+

सास फेर्ने पनि तरिका हुन्छ ?

२०७९ फागुन  २६ गते १२:५३ २०७९ फागुन २६ गते १२:५३
सास फेर्ने पनि तरिका हुन्छ ?

स्वस्थ रहन धेरै पानी पिउने, सन्तुलित खाना खाने, सरसफाइ गर्ने जस्ता विभिन्न पक्षमा हामी ध्यान दिन्छौं । तर जीवित रहने एक मात्र माध्यम सासलाई भने त्यति चासो दिंदैनौं । कारण श्वास स्वत: आउँछ, यसको लागि कुनै मेहनत गर्नुपर्दैन ।

यद्यपि सहजै आउने सास लिने पनि तरिका हुन्छ भन्ने कुरा हामीमध्ये धेरैलाई हेक्का हुँदैन । सुन्दा अचम्म लाग्न सक्छ, तर वास्तवमै श्वासलाई सही ढंगले ग्रहण गर्न सकेमा दीर्घ जीवन पाउन सकिन्छ ।

सामान्यतः स्वतःस्फूर्त सास लिने र छाड्ने क्रिया हामी गरिरहेका हुन्छौं । तर यो साधारण श्वास फेराइले शरीरलाई पर्याीत अक्सिजन नपुग्न सक्छ । त्यसैले श्वास फेर्नुको पनि खास नियम छ, गहिरिएर सास लिने र छाड्ने । यो प्रक्रिया अपनाएर शरीरलाई पर्याप्त मात्रामा अक्सिजन परिपूर्ति हुन्छ ।

बालबालिकाले फोक्सोको माध्यमबाट त्यसको तलको भागमा हुने डायफ्रामलाई फैलाएर सास फेर्छन्, जुन स्वस्थ हुन पर्याप्त हुन्छ । उनीहरु गहिरो निद्रामा जाने, सानो कुराले एकैछिनमा खुसी हुने, कोहीसँग रिस उठे पनि केही क्षणमै भुल्न सक्ने कारण पनि उनीहरुमा हुने सही तरिकाको श्वासको कारण हो ।

तर उमेर बढेसँगै सास फेर्ने तरिकाको सन्तुलन बिग्रिंदै जान्छ । जति हाम्रो उमेर बढ्दै जान्छ, त्यति धेरै व्यक्तिको संगत, विभिन्न नाता, सम्बन्धबीच उथलपुथल हुन्छ । त्यो उथलपुथलको भावना सासको माध्यमबाट व्यक्तिले प्रकट गरिरहेको हुन्छ, जसले सासलाई असर गर्छ ।

श्वासप्रश्वास राम्रोसँग नहुँदा छिटो-छिटो सास लिने क्रिया बढ्न सक्छ जसले अक्सिजन मात्र कम हुने मात्र नभई आयु पनि घटाइदिन्छ । जस्तै, कसैसँग केही कुरामा चित्त नबुझेर कोही व्यक्तिलाई रिस उठ्यो भने उसले नाकबाट छिटो-छिटो सास फेर्छ, जसले उसको स्वास्थ्यमा पनि असर पारिरहेको हुन्छ । शरीर अस्वस्थ हुनु भनेको आयु घट्नु पनि हो ।

सही तरिकाले सास फेर्ने तरिका

सास सही ढंगले फेर्ने पूर्ण योगिक श्वसनदेखि कपालभाँती, भास्त्रिका प्राणायाम, नाडीसोधन प्राणायाम, उज्ज्यी प्राणायाम जस्ता विभिन्न प्राणायाम गर्न सकिन्छ । यी विभिन्न प्राणायाम विभिन्न तरिकाले श्वास फेरिन्छ ।

