+
+

तीन पटक मिर्गौला प्रत्यारोपण गरेका भीम

‘सरकारले निःशुल्क डायलाइसिस सेवा दिएकै छ भनेर प्रत्यारोपणमा जाँदैनन् । प्रत्यारोपण भन्दा अहिले डायलाइसिस सेवा मंहगो बन्न पुगेको छ’, उनी भन्छन्, ‘अब सरकारले प्रत्यारोपण सेवालाई बढाउनुपर्छ ।’

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ फागुन १९ गते १४:५९

१८ फागुन, काठमाडौं । नेपालमा हरेक वर्ष करिब तीन हजार मिर्गौलाका बिरामी थपिन्छन् । हाल ३५ हजार हाराहारी मिर्गौला रोगी रहेको सरकारी विश्लेषण छ । तर सबैलाई डायलाइसिस वा प्रत्यारोपणको आवश्यकता पर्दैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ६ हजार ५३४ जना हेमोडायलाइसिस र २२६ जना पेरिटोनियल डायलाइसिस गर्ने छन् । हालसम्म नेपालमा हालसम्म २१०० हाराहारीमा मात्रै मिर्गौला प्रत्यारोपण भएको छ ।

नेपालमा मिर्गौला प्रत्यारोपण सुरु हुनुअघि यो कामका लागि भारत जानुपर्ने बाध्यता थियो । अहिले पनि विभिन्न कारणले भारतमा गएर मिर्गौला प्रत्यारोपण गराउनेहरु छन् ।

उनीहरुमध्ये एक हुन्, भीमप्रसाद खनाल । जसले हालसम्म तीन पटक मिर्गौला प्रत्यारोपण गरिसकेका छन् । तीन पटक मिर्गौला प्रत्यारोपण गर्ने सम्भवतः उनी नेपालका पहिलो हुन् ।

पहिलो प्रत्यारोपण

गुल्मीका भीमप्रसाद खनाललाई २०५७ सालतिर उच्च रक्तचापको समस्या देखियो । केही समय औषधि गरे । तर, औषधिलाई निरन्तरता दिन सकेनन् । विस्तारै शरीर सुक्दै गयो । नाक, मुखबाट रगत आउने समस्या भयो ।

घरपरिवारले परीक्षण गर्न वीर अस्पताल काठमाडौं ल्याए । चिकित्सकले भने, ‘मिर्गौला बिग्रन लागेको रहेछ ।’ जीवनशैली सुधार्ने हो भने केही हदसम्म जोगाउन सकिने चिकित्सकले बताए । तर यसबेला २३ बर्षका खनालले चिकित्सकको सुझावलाई नकार्दै गए, समस्या बढ्दै गयो । सुक्दैसुक्दै फुकिढल भइसकेपछि उनी एकदिन अस्पताल पुगे । अनेक चेकजाँच गरिसकेपछि डाक्टरले भने, दुईटै मिर्गौलाले काम गर्न छोडिसकेका छन् ।’

भीमप्रसाद खनाल उपचारका क्रममा ।

‘खाना खाएको उल्टी हुने, शरीर सुकेको, नाक र मुखबाट रगत आउने श्वासप्रश्वासमा समस्या देखिने भएको थियो’, ती दिन सम्झदै भन्छिन्, ‘मैले त जण्डिस भएको शंका गरेको थिए । तर, चिकित्सकले मिर्गौला फेल भएको बताए ।’

विकल्प थियो– मिर्गौला फेर्ने । त्यो समयमा नेपालमा मिर्गौला फेर्न (प्रत्यारोपण) सहज थिएन ।

त्यसैले करिब एक महिनासम्म डायलाइसिस गरे । चिकित्सकहरूले उनलाई सुझाव दिए ‘प्रत्यारोपण गर्नैपर्छ, तर यहाँ हुँदैन । पैसा छ भने रगत परीक्षण गरेर भारत जानू ।’

परिवारमा रगत समूह परीक्षण गर्दा आमासँग मिल्यो । तर पैसाको अभाव । उनी एक्लो छोरा थिए । छोरा बचाउनका लागि आमाले खेतबारी पनि बेचिन् ।

त्यसबेलाको करिब ९ लाख रुपैयाँ बोकेर मिर्गौला प्रत्यारोपण गर्न आमा–छोरा आफन्तसहित लखनउ (पीजीआई) अस्पताल पुगे । परीक्षणका क्रममा आमा र छोराको सबै कुरा मिल्यो । त्यहाँ पनि उस्तै । डाक्टरहरूले भने– हुन त हुन्छ, तर जोखिम पनि छ ।

