेश लिएर पुगेका एक जना आफन्तले अनलाइनखबरसँग भने, ‘बिहान १० बजेदेखि कार्यालय बन्द हुने समयसम्म बस्दा पनि आदेश बुझ्न नमानेपछि फर्किएका छौं ।’ उनका अनुसार सुरुमा आदेश बुझ्ने कर्मचारी बैठकमा भएको भन्दै पर्खाइएको थियो । तर, अपराह्नसम्म कसैले आदेश बुझ्न मानेनन् ।
सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले एउटा सरकारी निकायको पत्र अर्कोले नलिने भन्ने नहुने अनलाइनखबरसँग बताएका थिए । तर, जंगीअड्डाभित्र प्रवेश गरेका एक जना आफन्तलाई समेत सैनिक प्रहरीले बाहिर निकालेका छन् ।
सर्वोच्च अदालत बार एशोसिएसनका पूर्वकोषाध्यक्ष विनोद कार्कीले सर्वोच्च वा कुनै तहको अदालतबाट आएको आदेश म्याद बुझ्न राज्यको कुनै निकायले नमान्ने विषय अदालतको अवहेलना हुने बताए । ‘सेना मात्र होइन, प्रधानमन्त्री वा राष्ट्रपति कार्यालयले पनि बुझ्नुपर्छ’, उनले अनलाइनखबरसँग भने, ‘त्यो बुझ्दैन भने त्यो अदालतको अवहेलना हो, न्यायमा अवरोध छ ।’
बरु सेनाले यो नागरिक अदालतबाट हेर्न नमिल्ने खाल्को कसूर भए जवाफमा त्यसको जिकिर गर्नुपर्ने उनले बताए । ‘सेनाको अदालतबाटै न्याय दिलाउँछौं भनेर लिखित प्रतिवाद गर्न मिल्छ, त्यो उसको अधिकार पनि हो’, कार्की थप्छन्, ‘तर, अदालतको म्याद बुझ्दिन भन्नु न्यायमा सरासर अवरोध हो ।’
शाह सेनाको मानवअधिकार निर्देशनालयमा कार्यरत अधिकृत हुन् भने तिमसिना पूर्व पृतना प्राड शाखा कार्यलयमा कार्यरत थिए । बुधबार जंगीअड्डा बोलाइएका उनीहरुलाई उपस्थित हुने वित्तिकै नियन्त्रणमा लिइएको थियो । केही अघि उनीहरुको मोबाइल समेत खोसिएको थियो ।
सेनाले दुवै जनालाई पक्राउ गरिएको समेत स्वीकारेको थिएन । तर, साँझ उनीहरुलाई हिरासतमा राखिएको छ । पक्राउ परेलगत्तै गैरकानूनीरुपमा थुनामा राखिएको भन्दै दुवै सैनिक अधिकृतले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिएका थिए ।
रिटमाथि सुनुवाइ गर्दै उनीहरुलाई उपस्थित गराउन आदेश भएको थियो । अदालतले अनुसन्धान सम्बन्धी मुख्य कागजातहरुको प्रमाणित प्रतिलिपि समेत मगाएको छ । उपरथी शाहीसहित तिनै जना अधिकृत पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा निकट अधिकृतका रुपमा चिनिन्थे ।
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4