
२५ फागुन, काठमाडौ । नागरिक लगानी कोषले चार वटा संस्थालाई ७ लाख ५० हजार रुपैयाँ नगद वितरण गरेको छ । बिहीबार कोषका कार्यकारी निर्देशक रमण नेपालले ती संस्थाहरुलाई चेक हस्तान्तरण गरे ।
३३ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयलाई ए डिभिजन डबल लिग खेल्न आवश्यक पर्ने खेलकुद लगायतका सामग्री खरिद गर्न १ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको कोषले जनाएको छ ।
त्यसैगरी स्वास्थ्य क्षेत्र तर्फ अशक्त, अपांगता भएका मस्कुलर डिस्ट्रोफीका बिरामीहरुको पुनर्स्थापनका लागि फिजियोथेरापी, एम्बुलेन्स र एकीकृत स्वास्थ्य शिविर सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले मस्कुलर डिस्ट्रोफी फाउण्डेशन–नेपाल, शंखरापुर काठमाडौंलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।
कोषले उपत्यका बाहिर फरक क्षमता भएका बालबालिकाहरुलाई खेलकुदको माध्यमबाट उत्साहित गर्न अपांगता भएका व्यक्तिहरुको लागि काम गर्दै आएको राप्ती बहिरा संघ दाङलाई समावेशी खेलकुद सम्बन्धी कार्यका लागि २ लाख रुपैयाँको चेक प्रदान गरेको छ ।
यो भन्दाअघि कोषले कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई अध्यापन गराइरहेको चितवनस्थित पदमपुर आधारभूत विद्यालय ढेढौलीलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको थियो ।
चेक हस्तान्तरण कार्यक्रममा कोषका कार्यकारी निर्देशक नेपालले कोषले विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्दे आइरहेको र आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने बताए ।
प्रतिक्रिया 4