+
+
८ मार्च विशेष :

अदालत अगाडि चिया बेचेर आफैंलाई न्याय गरिरहेकी गंगा

निसाफ दिलाउने अड्डा अगाडि बसेर चिया बेचिरहेकी गंगा आफ्नै जीवनमाथि न्याय गर्न प्रयासरत छिन् । उनी भन्छिन्, ‘गिलास माझेर छोराछोरी पढाउँछु । खुरुखुरु आफ्नो काम नगरेर, राजनीति र नेताका कुरा किन गर्ने, भयो नगर्ने !’

सागर चन्द सागर चन्द
२०७९ फागुन २४ गते २०:३०
आफ्नै चिया पसलमा गंगा थापा ।

२४ फागुन, ललितपुर । जिल्ला अदालत ललितपुर अगाडि फुटपाथ किनारमा नीलो पाल टाँगिएको छ । त्यही पालको छानामुनि गंगा थापाको चिया दुकान छ । १२ वर्ष भयो गंगाले यहाँ वरिपरि रहेका सरकारी अड्डा मालपोत, विद्युत् प्राधिकरण र अदालतका कर्मचारीलाई चिया ‘सर्भ’ गर्न थालेको ।

यी १२ वर्षमा देश र उनका वरिपरि धेरै परिवर्तन भए । उनले चिया खुवाएका सयौं कर्मचारी परिवर्तन भए । मुलुकले नयाँ संविधान पायो, दुई चुनाव भोगिसक्यो देशले । व्यवस्था र अवस्था बदल्न भएका भनिएका यी परिवर्तनसँग गंगालाई खास मोह छैन ।

‘हाम्लाई के गर्देको छ र’, एक हातले चिया चलाउँदै गरेकी उनी अर्को हातले मोबाइलमा टिकटक भिडियो स्क्रोल गर्दैछिन् । मोबाइल स्क्रिनबाट टाउको नउठाइकनै उनले फेरि भनिन्, ‘जो आए पनि, जे भए पनि हाम्लाई हुने केही होइन ।’

२०७१ सालसम्म उनी सडक किनारमा ठेलामा व्यापार गर्थिन् । २०७१ मंसिरमा नेपालले आयोजना गरेको सार्क शिखर सम्मेलनका कारण गंगाको ठेला खोसियो । ‘त्यसबेला ७ देशका नेता आउँदा रोडबाट ठेला हटाइयो’, त्यसपछि गंगाले फेरि ठेला किन्ने हिम्मत गरिनन् । सडकबाट ठेला खोसिएपछि उनी फुटपाथमा पुगिन् । त्यसयता हिउँद, बर्खाका दिन उनले यही पालमुनि चिया उमालेर बिताइरहेकी छिन् ।

सरकारी अड्डामा आउने सेवाग्राही र कर्मचारी उनको चिया दुकानमा बसेर राजनीतिका गफ गर्छन् । उनी गफ सुन्छिन तर, सहभागी हुँदिनन् ।

‘किन ?’

‘नेताका पनि के कुरा गर्नु त’, नेताहरु कुरा गर्न लायक पनि होइनन् गंगाको विचारमा, ‘तिनीहरुले जे गरे पनि हुन्छ । हामीले यहाँ काम नगरी हुँदैन ।’

३२ वर्षकी गंगालाई लाग्छ ‘देश खत्तम भइसक्यो ।’ मोबाइल स्क्रिनको टिकटकबाट नजर हटाउँदै उनले देश खत्तम हुनुको कारण सुनाइन्, ‘ग्याँस (खाना पकाउने ग्याँस प्रति सिलिण्डर) १८ सय पुगिसक्यो । आधा लिटर दूधको ४५ रुपैयाँ पुग्यो ।’

एक हप्ता अगाडिसम्म उनी ५० रुपैयाँ तिर्थिन् दूधलाई । ‘सरकारले घटायो भन्छन्’ गंगा सुनाउँछिन्, ‘भोलिबाट फेरि ५० रुपैयाँ तिर्नुपर्छ भन्या छ पसलेले ।’

दूधको मूल्य घटेको हो कि होइन भनेर उनी चिया दुकानमा बसेका ग्राहकलाई सोध्छिन् । जवाफमा कसैले हो भन्छन्, कसैले छैन । यो अन्योलबीच उनलाई दूधको मूल्य बढी तिर्नु परेका कारण होइन चियाको भाउ बढाउन नसकेका कारण पीर परेको हो । महँगो भयो भने ग्राहक घट्लान् भनेर उनले एक गिलास चियाको २० रुपैयाँबाट बढाएकी छैनन् ।

महंगीको यो किस्सा सकिएकै थिएन सहकारीका कर्मचारी बचत उठाउन आइपुगे गंगाको दुकानमा । सहकारीको कर्मचारी देख्नेबित्तिकै उनले गुनासो गरिन्, ‘भाँडा माझेर जम्मा गरेको पैसा, अस्ति २० हजारको चेक लिएर गएँ पैसा दिएनन् ।’

चिया दुकानका ग्राहकले सहकारीहरु डुबिरहेको किस्सा सुनाए । गंगा डराइन्, उनले सहकारी कर्मचारीलाई भनिन्, ‘अबदेखि त नराख्ने म भो, भाँडा माझेर कमाको पैसा डुब्यो भने ।’

महंगी र पैसाको चियागफ फेरि सुरु भयो । बाटोको दुकान न हो, कोही न कोही आइपुग्छन् । आर्यघाट मलामी गएर फर्किएका एक चिया पारखी आइपुगे गंगाको चिया दुकानमा । गफिंदै गर्दा थाहा लाग्यो दुई हप्ता अगाडि गंगाका बुबा बितेका रहेछन् ।

मलामी गएर फर्किएकासँग गफिंदै गंगाले आर्यघाटको महँगी सुनाइन् । ‘मिसिनमा जलाएको ४५ सय लिंदा रैछन्’, आर्यघाटमा अन्तिम संस्कारको पनि दररेट सुनेर छक्क परिन् गंगा, ‘जलाउने ठाउँ पनि सस्तो महंगो हुँदो रहेछ । ७ हजार, ४ हजार, ३ हजार रैछ बाबै !’ बुबाको अन्तिम संस्कारमा गंगाको परिवारले जम्मा गरेर २१ हजार रुपैयाँ तिर्नुपर्‍यो ।

महंगीलाई नेतासँग जोडिन गंगाले । ‘मान्छे जलाउन त धनी, गरिब छुट्याउँछन् । दुःखमा त पैसा तिर्नुपर्छ । त्यति आर्यघाट पनि फ्री गर्न सक्दैनन् यी नेताहरु ।’

राजनीतिक दल र नेताहरुसँग विरक्त लागेको छ गंगालाई । ‘तिनको पो सबै छ, जे गरेपनि हुन्छ,’ गंगा भन्छिन्, ‘हाम्ले तिनको सिको गरेर हुन्न ।’

ललितपुरको ताल्छिखेल बस्ने गंगाका तीन सन्तान छन् । तीनै जना ललितपुरको नमुना मच्छिन्द्र माविमा पढ्छन् । केही वर्ष पहिलेसम्म यो स्कुलले निःशुल्क पढाउँथ्यो । ‘अहिले त पाँच सय लिन्छन् महिनाको’, गंगाले सुनाइन् ।

‘संविधानले त सरकारी शिक्षा निःशुल्क भनेको छ नि’, चिया पसलमा कसैले भन्यो ।

‘हाम्ले पनि भनेको हो स्कुलमा । सरसफाइ गर्ने मान्छेलाई तलब दिन सरकारले बजेट दिएन अरे’ गंगाले सुनाइन्, ‘अनि हामीसँग उठाएको भन्छन् ।’

हातमुख जोर्ने बाध्यताले थिचिएकी गंगालाई राजनीति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पेवा जस्तो लाग्छ । ‘घरी शेरबहादुर आउँछ, घरी ओली, कहिले प्रचण्ड’, गंगा सुनाउँछिन्, ‘अब फेरि प्रधानमन्त्री फेरिने बेला भयो ।’

‘किन प्रधानमन्त्री फेरिने बेला भयो ?’