जीवनको यसै पनि टुंगो थिएन । डरडरमा बाँच्दा उनले मृत्युको डरलाई जितिसकेका थिए । उनलाई लाग्थ्यो– मिर्गौला नफेरे त मर्ने निश्चित नै छ ।

त्यसैले मिर्गौला प्रत्यारोपण गर्न तयार भए । लखनउ पुगेको एक महिनामा मिर्गौला प्रत्यारोपण गरियो ।

प्रत्यारोपणपछि चिकित्सकले तीन महिनासम्म फलोअप गराइराख्नुपर्ने बताए । तर त्यहाँ बस्न कहाँ सहज थियो र ! केही दिनमा पैसा सकियो । उनी नेपाल फर्किए । तर गाउँमा बस्न सम्भव थिएन । बेलाबेला जचाइरहनु पर्ने भएकाले गुल्मी रेसुंगष नगरपालिका–५ बाट उनी काठमाडौंको टोखामा डेरा सरे, सानो व्यापार थाले ।

९ बर्षमै नयाँ मिर्गौला फेल !

दिनहरू बित्दै जाँदा फेरि समस्या देखिन थाल्यो । नौ वर्षअघि फेरेको मिर्गौलाले विस्तारै काम गर्न छोड्दै थियो । त्यतिबेलासम्म पनि विकल्प डायलाइसिस नै थियो । चिकित्सकले फिस्टुला बनाएर डायलाइसिस सुरू गरे । ‘घरको जिम्मेवारी सबै आफ्नै काँधमा थियो । डायलाइसिस गरेर मात्रै बस्दा काम गर्न सकिने अवस्था थिएन,’ उनी भन्छन्, ‘त्यसैले पुनः प्रत्यारोपण गर्न आफैं जुटें ।’

मिर्गौला डायलासिस गर्ने मेसिन

घरपरिवारमा सल्लाह गरे । काकाका छोरा मिर्गौला दिन राजी भए । वीरमा परीक्षण सबै मिल्यो । त्यसबेलासम्म उनले चिकित्सकलाई आफ्नै भाइ भनेका थिए । क्रसम्याच गर्दा नाता प्रमाणित गर्दा काकाको छोरा भएको खुल्यो, जबकी उनले (काकाका छोरा)ले मिर्गौला दिन मिल्ने कानुनी व्यवस्था थिएन ।

उनले चिकित्सकसँग भारतमा प्रत्यारोपण गर्न सिफारिस मागे । पुनः लखनउ (पीजीआई) पुगे । डीएनए थोरै प्रतिशत मात्रै मिल्यो । त्यसैले चिकित्सकले प्रत्यारोपण गर्न मानेनन् ।

त्यतिबेलासम्म उनको तीन लाख खर्च भइसकेको थियो । त्यहीँ अस्पतालमा भेटिए नेपालबाट प्रत्यारोपण गर्न गएका एक बिरामी । उनले भारतकै चण्डीगढमा हुनसक्ने बताइदिए । त्यसबेला शरीरमा नशा भेट्टाउनै गाह्रो भइसकेको थियो । तर चिकित्सकले जसरी भए पनि प्रत्यारोपण गरिदिने आश्वासन दिए ।

प्रत्यारोपण गर्न त्यहाँको अदालतबाट अनुमति चाहिने रहेछ । बलतल्त नेपालबाट त्यहाँ बसेका आफन्तले सबै प्रक्रिया मिलाइदिए । चण्डीगढमा प्रत्यारोपण गर्दा करिब ८ लाख रुपैयाँ सकियो । प्रत्यारोपण गरेको एक महिनामा नेपाल फर्किए ।

जीवन फेरि उसैगरी चल्दै थियो । छोरी र छोरा गरी दुई सन्तान हुर्काइकेका थिए ।
उनलाई लगातार ज्वरो आयो, अरू पनि समस्याहरू देखिए । नेपालका धेरै निजी अस्पताल चहारे, तर रोग पहिचान पत्तै लागेन । भारतको एपोलो अस्पताल पुगे । चिकित्सकले फोक्सोबाट पानी निकालेर परीक्षण गरे । रोग पत्ता लाग्यो– क्षयरोग ।

एकातिर फेरेको मिर्गौलाले जीवन थामिरहेको थियो । अर्कोतिर क्षयरोगले समायो । एपोलोका चिकित्सकले क्षयरोगले औषधिसँगै ९० प्रतिशत मिर्गौलाले काम गर्न छोड्ने चेतावनी पनि दिए । ‘त्यसबेला चाहिँ मन आत्तियो,’ उनी भन्छन्, क्षयरोगको औषधि नखाए मृत्यु हुन्छ भन्ने डर थियो । खाँदा मिर्गौलामा असर गर्ने । जे गरे पनि मरिने भएपछि क्षयरोगको औषधि खान सुरू गरेँ ।’

