+
+

तराई-मधेसमा किन ३ दिन खेलिन्छ होली ?

सुरेश बिडारी सुरेश बिडारी
२०७९ फागुन २२ गते १९:२६

२२ फागन, वीरगञ्ज । तराई मधेशमा यसवर्ष पनि तीन दिन होली खेलिने भएको छ । पछिल्लो ४ वर्षयता यस्तै संयोग पर्दै आएको छ ।

सोमबार तराई मधेसमा बस्ने पहाडी समुदायले होली मनाएका छन्, उनीहरुसँग अन्य समुदायका मानिसहरुसमेत मिलेर सदभावको होली मनाएका छन् ।

मंगलबार तराई मधेसको होली हो । फागु पूर्णिमाको दिन होलिका दहन गरेर भोलिपल्ट अर्थात फागुन कृष्ण प्रतिपदाको दिन यहाँ होली खेल्ने चलन छ ।

सरकारले पनि तराई मधेसमा मंगलबार होलीको विदा दिएको छ । तराई मधेसमा मंगलबारलाई खर दिन (कडा दिन) को रुपमा लिने र मांशाहारी खानेकुरा नखाने चलन छ । त्यसैले गर्दा कतिपयले बुधबार होली खेल्ने योजना बनाएका छन् । त्यसैले गर्दा यसवर्ष पनि तराई मधेसमा तीन दिन होली पर्व मनाइने सामाजिक अभियन्ता प्रकाश थारूले बताए ।

‘मधेस प्रदेश साँस्कृतिक विविधताले भरिपूर्ण प्रदेश हो । यहाँ पहाडी मूल, मधेसी मूलका बासिन्दा मात्रै नभएर छिमेकी मुलुक भारतका पनि नागरिक बस्छन् । पहाडी समुदायले होलिका दहन भएकै दिन होली खेल्छन्, त्यसमा सबै सहभागी हुन्छन्,’ उनले भने ‘दशैंमा जस्तै मधेसी समुदायले होलीमा मिठा मिठा खानेकुरा खाने पर्वको रुपमा मनाउँछन् । मंगलबारलाई खर दिन (कडा दिन) को रुपमा लिने गरिन्छ । झगडा मारपिट हुन्छ भन्ने मान्यताले मांशाहारी खानेकुरा मंगलबार बार्ने चलन छ । यसलाई मान्नेले बुधबार पर्व मनाउँछन, नमान्नेले मंगलबार पनि होली खेल्छन् । ’

विभिन्न संघ संस्थाले एक साता अघिदेखि नै होली मिलन समारोह तथा शुभकामना आदानप्रदान जस्ता कार्यक्रमहरू निरन्तर गरिरहेका छन् । विद्यालय तथा क्याम्पसका विद्यार्थीले आइतबार नै होली मनाएका छन् । कतिपय संघसंस्थाले सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिरहेका छन् ।

वीरगञ्ज आदर्शनगर क्षेत्रका मारवाडी समुदायले सम्बत (होलिका दहन) जलाएपछि होली खेल्ने चलन छ । मारवाडी समुदाय शाकाहारी हुन्छन् । उनीहरुलाई बारले फरक पार्दैैन । तर होलिका दहन गर्दाको आगो ननिभेसम्म उनीहरुले होली खेल्दैनन् ।

मारवाडी समुदायको अगुवा महिला नुतन सरावगीले होलिका दहन गर्दाको आगो निभेपछि मात्रै होली खेल्ने चलन रहेको बताइन् । ‘होलिका दहन मंगलबार बिहान साढे पाँच बजे हुँदैछ । त्यो सेलाएपछि मात्रै होली खेलिन्छ ।’ उनले भनिन्,‘ गोबरको होलिका बनाएका हुन्छौं, होलिकाको आँखा (कोडी) जल्दैन । त्यसलाई घरमा लगेर चना, पापड सेकेर पर्सादको रुपमा खाने चलन छ ।’

