+
+

डेस्टिनेसन डिल्लीबजार, जहाँ कैदीसँग सत्ताको जोडघटाउ हुन्छ

कुनै औपचारिक पदमा नभएका कैदी रेशम चौधरीलाई भेट्न भावी राष्ट्रपतिदेखि पार्टी अध्यक्ष र मन्त्रीहरु पुगिरहेका छन् ।

सागर चन्द सागर चन्द
२०७९ फागुन १९ गते २०:३८

१९ फागुन, काठमाडौं । जब डिल्लीबजार जेलमा नेताहरु आउजाउ गर्न थाल्छन्, तब बुझे हुन्छ राजनीतिक सरगर्मी बढ्यो । कसैलाई सत्तामा चढाउनुपर्यो– डिल्लीबजार । कसैलाई सिंहासनबाट ओराल्नुपर्‍यो– डिल्लीबजार ।

डिल्लीबजार जेलमा छन्– रेशम चौधरी । खासमा उनी कुनै औपचारिक पदमा छैनन् । तर नेताहरुलाई खोजी उनैको छ । भन्नलाई नागरिक उन्मुक्ति पार्टीका संरक्षक भनिएको छ । उसो त रेशमकी पत्नी रञ्जिता श्रेष्ठ यो पार्टीकी अध्यक्ष छिन् । उनी आफैं पनि डिल्लीबजार गइरहन्छिन् । पति भेट्नु त छँदैछ, राजनीतिक सल्लाह पनि गर्नुपर्‍यो ।

प्रतिनिधिसभामा ४ सिट र सुदूरपश्चिम प्रदेशसभामा ७ सिटसहित उदाएको नागरिक उन्मुक्ति पार्टीलाई आफ्नो पक्षमा पार्न नेताहरु चौधरीलाई राखिएको डिल्लीबजार कारागार धाउँछन् । ८ जनाको ज्यान जाने गरी २०७२ सालमा भएको टीकापुर घटनाको योजनाकार र मुख्य दोषी ठहर्‍याइएका हुन् चौधरी ।

राष्ट्रपति चुनाव नजिकिएसँगै राष्ट्रपतिमा उम्मेदवारी दिएका नेताहरु नागरिक उन्मुक्ति पार्टीको भोट माग्न डिल्लीबजार पुग्न थालेका छन् । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालय र अध्यक्षलाई नभई नेताहरु जेलमा रहेका पार्टी संरक्षक चौधरीलाई भेट्न पुग्छन् ।

पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसँग भन्दा नेताहरु जेलमा रहेका रेशमसँग बसेर राजनीतिक समीकरण मिलाउँछन् ।

१८ फागुनमा राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेल चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगे । चौधरीको हालखबर बुझ्न होइन उनी २५ फागुनको राष्ट्रपति चुनावका लागि भोट माग्न डिल्लीबजार पुगेका थिए । शुक्रबार एमाले नेताहरु योगेश भट्टराई, भगवती चौधरी, कृष्णगोपाल श्रेष्ठ र ठाकुर गैरे डिल्लीबजार कारागार पुगेका थिए । उनीहरुले राष्ट्रपति निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको मत एमाले उम्मेदवार नेम्वाङलाई दिन आग्रह गरेका थिए ।

पार्टी कार्यालय र सांसदलाई भेटेर भोट माग्नुपर्ने राष्ट्रपति उम्मेदवार जेलमा पुगेर भोट माग्दैछन् । सत्ता समीकरणको समयमा सबैको चासो बन्ने गरेका चौधरीलाई भेट्न २६ माघ बिहानै एमाले नेता लेखराज भट्ट डिल्लीबजार कारागार पुगेका थिए । सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत माग्न भट्ट डिल्लीबजार पुगेका थिए ।

सुदूरपश्चिम प्रदेश सभामा निर्णायक भूमिकामा रहेको उन्मुक्ति पार्टीले विश्वासको मत नदिंदा तत्कालीन मुख्यमन्त्री रावलले पद गुमाए । विश्वासको मत नपाएर सत्ता गुमाउनु परेका राजेन्द्रसिंह रावल पनि १० माघमा चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका थिए ।

एमालेको सरकार ढलेपछि नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री भए । नागरिक उन्मुक्तिले विश्वासको मत नदिएमा आफ्नो सरकार पनि गुम्ने बुझेका शाह २९ माघमा धनगढीबाट डिल्लीबजार पुगे चौधरीलाई भेट्न । चौधरीलाई भेटेर विश्वासको मत मागेका मुख्यमन्त्री शाहले २९ फागुनमा विश्वासको मत लिने भएका छन् ।

४ मंसिरको चुनावपछि सरकार गठन गर्ने दौडधुप हुँदा पनि नेताहरुले डिल्लीबजारलाई आफ्नो मुकाम बनाएका थिए । ८ मंसिरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डिल्लीबजार कारागारमा चौधरीसँग दुई घण्टा समय बिताए । आफ्नो नेतृत्वमा सरकार बनाउन सहयोग माग्दै डिल्लीबजार पुगेका थिए प्रचण्ड ।

प्रचण्ड डिल्लीबजार पुगेपछि १३ मंसिरमा नेकपा समाजवादीका माधव नेपाल र बाबुराम भट्टराई चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगे । त्यसो त चुनाव अगाडि ४ असार २०७९ मा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पनि चौधरीलाई भेट्न डिल्लीबजार पुगेका थिए ।

सत्ता जोगाउने, सरकार बनाउने समयमा डिल्लीबजार राजनीतिक शक्तिकेन्द्र जस्तै बन्छ । सत्ता आरोहणको टेको खोजिरहेका नेताहरु चौधरीलाई भेट्न डिल्लीबजार धाउँछन् । ५ पुस २०७७ मा गरिएको संसद पुनर्स्थापना र नेकपा विभाजन भएपछि सत्ता संकटमा परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वासपात्र महेश बस्नेतलाई डिल्लीबजार कारागार पठाए । त्यतिखेर जनता समाजवादी पार्टी(जसपा)मा रहेका चौधरीलाई रिहा गर्ने विषय लिएर जसपालाई आफ्नो पक्षमा पार्न खोजे ओलीले ।

७ भदौ २०७२ मा टीकापुरमा भएको झडपमा एक नाबालकसहित ८ जनाको मृत्यु भएको थियो । घटनाको मुख्य योजनाकार र दोषी किटान गर्दै प्रहरीले रेशमलगायत ५८ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । घटना भएदेखि नै फरार रहेका रेशमले भूमिगत रहेरै निर्वाचनमा सामेल भएका उनले २०७४ मा कैलाली क्षेत्र नम्बर १ बाट ३४ हजार ३४१ मतसहित चुनाव जितेका थिए ।

भूमिगत रेशमलाई असोज २०७३ मै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतमा भेटेका थिए । त्यसपछि कैलाली जिल्ला अदालतसमक्ष आत्मसर्मपण गरेका चौधरी १४ फागुन २०७४ देखि जेलमा छन् । चौधरीलाई जिल्ला अदालत कैलाली र उच्च अदालत डोटीले जन्मकैदको सजाय सुनाएको छ । त्यसविरुद्ध चौधरीले सर्वोच्च अदालतमा दिएको पुनरावेदनमा गत महिना भएको पहिलो सुनुवाइमा दुवै पक्षलाई अदालत झिकाउने आदेश भएको छ ।

चौधरीले आत्मसर्मपण गरेकै दिन तत्कालीन माओवादी केन्द्रबाट ओली नेतृत्वको सरकारमा गृहमन्त्री भएका थिए रामबहादुर थापा बादल । बादल तिनै हुन् जो चौधरीलाई जुस पिलाएर अनशन तोडाएका थिए । २०७४ फागुनमा आफूलाई प्रतिनिधिसभा सदस्यको शपथ खुवाउनुपर्ने, निर्वाचित भएको प्रमाणपत्र दिनुपर्ने र टीकापुर घटनामा सजाय पाएकाहरुलाई रिहा गर्नुपर्ने माग राखेर रेशम वीर अस्पतालमै अनशन बसेपछि बादलले अदालती प्रक्रियाका बाहेक अन्य माग पूरा गर्ने आश्वासन दिएर अनशन तोडाएका थिए ।

टीकापुर घटनापछि ५ वटा सरकार बनिसकेका छन् । सरकार बनाउने समयमा र सरकार संकटमा पर्ने समयमा नेताहरु चौधरीलाई आफ्नो पक्षमा पार्ने अनेक प्रयास गर्छन् । १२ चैत २०७७ मा चौधरीको रिहाइको माग गर्दै माइतीघरमा धर्नामा बसेकाहरुलाई भेट्न तत्कालीन गृहमन्त्री बादल पनि पुगेका थिए ।

फौजदारी अभियोगमा सजाय पाइरहेका चौधरीलाई रिहा गर्ने वचन बाँड्दै सत्ताको भर्‍याङ चढ्छन् नेताहरु । सत्तामा रहुञ्जेल राजनीतिक परिदृश्यबाट हराउँछन चौधरी । उनी र उनको मुद्दा महत्वहीन हुन्छ । तर, जसै सत्ता डगमगाउन थाल्छ नेताहरु फेरि डिल्लीबजार धाएर चौधरीको महिमा गाउन थाल्छन् ।

कसले कहिले भेटे रेशम चौधरीलाई

१८ फागुन २०७९ : रामचन्द्र पौडेल

२६ माघ २०७९ : लेखराज भट्ट

२९ माघ २०७९ : कमलबहादुर शाह

१० माघ २०७९ : राजेन्द्रसिंह रावल

८ मंसिर २०७९ : पुष्पकमल दाहाल प्रचण्ड

१३ मंसिर २०७९ : माधव नेपाल, बाबुराम भट्टराई

४ असार २०७९ : बाबुराम भट्टराई, सीके राउत

१३ चैत २०७७ : महेश बस्नेत

३ चैत २०७४ : रामबहादुर थापा बादल

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?