‘तीन जना मिलेर खाने त हुन्’ गंगाको सजिलो बुझाइ छ, ‘बाहिर झगडा गरेको देखाउँछन् भित्र पालै पालो खान्छन् ।’

केही समय अगाडिसम्म नेताहरु बालकोट, बालुवाटार, खुमलटार भेटघाटमा गएको पूरा सन्दर्भ बताउन नसकेपछि गंगा भन्छिन्, ‘घरी त्यहाँ पुग्छन् । घरी अर्को ठाउँ पुग्याछन्, घुमिफिरी उनीहरु नै हुन्छन् । यो सबै उनीहरुकै त हो नि ।’

नयाँ संविधान, लोकतान्त्रिक गणतन्त्र जस्ता शब्दावली दिनकै सुन्छिन गंगा । तर, ती शब्दावलीको गंगाको जीवनसँग कुनै साइनो छैन । ‘यस्ता कुराले हामीलाई छुँदैन, जे भनेपनि हाम्लाई के भाको छ र ?’ गंगा प्रश्न गर्छिन्, ‘हाम्लाई सुविस्ता हुने होइन । सुविस्ता त नेताहरुलाई हुने हो ।’

नागरिकता विवादपछि गृहमन्त्री र सांसद पद गुमाउन पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काम गर्न नदिएर हटाएको बुझेकी छिन् गंगाले । ‘रविले विदेशमा दुःख पाएका मान्छेको उद्धार त गर्‍या थियो’ गंगा भन्छिन्, ‘उसलाई पनि काम गर्न दिएनन् ।’

खासमा उनलाई नेताहरु नै मन पर्दैनन् । ‘हाम्रा लागि केही गरे पो मन पर्नु छ, कोही मन पर्दैनन्’, गंगा सुनाउँछिन् । तर, नेताहरुले आफ्ना लागि के गर्नुपर्ने थियो भन्ने प्रश्नको पनि ठ्याक्कै जवाफ छैन उनीसँग ।

२०७२ सालयता विद्यादेवी भण्डारी राष्ट्रपति छिन् । महिला राष्ट्रपति हुँदा महिलाको पक्षमा धेरै काम हुन्छ भन्ने आम मानिसको बुझाइ थियो । महिला पनि राज्यको प्रमुख पदमा पुग्न सक्छन् र योग्य छन् भन्ने स्थापित भयो । तर, गंगालाई भने यसले कुनै असर गरेन । ‘विद्या राष्ट्रपति भएको मलाई किन खुसी लाग्थ्यो र ?’ गंगाले प्रश्न गरिन्, ‘यताउता जाँदा पनि बाटो छेकेर दुनियाँलाई सास्ती दिने मान्छे राष्ट्रपति भाकोमा के खुसी मान्नु !’

नारीवादी विचारक सिमोन दि बोवुआरले एक अन्तर्वार्तामा तत्कालीन बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर र भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको उदाहरण दिंदै पितृसत्तात्मक व्यवस्थाको शिखरमा महिला वा पुरुष जो पुगे पनि महिलाको अवस्थामा खासै फरक नपर्ने बताएकी थिइन् ।

सिमोनले भनेकी थिइन्, ‘अहिलेको अवस्थामा सत्तासीन महिला पनि पुरुषजस्तै भइदिन्छन्  । महिलाहरु सत्तामा महिलाको प्रतीक मात्र बन्छन् । तर, यो पुरुषवादी तन्त्रमा सत्तासीन महिला पुरुषका लागि पुरुषले जस्तै तरिकाले काम गर्छन् । महिला राष्ट्रपतिले पनि पुरुष राष्ट्रपतिले जे गर्थे, त्यही गर्ने हुन् । यो व्यवस्थामा सामेल भइसकेपछि त्यसको केन्द्रमा महिला वा पुरुष जो पुगे पनि नयाँ केही गर्दैनन् ।’

निसाफ दिलाउने अड्डा अगाडि बसेर चिया बेचिरहेकी गंगा आफ्नै जीवनमाथि न्याय गर्न प्रयासरत छिन् । ‘गिलास माझेर आको पैसाले छोराछोरी पढाउँछु । उनीरुलाई राम्रोसँग लेखपढ गराएर राम्रो गर्न पाए हुन्थ्यो’, जीवन गुजारा गर्ने बाध्यताले च्यापिएकी गंगालाई राजनीति, अधिकार ‘छु मतलब !’ ‘खुरुखुरु आफ्नो काम नगरेर, राजनीति, नेताका कुरा किन गर्नु, भयो नगर्ने !’

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?