सोमबार राति नै होलिका दहन गर्नेले मंगलबार बिहानदेखि होली खेल्न शुरु गर्ने उनको भनाई छ ।

होलीमा रमाइलो गर्ने, आफन्तजन इष्टमित्रसँग भेटघाट गर्ने, सामूहिक खानपिन गर्ने चलन छ । यो पर्वमा अन्य पर्वहरू जस्तो व्रत लिने, शुद्ध चोखो खाने जस्ता धार्मिक नियम छैन । त्यसैले यो सबैको प्रिय पर्व बन्न पुगेको सामाजिक अभियन्ता थारुले बताउँछन् ।

पर्सा, बारा र रौतहटको होलीले पर्व मात्र नभई भोजपुरी संस्कृतिको पनि प्रतिनिधित्व गर्छ । होलीमा यहाँ परिवारका सदस्य मात्र नभई आफन्त इष्टमित्रलाई पनि घरमा बोलाएर मासुका परिकार, मालपुवा पकौडा आदि खुवाउने चलन छ । मान्यजन तथा ठूलाबडासँग रंग लगाएपछि कनिष्टले खट्टामै ढोगेर आशीर्वाद लिने परम्परा छ ।

होलीमा माछामासुको परिकार बढी खाइन्छ । खाने पिउने मात्र नभई नेता तथा समाजका प्रतिष्ठित व्यक्तिहरूलाई पनि सार्वजनिक रूपमा व्यंग्य गर्ने छुट यो पर्वमा छ ।

होली पर्वमा वर्षभरि भेटघाट नभएका, मनमुटाव भएकाहरू एकआपसमा आत्मीयता भेटघाट गर्न जाने र आत्मीयता बढाउने चलन छ ।

होलीमा व्यापार खस्किएको गुनासो

नयाँ सेतो वस्त्र लगाएर होली खेल्ने तराईको पुरानो परम्परा हो । वीरगञ्ज सिटी मार्केट, बिशाल बजार, घण्टाघर, माईस्थान, आदर्शनगर क्षेत्रमा सेतो कपडा बिक्रिका लागि राखिएका थिए ।

यसवर्ष वीरगञ्जमा सेतो कपडाको व्यापार खस्किएको व्यापारीहरुले गुनासो गरेका छन् । वीरगञ्ज महानगरपालिका– ८ गहवाका रवी कुमारले ५० हजार रुपैयाँको सेतो कपडा किनेपनि बिक्रि हुने छाँटकाँट नदेखिएको गुनासो गरे ।

‘हरेक वर्ष होलीमा पसल लगाउने गर्छु , गतवर्ष राम्रै व्यापार चलेको थियो । तर यसपाली खासै व्यापार छैन ।’ उनले भने ‘ ५० हजार रुपैयाँ लगानी गरेको थिँए, गल्ला पनि उठ्ला जस्तो छैन ।’

मुर्लीका राजा हुसैनले पनि बिक्री खासै नभएकोले घाटा लाग्ने अवस्था देखिएको बताए । ४ जना मिलेर ९० हजारको सामाग्री खरिद गरेका उनीहरुले लगानी नै नउठ्ने जस्तो स्थिति देखिएको बताएका छन् । अर्का व्यापारी मोहम्द अन्सारीले देशको आर्थिक अवस्था खस्किएकोले होलीको व्यापारमा पनि त्यसैको असर परेको हुन सक्ने बताए ।

‘गत वर्ष दैनिक ३०÷४० हजारको सामान बेचेका थियौँ । यसवर्ष १०÷१५ हजार पनि पुग्ला जस्तो छैन,’ उनले भने, ‘८० हजार जति लगानी भएको छ, फिर्ता आउने छाँटकाँट छैन । मान्छेसँग पैसा छैन, बैँकले लगानी गर्न छोडिदिएको छ । सबै मान्छे पिडित छन् अहिले, देशको अर्थतन्त्रको हालत नै खराब छ ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?