+
+

मछिन्द्रको १९ खेलको अपराजित यात्रामा ब्रेक

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ फागुन २१ गते २२:२४

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको पछिल्लो दुई संस्करणको च्याम्पियन हो मछिन्द्र फुटबल क्लब । २०७६ मा स्टार खेलाडीहरु भित्र्याएर पहिलो पटक घरेलु फुटबलको च्याम्पियन बनेको मछिन्द्र गत सिजन उपाधि रक्षा गर्न सफल भएको थियो ।

यो पटक केही खेलाडी विदेश गए भने केही खेलाडी अन्य क्लबमा जाँदा पनि मछिन्द्रले लिगको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य बनाएको छ । तर पहिलो खेलमै पराजित भयो ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सुरूवाती अग्रता जोगाउन नसक्दा मछिन्द्र, जावालखेल युथ क्लसँग ३-१ गोलले पराजित भयो । जावलाखेलसँग अप्रत्याशित हारपछि डिफेण्डिङ च्याम्पियन मछिन्द्रको लिगमा १९ खेलको अपराजित यात्रा टुङ्गिएको छ ।

२०७६ मा सातौं चरणमा हिमालयन शेर्पासँग पराजित भएको मछिन्द्र बाँकी खेलमा अपराजित थियो । गत सिजन अपराजित रहेर च्याम्पियन बन्यो । १३ मध्ये ११ खेलमा जितेको मछिन्द्रले २ खेलमा बराबरी खेलेको थियो ।

यस सिजन भने पहिलो खेलमै मछिन्द्रले ३-१ को हार व्यहोरेको छ ।

एक त मछिन्द्रसँग गत सिजनका स्टार खेलाडीहरू छैनन् । गत सिजन मछिन्द्रलाई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेल्दै उत्कृष्ट खेलाडी बनेका सुनिल बलका साथै मनिष डाँगी यस सिजन क्लब छाडेर संकटा पुगेका छन् । खेलेका फरवार्ड अभिषेक रिजाल र मिडफिल्डर विशाल राई अष्ट्रेलिया लागेका छन् । अष्ट्रेलिया पुगेका रेजिन सुब्बा नेपाल फर्केर एफसी खुमलटारबाट लिग खेलिरहेका छन् ।

भएका पहिलो रोजाईँमै केही खेलाडी पनि लिग अघि लगातार नकआउट प्रतियोगिता खेलेको कारण घाइते छन् । फरवार्ड विमल घर्ती मगरका साथै अरू केही खेलाडी पूर्ण रुपमा फिट छैनन् । आइतबार बेन्चमा मछिन्द्रको जम्मा ८ खेलाडी मात्र थिए, जसमा चार खेलाडी परिवर्तन समेत गर्‍यो ।

बेन्चमा रहेका विमल घर्ती मगर र आन्द्रे निया मैदान उत्रेनन् ।केपी ओली कप र भद्रपुर झापा गोल्डकप खेलेका ओलावाले आफिज र ओमोलाजा करिम प्लेइङ लिस्टमै थिएनन् ।

त्यही कारण मछिन्द्रले एक गोलको अग्रता लिएर पनि कायम राख्न सकेन । खेलको २४औं मिनेटमा देवेन्द्र तामाङले फ्रिकिकमार्फत गोल गर्दै मछिन्द्रलाई पहिले अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा जावलाखेलले शानदार पुनरागमन गर्दै तीन गोल गर्‍यो । जावलाखेलका लागि हिसुब थपलियाले ५९औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे । ६४औं मिनेटमा एनकोतो मासोबीले गोल मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठको गल्तीको फाइदा उठाउँदै गोल गरी जावलाखेललाई २-१ को अग्रता दिलाए । त्यसपछि कप्तान सिमान्त थापाले हिसुबको फ्रिकिकमा हेडर गोल गर्दै ३-१ को जित दिलाए ।

हारपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले पनि मुख्य खेलाडीहरु घाइते हुनु नै हारको कारण रहेको प्रतिक्रिया दिएका छन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?