नभन्दै करिब एक वर्षमै दोस्रो पटक प्रत्यारोपण गरेको मिर्गौलाले पनि काम गर्न छोड्यो । त्यतिबेला उनले दोस्रो मिर्गौला प्रत्यारोपाण गरेको १२ वर्ष पुगिसकेको थियो ।

जब चिकित्सक डराए…

नेपालमा पनि मिर्गौला प्रत्यारोपण सुरु भइसकेको थियो । भीम नेपालमै मिर्गौला प्रत्यारोपण गर्न चाहन्थे । मिर्गौला दिन उनका सालो राजी भए । त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालका चिकित्सकसँग उनले तेस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न प्रस्ताव लगे । चिकित्सकले सिधैं भनिदिए,– त्यो जोखिम हामी लिन सक्दैनौं ।’

त्यही बेला कोरोना भाइरसको महामारी थियो । भीमले भारतका केही अस्पतालमा प्रत्यारोपणबारे बुझे । भारतको एपोलो अस्पतालले नै गर्नसक्ने बतायो, तर कोरोना संक्रमण अस्पतालमा पनि फैलिएकाले चिकित्सकले दुई महिनापछि मात्रै आउन भन्यो ।

भीम हतारमा थिए । कसैले भनिदियो, ‘कलकत्ताको रविन्द्रनाथ टैगोर अस्पतालमा प्रत्योराण हुन्छ । उनले प्रस्ताव राखे, चिकित्सकले सहज स्वीकार गरे ।

तर मिर्गौला कहाँ राख्ने समस्या भयो । त्यतिबेलासम्म उनको शरीरमा ४ वटा मिर्गौला भइसकेका थिए । चिकित्सकले पिसाबथैली भन्दा माथि राख्ने सकिने निष्कर्ष निकाले ।

तर, यो प्रत्यारोपण निकै जोखिमपूर्ण थियो । दुई पटक मृत्युलाई जितिसकेको मान्छेलाई फेरि के को डर ! भीम जोखिम लिएर प्रत्यारोपण गर्न तयार भए । ‘मलाई कुनै डर थिएन । डायलाइसिस गरेर धेरै बाँच्ने आश थिएन,’ उनी भन्छन्, ‘चिकित्सकले बेहोस बनाउने हुन् । होस आए बाँचियो, बेहोस भए संसारबाट बिदा भइएला !’

शल्यक्रिया सफल भयो । तर यो पटक धेरै खर्च भयो । उनका अनुसार उनले करिब ७० लाख रुपैयाँ खर्चिए ।

यत्रो ठूलो रकम आफैं जुटाउन उनको सामर्थ्य थिएन । ससुराली, मामाघर र केही साथीबाट बिना ब्याज पैसा उपलब्ध भयो । ‘अझै ४० लाख तिर्न बाँकी छ । काठमाडौंमा भएको घरको जग्गा पनि ससुरालीबाट पाएको थिएँ । यो घर पनि बैंकमा राखेर पैसा निकालेको छु,’ उनी भन्छन्, ‘रोग लागेपछि त मान्छेलाई सडकमा पुर्‍याउने रहेछ ।’

आफन्तको आर्थिक सहयोगमै छोरालाई अष्ट्रेलिया पठाएपछि उनलाई अहिले केही सहज भने भएको छ । ‘छोरा बाहिर गएपछि औषधि र फ्लोअप जानका लागि पैसाको चिन्ता लिनुपरेको छैन । तर, पैसा जुटाउन नसक्ने मान्छेका लागि मृत्यु कुर्नबाहेक अरू विकल्प नै छैन’ उनी थप्छन् ।

अहिले वीर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. अनिल बरालसँग परीक्षण गराइरहेका उनी सरकारले डायलासिसलाई मात्रै प्राथमिकता दिँदा समस्या विकराल बन्दै गएको बताउँछन् ।

‘सरकारले निःशुल्क डायलाइसिस सेवा दिएकै छ भनेर प्रत्यारोपणमा जाँदैनन् । प्रत्यारोपण भन्दा अहिले डायलाइसिस सेवा मंहगो बन्न पुगेको छ’, उनी भन्छन्, ‘अब सरकारले प्रत्यारोपण सेवालाई बढाउनुपर्छ ।’

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?