+
+

वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २२ गते १७:२८
हरि पन्त/फाइल तस्वीर

२२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ । सोमबार कार्य समिति सदस्य बन्न इच्छुक उद्योगी व्यवसायीले मनोनयन दर्ता गराएका छन् ।

त्यसक्रममा वस्तुगत संघ तर्फबाट हरि पन्त कार्य समिति सदस्यमा निर्विरोध चयन भएका छन् । उनी होटल व्यवसायी महासंघका सचिव तथा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष समेत हुन् । दाबी विरोधको प्रक्रिया पुरा नभएकोले निर्वाचन अधिकृतको कार्यालयले उनी निर्वाचित भएको औपचारिक घोषणा गरिसकेको छैन ।

वस्तुगत संघ तर्फ १ जना कार्य समिति सदस्य रहेकोमा पन्तको मात्रै उम्मेदवारी परेको वीरगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ । उद्योग तर्फ १३, वाणिज्य तर्फबाट १६, एसोसिएट तर्फबाट ६ र वस्तुगत तर्फबाट १ गरी संघमा ३५ सदस्यीय कार्य समिति रहने प्रावधान छ । उद्योगतर्फ १८, वाणिज्य तर्फ २५, एसोसिएटतर्फ ८ जना र वस्तुगत तर्फ १ जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृत अधिवक्ता बालमुकुन्द खरेलले जानकारी दिए ।

२४ फागुनमा मनोनयन फिर्ताको कार्यक्रम राखिएको छ, भने ३० फागुनमा कार्य समिति सदस्यका लागि निर्वाचन गर्ने तालिका छ । कार्य समिति सदस्य चयन भए लगत्तै पदाधिकारी निर्वाचनका लागि कार्य तालिका सार्वजनिक गरिने निर्वाचन अधिकृत खरेलले बताए ।

निर्वाचन मार्फत सबैभन्दा पहिला कार्य समिति सदस्य चयन गरिन्छ । कार्य समिति सदस्यहरु मध्येबाटै ११ जना पदाधिकारी चुन्ने व्यवस्था संघको विधानमा छ । निवर्तमान अध्यक्ष स्वतः पदेन पदाधिकारी हुन्छन् । पदाधिकारी तर्फ १ जना अध्यक्ष, वरिष्ठ उपाध्यक्ष सहित ३ जना उपाध्यक्ष, महासचिव १ जना, सचिव र सह सचिव २/२ जना, कोषाध्यक्ष र सह कोषाध्यक्ष १/१ जना चयन गरिन्छ । कार्य समितिले रोजगारदाता संयोजक चयन गर्ने र उनी नै पदेन उपाध्यक्ष हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?