+
+

महिलालाई मुख्य पदमा लैजान अझै व्यवहारिक कठिनाइ : सभामुख घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २३ गते १२:५२

२३ फागुन, काठमाडौं । सभामुख देवराज घिमिरेले कानूनी व्यवस्थाअनुसार महिलालाई मुख्य पदमा लैजान अझै व्यवहारिक कठिनाइ रहेको बताएका छन् ।

मंगलबार ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘ अहिलेको हाम्रो व्यवहारमा हामी मुख्य पदमा महिला र पुरुषलाई कानूनी व्यवस्था नै गरेर मात्रै प्रयोग गर्दा त्यसलाई ठिक ढंगबाट प्रयोग गर्ने व्यवहारिक कठिनाइ दखापरेका छन् ।’

उनले ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण आज ठूलो संख्यामा महिला प्रतिनिधिहरु नियम कानून बनाउने तहसम्म प्रतिनिधित्व गरिरहेको भएपनि अझै पनि मुख्य पदमा महिला र पुरुषलाई कानूनी व्यवस्थाअनुसार कार्यान्वयन हुन भने कठिनाइ देखिएको बताए ।

उनले भने, ‘‘जुन किसिमको महिलाको नेतृत्वमा महिला समानताको लागि न्युनतम पनि मताधिकारको कुरा प्राप्त गर्ने काम भयो । मताधिकारबाट अघि बढ्ने कुरामा नेपालमा महिलाले राजनीतिक उपलब्धि हासिल गर्नुभएको छ । त्यसमा पनि सामुदायिक वनमा रहेर तपाईहरुबाटै बनेको विधिविधान वा ऐनले ५० प्रतिशत मुख्य पदहरुमा पनि एक जना महिला हुनैपर्ने गरी बनाएको कुराको अनुभवलाई राष्ट्रले स्वीकार गर्नुपर्ने परिस्थिति आयो।’

सभामुख घिमिरेले अझै आवश्यक मात्रामा मुख्य पदहरुमा ३३ प्रतिशतको महिलाको संख्या र गुण पुर्‍याउन नसकेको बताए ।

उनले भने, ‘३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थाको कारणले गर्दा आज ठूलो संख्यामा महिला प्रतिनिधिहरु नियम कानून बनाउने तहसम्म प्रतिनिधित्व गर्नुभएको छ । तथापि अझै आवश्यक मात्रामा ३३ प्रतिशतको संख्या र गुण पुर्‍याउन नसकेको परिस्थितिलाई उदाहणरुको रुपमा फेकोफनले काम गरिरहेको छ ।’

सभामुख घिमिरेले आर्थिक उन्नतिको लागि प्राकृतिक श्रोत, त्यसमा पनि वनको दिगो व्यवस्थापनका बारेमा सोच्न जरुरी रहेको बताए । उनले प्राकृतिक श्रोतलाई संरक्षण र संवद्र्धन गर्दै समाज उपयोगी ढंगबाट आर्थिक उपार्जनको क्षेत्रमा कसरी सदुपयोग गर्ने भन्नेकुरालाई विशेष जोड दिन आग्रह गरे ।

उनले भने, ‘वनलाई समाप्त गर्ने खालका घटनाहरु विभिन्न स्थानमा भएका छन् । वनको संरक्षणसँग बाझिएका ऐनहरु, ऐनको अभावमा नभएका पक्षहरु, ऐन बनाउनुपर्ने कारण र ऐनले भनेका कुरा व्यवहारमा कसरी लागू गर्ने भन्ने बारेमा सोच्नुपर्छ। ’

उनले वनलाई समाप्त गर्ने खालका घटनाहरु विभिन्न स्थानमा भइरहेको उल्लेख गर्दै वनको संरक्षणसँग बाझिएका ऐनहरु, ऐनको अभावमा नभएका पक्षहरु, ऐन बनाउनुपर्ने कारण र ऐनले भनेका कुरा व्यवहारमा कसरी लागू गर्ने भन्ने बारेमा सोच्न जरुरी रहेको बताए । वातावरणमा आइरहेको प्रतिकुल परिवर्तनलाई कसरी न्युनिकरण गर्नसकिन्छ भन्ने बारेमा पनि सरोकारवाला निकायहरुले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘वातावरणमा आइरहेको प्रतिकूल परिवर्तनलाई कसरी न्युनिकरण गर्नसकिन्छ ?, नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा सोच्न जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?