+
+

नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि बन्द नगरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते ७:४४

२१ फागुन, चितवन । पुल निर्माणका लागि भित्तो काट्न दिउँसोका समयमा बन्द गरिंदै आएको नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ ।

भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यले आजदेखि सडक बन्द नगरिने बताए ।

पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो ।

सवारीसाधन रोकेर पाँच ठाउँको पहाड काट्न सुरु गरिएकामा तुइन खोलाको मुग्लिनतर्फको पहाडबाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको छ ।

तुइन खोलाको भित्तोलाई विष्फोट गराउन लागिएकाले सवारी रोकेर भित्तो काट्ने काम आजदेखि बन्द गर्न लागिएको हो ।

तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानसहितको डाँडो थियो । सो डाँडोलाई काट्न कठिन भएको हो । सो पहाडको अझै ४० मिटर काट्न बाँकी छ ।

यससँगै बाँकी रहेको चिसेन्जी खोलाको पुलको आडको देब्रेपट्टकिो भित्तो काट्ने काम अन्तिम चरणमा रहेको छ । सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ । यी पुलसँगै काम थालिएका नौ पुल भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन् ।

यसअघि नै सो सडकखण्डका पाँचवटा पुल बनिसकेका थिए । थप पाँचवटा पुल निर्माणाधीन छन् । सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वटै पुल नयाँ थप गरिएको हो । पहिलेको पुलको छेउमा अर्को पुल बनाउँदै गर्दा भित्तो काट्नु परेको हो ।

आचार्यका अनुसार तुइन खोलाको भित्तो काट्नका लागि विस्फोट गराउन अनुमति लिने प्रक्रियामा रहेको छ । अनुमति पाएसँगै एक महिनामा विस्फोटक पदार्थ झिकाएर विस्फोट गराउने तयारी आयोजनाले गरेको छ ।

विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो । २०८० पुस ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने छ । सुरुमा ३३ महिनाका लागि सम्झौता भए पनि काम सम्पन्न नभएपछि हालै एक वर्ष समय थप गरिएको हो । पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।

नारायणगढ-मुग्लिन सडक खण्डमा यसअघिका पुल साँघुरा थिए । अहिले बनाइएका पुल ११ मिटर फराकिला छन् । सडक नौदेखि ११ मिटर फराकिलो छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आउजाउ गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?