पूर्ण योगिक श्वसनमा आरामसँग बस्ने, सास लिंदा पेट, फोक्सो फुलाउनुपर्छ । सास फेर्ने अवधि जतिसक्दो लामो र गहिरो बनाउने प्रयास गर्ने, श्वास आउँदा पेटको भित्री भागबाट आउँदै गरेको महसुस हुनुपर्छ । यसले दिमागलाई शान्त बनाउनेदेखि मानिसलाई स्वस्थ र निरोगी बनाउँछ । त्यस्तै, सुर्दशन क्रिया लयबद्ध रुपले श्वास फेरिन्छ ।

उज्ज्यी प्राणायामलाई विजयी सास फेर्ने प्राणायाम भनिन्छ । यसले ध्यान केन्द्रित गराउने, विभिन्न रोग निवारण गर्ने, दिमागलाई शान्त राख्न मद्दत गर्ने लगायत थुप्रै फाइदा छन् । भास्त्रिका प्राणायाममा दबाबपूर्ण रुपमा सास लिएर छाड्नुपर्छ । कपालभाँती प्राणायाम गर्दा भित्रको सास बाहिर छाड्ने प्रक्रिया हो । यसो गर्दा नाइटोको वरपर क्षेत्रलाई हल्लाउँदै श्वास तान्नुपर्छ । सुदर्शन क्रिया एक सहज लयबद्ध शक्तिशाली प्राणायाम हो । जो विशिष्ट प्राकृतिक सास लिने प्रक्रियाबाट शरीर, मन र भावनालाई एक लयमा ल्याउँछ । सुदर्शन क्रियाले एक विशिष्ट गहिराइ प्रदान गर्छ । यसले गहिरो निद्रा लगाउने, शरीरमा ऊर्जा दिनुका साथै प्रसन्नता र शान्ति दिन्छ ।

यी प्राणायाम बिहानको समय गर्नु निकै राम्रो मानिन्छ । तर फुर्सद छ भने दिउँसो र साँझ पनि गर्न सकिन्छ । प्राणायाम प्रशिक्षकको सहयोगमा मात्र गर्नु राम्रो हुन्छ ।

सास फेर्ने तरिका अपनाउनुका धेरै फाइदा छन् । भावना र आवेगलाई नियन्त्रण गर्न क्षमता विकास गरी रिस, क्रोधबाट टाढा राख्न सकिन्छ ।

जीवनमा घट्ने विभिन्न घटनालाई आधार मानेर दिमागमा बन्ने प्रभाव जस्तै तनाव, दुविधा, बेचैनी, इष्र्यालाई नियन्त्रण गर्न श्वासप्रश्वासको भूमिका हुन्छ । जसले व्यक्तिको आयुलाई बढावा दिन्छ  ।

सही तरिकाको सास फेराइले पढाइलेखाइमा एकाग्रता बढाउने, शरीरबाट विकार हटाउने, सकारात्मक सोचको विकास गराउने कार्य गर्छ ।

सबै मान्छेले उही गतिमा उत्तिनै मात्रामा सास लिइरहेका हुन्छन् ?

कुनै व्यक्तिले उही गतिमा उत्तिनै मात्रामा सास लिन सक्दैनन् । यो व्यक्तिको अवस्था र समयअनुसार गति फरक-फरक हुन्छ । प्रायः व्यक्ति सुतिरहेको अवस्थामा लामो श्वास लिने र फाल्ने गर्छन् । तर भयावह सपना देखिरहेको व्यक्ति छिटो-छिटो श्वास फेरिरहेका हुन्छन् । दिनमा व्यक्ति रिसमा छ भने छिटो सास फेर्छ भने दुःखी हुँदा सास छिटो लिने र फाल्ने गति सुस्त हुन्छ ।

खुसी हुँदा सास छिटो लिने र  छोड्ने प्रक्रियामा ढिलो हुन्छ । त्यसैले व्यक्तिकै पलपलमा सासको गति फरक हुन्छ, जसकारण सबै व्यक्तिको सास लिने क्रिया एकनासको हुन सक्दैन ।

(बस्नेत आर्ट अफ लिभिङकी योग प्रशिक्षक हुन् ।)

जीवन श्वास
लेखक
श्रेस्‍ना बस्नेत (सुवर्ण)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय