+
+

बालुवाटारमा माओवादी घटकको निष्कर्ष : यो प्रचण्डविरुद्धको मात्रै मुद्दा होइन

‘सर्वोच्चको आदेश रहस्यमय'

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २३ गते २०:१०

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशलाई विभिन्न माओवादी घटकहरुले रहस्यमय भएको टिप्पणी गरेका छन् ।

यसबारे छलफल गर्न पूर्व माओवादी घटकका नेताहरु सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका थिए । सर्वोच्चको आदेशले संक्रमणकालीन न्याय नै मर्ने भन्दै त्यस्तो स्थितिमा शान्ति सम्झौता नै खारेज हुने निष्कर्षमा आफूहरु पुगेको नेताहरुले बताएका छन् ।

बैठकमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूविरुद्धको मुद्दा रहस्यमय रहेको बताएका थिए । यसमा आन्तरिक तथा बाहिरी षडयन्त्र रहेको समेत प्रचण्डले दाबी गरेका थिए । ‘शान्ति सम्झौताको एकजना हस्ताक्षरकर्ताविरुद्ध किन आयो भन्ने कुरा रहस्यमय छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यो षडयन्त्रकारी हो । यो खेल चाहिं बाहिरका साम्राज्यवादीहरुले पनि गरेका छन् । आन्तरिक रुपमा पनि यो प्रतिगमनकारी प्रक्रिया हो ।’

रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतले यसअघि द्वन्द्वकालीन घटनाको अभियोगमा प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै रिट लिएर सर्वोच्च गएका थिए । सुरुमा सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको रिट सर्वोच्चको आदेश अनुसार मंगलबार दर्ता भएको छ । यो घटनाले नजिकिएका माओवादी धारका नेताहरु आज बिहान बालुवाटारमा भेला भएका थिए ।

सो बैठकमा प्रचण्डले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’को रुपमा मनाउने र सशस्त्र द्वन्द्वमा मारिएकालाई राष्ट्रिय शहीद घोषणा गर्ने मन्त्रिपरिषदको निर्णयलाई मन नपराउनेहरु सक्रिय भएको बताए । ‘जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसकै रुपमा मनाउने निर्णय र जनयुद्धका शहीदलाई पनि राष्ट्रिय शहीद घोषणा गर्ने कुराले प्रतिगामीहरु अलिकति बढी सक्रिय भएको जस्तो देखिन्छ,’ उनको भनाइ थियो ।

छलफलमा सहभागी भएका माओवादीका अन्य घटकहरुले पनि यो प्रचण्ड विरुद्धको मात्रै नभए शान्ति सम्झौताविरुद्धकै मुद्दा भएको धारणा रोखका थिए । ‘यो त तपाईंका विरुद्ध मात्रै भएन, शान्ति सम्झौताकै विरुद्ध आएपछि यो हामी सबैका विरुद्ध हो,’ नेकपा बहुमतका नेता हेमन्तप्रकाश वलीले भने, ‘संक्रमणकालीन न्याय र सत्य निरुपण तथा मेलमिलाप आयोगबाट नै समस्याको समाधान गर्नुपर्छ । यो अरु तरिकाले हुँदैन भन्ने कुरा गर्यौं।’

बैठकमा नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले पनि सर्वोच्चको आदेश प्रचण्ड विशेषविरुद्धको मुद्दा नभई शान्ति प्रक्रिया विरुद्ध नै भएको धारणा राखेका थिए । यसबाट शान्ति प्रक्रिया नै बिथोलिने र देशमा भयावह स्थिति आउनसक्ने उनले बताए ।

‘त्यो प्रचण्डप्रतिको कुनै व्यक्तिगत मुद्दा नभएर हजारौं, लाखौं मान्छेलाई लाग्ने मुद्दा हो’ गजुरेलको भनाइ थियो, ‘संक्रमणकालीन न्यायलाई खारेज गरिदिने हो भने त शान्ति प्रक्रिया पनि खारेज भइहाल्यो नि । यतिखेर देशको स्थिति भयावह हुन्छ ।’

बैठकपछि  संयुक्त वक्तव्य समेत जारी गरेका नेताहरुले यसविरुद्ध मिलेर जाने सहमति समेत गरेका छन् । ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय फेरि उल्टाउने, प्रतिगमनमा लैजाने विभिन्न चेष्टा सुरु भएको छ’ नेकपा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष विश्वभक्त दुलाल (आहुति)ले भने, ‘त्यसको प्रतिवर्तनकारी शक्तिहरुले मिलेर प्रतिरोध गर्नुपर्छ भन्ने सहमति भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?