+
+

सुदूरपश्चिममा कांग्रेसले बोलायो संसदीय दलको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते ९:०१

२१ फागुन, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दलको बैठक बोलाएका छन् ।

दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारीमा रहेका शाहले सोही विषयमा छलफल गर्न दलको बैठक बोलाएका हुन् ।

कांग्रेसका प्रदेश सभा सदस्य मेघराज खड्काले बिहान १० बजे प्रदेश संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको जानकारी दिए । बैठकले मुख्यमन्त्री शाहले आइतबार लिने गरी तय भएको विश्वासको मतका सम्बन्धमा निर्णय हुने उनले बताए ।

सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले सरकारमा आलोपालो तथा मन्त्रालय भागबन्डामा लिखित सहमति नगरेमा विश्वासको मत दिन नसकिने अडान लिएपछि मुख्यमन्त्री शाह अप्ठ्यारोमा परेका छन् ।

२६ माघमा नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएकै कारण एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो । सोही दिन ठुलो दलको हैसियतमा संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराएका छन् ।

राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता समीकरण फेरिएपछि प्रदेशमा पनि केन्द्रकै गठबन्धन बनेको हो । मुख्यमन्त्रीले विश्वासको मत दिनु अघि नै शक्ति बाँडफाँड गर्नुपर्ने अडान माओवादी र नाउपाले लिइरहेको बताउदै प्रदेशसभा सदस्य खड्का सबै कुरा सहमतिका आधारमा टुंगोमा पुग्ने बताए ।

‘उहाँहरुले विश्वासको मत लिनुअघि शक्ति बाँडफाँट गर्नुपर्ने माग गर्नुभएको छ । त्यो विषयमा प्रदेश र केन्द्रीयस्तरमा पनि वार्ता भइरहेको छ,’ खड्काले भने, ‘सबै कुरा टुंगोमा पुग्छ र मुख्यमन्त्री ज्यूले विश्वासको मत पाउनुहुन्छ ।’

नेताहरुकाअनुसार सरकारमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित प्रतिबद्धता मागेको माओवादी केन्द्रले भौतिक पूर्वाधार विकास मन्त्रालय समेतका दुई महत्वपूर्ण मन्त्रालय पाउनुपर्ने अडान लिएको छ भने नागरिक उन्मुक्ति पार्टीले पनि दुई मन्त्रालय मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?