+
+

वीरगञ्ज उद्योग वाणिज्य संघको ३५ जना कार्यसमिति सदस्य निर्विरोध चयन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २४ गते २०:५६

२४ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको ३५ जना कार्य समिति सदस्य निर्विरोध चयन भएका छन् । विभिन्न क्षेत्रबाट उम्मेदवारी दिएका उद्योगी व्यवसायीले बुधबार मनोनयन फिर्ता लिएपछि कार्यसमितिका ३५ सदस्य निर्विरोध भएका हुन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघमा वाणिज्य क्षेत्र तर्फबाट १५, उद्योग क्षेत्र तर्फबाट १३, एशोसिएटका ६, सम्बद्ध (एफिलिएटेड) तर्फबाट १ जना, मनोनित ३ जना र निवर्तमान अध्यक्ष १ जना गरी ३९ जनाको कार्य समिति सदस्य हुने प्रावधान छ । जसमध्ये ३५ जना सदस्यको पूर्ति निर्वाचनबाट हुनेछ भने ३ जना सदस्य कार्य समितिको सल्लाहमा अध्यक्षले मनोनित गर्न सक्ने प्रावधान छ । निवर्तमान अध्यक्ष स्वतः कार्य समिति सदस्य हुने व्यवस्था छ ।

संघका चार क्षेत्रमध्ये तीन क्षेत्रमा उम्मेदवारी दिएका केही व्यक्तिले बुधबार उम्मेदवारी फिर्ता लिएपछि निर्वाचन गर्नुनपर्ने भएको वीरगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन कार्यालयले जनाएको छ । सोमबार मनोनयन दर्ता गराउँदा एफिलिएट (वस्तुगत) तर्फ बाहेक अन्य क्षेत्रमा आवश्यक संख्या भन्दा बढी उद्योगी व्यवसायीले कार्य समिति सदस्य बन्न इच्छा देखाएका थिए ।

उद्योग तर्फ १३ पदका लागि १८, वाणिज्य तर्फबाट १५ पदका लागि २५, एशोसिएट तर्फबाट ६ पदका लागि ८ जनाको उम्मेदवारी परेको थियो । एफिलिएट अर्थात वस्तुगत तर्फबाट १ पदका लागि बुद्धि प्रसाद पन्त (हरि) को मात्रै उम्मेदवारी परेको थियो ।

चार वटै क्षेत्रमा आवश्यक पद संख्या र उम्मेदवारी संख्या बराबर हुनेगरि बाँकी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएकोले फागुन २९ गते कार्य समिति सदस्य पदका लागि तोकिएको निर्वाचन गर्नु नपर्ने भएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता बालमुकुन्द खरेलले जानकारी दिए ।

कार्य समिति सदस्य तर्फको निर्वाचनको परिणाम घोषणा भइसकेपछि निर्वाचित कार्य समिति सदस्यहरुको बैठकमा प्रमुख निर्वाचन अधिकृतको रोहबरमा सपथ ग्रहण गर्ने र निर्वाचित सदस्यहरुबाटै पदाधिकारीहरुको निर्वाचन गराईने संघको वैधानिक व्यवस्था छ ।

फागुन ३० गते पदाधिकारीको निर्वाचन गर्ने मिति तय भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता खरेलले बताए । ‘ २९ गते कार्य समिति सदस्यहरुको सपथ गराएर ३० गते निर्वाचन गर्ने तय भएको छ ।’ उनले भने ।

कार्य समिति सदस्यहरु मध्येबाटै ११ जना पदाधिकारी चुन्नुपर्ने हुन्छ । निवर्तमान अध्यक्ष स्वतः पदेन पदाधिकारी हुन्छन् । पदाधिकारी तर्फ १ जना अध्यक्ष, ३ जना उपाध्यक्ष (उद्योग, वाणिज्य र रोजगारदाता), महासचिव १ जना, सचिव र सह सचिव २/२ जना, कोषाध्यक्ष र सह कोषाध्यक्ष १/१ जना चयन गरिन्छ ।

कार्य समितिले रोजगारदाता संयोजक चयन गर्ने र उनी नै तृतीय उपाध्यक्ष हुने संघले जनाएको छ । अध्यक्षले जुन क्षेत्रको प्रतिनीधित्व गर्छन, त्यस बाहेक अर्को क्षेत्रको प्रतिनीधित्व गर्ने व्यक्ति बरिष्ठ उपाध्यक्ष हुन्छ । बरिष्ठ उपाध्यक्ष नै अर्को पटक अध्यक्ष बन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?