+
+

देशभरका चाम्लिङ राईहरूको भाषिक सम्मेलन खोटाङमा

रासस रासस
२०७९ फागुन २१ गते २०:०६

२१ फागुन, खोटाङ । देशभरका चाम्लिङ राईहरूको भाषिक सम्मेलन खोटाङमा सुरु भएको छ । चाम्लिङ राईहरूको भाषा तथा संस्कार/संस्कृति संरक्षण, सम्वर्द्धन र विकास गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम फाउन्डेसनमा तीनदिने सम्मेलन सुरु गरिएको हो ।

नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले उद्घाटन गर्नुभएको सम्मेलनमा डा तारामणि राई, प्राज्ञ जयकुमार राई, मुन्दुम अध्येता भोगिराज चाम्लिङ र किराँत राई चाम्लिङ खाम्बातिमका अध्यक्ष युवराज राईले चाम्लिङ भाषासम्बन्धी कार्यपत्र पेश गरेका छन् ।

सम्मेलनमा सहभागी देशभरका चाम्लिङ राईहरूबीच समूह विभाजन गरेर विज्ञबाट प्रस्तुत भएका कार्यपत्रमाथि छलफल सुरु गरिएको खाम्बातिमका महासविच तेजकुमार राईले जानकारी दिए ।

सामूहिक छलफलपछि चाम्लिङ राईहरूले प्रयोग गर्दै आएका भाषासम्बन्धी एउटै धारणा बनाउने कार्ययोजनासमेत रहेको खाम्बातिमले जनाएको छ । सम्मेलनमा खाम्बातिमका महासचिव राईबाट चाम्लिङ राईहरूको साङ्गठनिक प्रतिवेदनसमेत प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

सम्मेलन उद्घाटन समारोहमा किराँत राई चाम्लिङ खाम्बातिम केन्द्रीय कार्यसमितिले प्रकाशन गरेको स्मारिकासमेत विमोचन गरिएको छ । किराँत राई चाम्लिङ भाषी र सांस्कृतिक पक्ष, चाम्लिङ मातृभाषा शिक्षणका सन्दर्भ, भाषामा यसका अनुकूलन र प्रयोग, चाम्लिङ राईहरूको सामै/सामे र पाछा, राई जातिका मौलिक संस्कृति, चाम्लिङ विवाह तथा मृत्यु संस्कार, चाम्लिङ राईहरूको भाषा तथा संस्कार/संस्कृति संरक्षण एवं सम्वर्द्धनलगायतका विषय समेटिएको स्मारिका विमोचन गरिएको हो ।

सम्मेलन उद्घाटन समारोहमा खोटाङ जिल्लाबाट निर्वाचित जनप्रतिनिधि, नछुङ (धामी), मुन्दुमीलगायतलाई सम्मानसमेत गरिएको छ । सम्मेलनमा कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य पासाङ, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, उपप्रमुख सुरेशकुमार तामाङ, कृषिविज्ञ मदन राई, चाम्लिङ राई खाम्बातिमका सल्लाहकार मणिकुमार राईलगायतले भाषा तथा संस्कार÷संस्कृतिसम्बन्धी आ-आफ्नो धारणा राख्नुभएको थियो।

चाम्लिङ राईको उद्गमस्थल खोटाङ जिल्लाका विभिन्न विद्यालयमा चाम्लिङ राई भाषाको पाठ्यक्रम पठन÷पाठन हुँदै आएको छ। चाम्लिङ राईहरूको बाहुल्य रहेका अन्य ठाउँमा सञ्चालित विद्यालयहरूमा चाम्लिङ भाषामा निर्मित पाठ्यक्रम लागू गर्न जनप्रतिनिधिहरूसँग समन्वय गर्ने विषयमा समेत कार्यक्रम बनाइने जनाइएको छ।

सम्मेलन समापनपछि जिल्लास्थित किराँत ऐतिहासिक स्थलहरू तुवाचुङ–जायाजुम, मझुवागढी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पास्थित साकेला थानलगायतका ठाउँहरूको अवलोकन भ्रमण गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।

हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित त्रि-धार्मिकस्थल हलेसी नजिकै पर्ने तुवाचुङ–जायाजुमलाई किराँत राईहरूको उद्गमस्थल मानिन्छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?