+
+
ब्लग :

१४ वर्षमा स्ववियु फर्कियोस्

स्ववियु सधैं राजनीतिक हस्तक्षेपको चपेटामा पर्ने गरेको छ । अति दलीयकरण हुँदा स्ववियु निर्वाचनलाई राजनीतिक पार्टीको इज्जतसँग जोडेर हेर्न थालिएको छ । यसले शैक्षिक मुद्दा र आयाम कमजोर बन्ने गरेको छ ।

योगराज दाहाल योगराज दाहाल
२०७९ फागुन २६ गते १४:१८

बनारसमा अध्ययनरत नेपाली विद्यार्थीले १९९१ सालमा ‘नेपाली छात्र संघ’ स्थापना गरेसँगै नेपालमा संगठित रूपमा विद्यार्थी राजनीतिको सुरु भएको इतिहास भेटिन्छ । यस्तै संस्कृतसँगै अन्य थप विषय पनि पढाइनुपर्ने माग राख्दै काठमाडौंको तीनधारा संस्कृत पाठशालामा २००४ सालमा भएको विद्यार्थी आन्दोलन ‘जयतु संस्कृतम्’ विद्यार्थी आन्दोलनको शुरुआतको रूपमा हेरिन्छ ।

२००६ सालतिर नेपाल राष्ट्रिय विद्यार्थी फेडरेस (नेराविफे) स्थापना भएको थियो । २०२७ सालमा विधिवत् रूपमा नेपाल विद्यार्थी संघको स्थापना भएको हो । २०२२ सालबाट क्याम्पसमा मात्र गतिविधि सञ्चालन गर्न पाउने गरी विद्यार्थी संगठन खोल्न अनुमति प्राप्त हुनुका साथै स्ववियु स्थापना भयो । २०१९ सालबाट विकास भएको स्ववियुको अवधारणा २०३६ सालको जनमत संग्रहले स्ववियुको मुद्दा स्थापित गरायो ।

तर, २०४६ सालसम्म नै विद्यार्थी संगठनहरू निरंकुश शासनको कोपभाजनमा परिरहे । हाल २० भन्दा बढी विद्यार्थी संगठन अस्तित्वमा रहेका छन् । नेपालको शैक्षिक तथा राजनैतिक परिवर्तनमा स्ववियु र विद्यार्थी संगठनको महत्वपूर्ण भूमिका रहेको छ । वि.सं. २०३६, २०४६, २०६२/६३ लगायतको समयमा सञ्चालित ठूलाठूला आन्दोलनले नेपालको सामाजिक–सांस्कृतिक परिवर्तन, शैक्षिक विकास तथा सामाजिक न्याय प्राप्ति भएका छन् र यसका लागि विद्यार्थी संगठन सधैं एकजुट भएर महत्वपूर्ण भूमिका निर्वाह गरेको गौरवपूर्ण इतिहास छ ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीको सामूहिक आवाज हो । यसको निर्वाचन नियमित हुन आवश्यक छ । परिवर्तित सन्दर्भमा स्ववियुका विगतका उद्देश्य केही फेरिएको अवस्था छ तर यसको महत्व भने घटेको छैन ।

योगराज दाहाल

पछिल्लो पटक ५ चैत २०६५ पछि स्ववियु चुनाव लामो समयसम्म हुन नसक्नु दुःखद छ । ढिलै भए पनि हामी यही वर्ष चैतमा हुने स्ववियु निर्वाचनमा जुटिरहेका छौं, यसबाट विद्यार्थीलाई नयाँ आशाको सञ्चार भएको छ ।

नियमित स्ववियु निर्वाचन हुन नसक्दा कतिपय विद्यार्थीका समस्याको सम्बोधन हुनसकेको छैन । स्ववियु सबै विद्यार्थीको साझा मञ्च हो । स्ववियु निर्वाचन विद्यार्थीले आफ्ना प्रतिनिधि छान्न पाउने अवसर हो । स्नातक तहमा विद्यार्थीको अध्ययन अवधि अधिकतम १० सेमेष्टर (करिब ५ वर्ष) रहेको पाइन्छ । २०६५ सालदेखि यता हालसम्म थुप्रै विद्यार्थीले आफ्नो प्रतिनिधि छान्नबाट वञ्चित भएका छन् ।

विद्यार्थी संगठनले स्ववियुलाई राजनीतिक लाभको उद्देश्यबाट मात्रै हेर्नुहुँदैन । यसलाई त परिवर्तित सन्दर्भमा नेपालको शैक्षिक विकासको लागि विमर्श, योजना निर्माण गर्ने योजना आयोगको रूपमा हेरिनुपर्छ ।

त्रिभुवन विश्वविद्यालय तथा यस मातहतका क्याम्पसमा हुने गरेका थुप्रै बेथितिको समाधान गर्न स्ववियुले महत्वपूर्ण भूमिका खेल्नुपर्छ । पछिल्लो पटक अधिकांश विद्यार्थी विद्यालयको शिक्षा पूरा गरेपछि विदेश गएर अध्ययन गर्ने प्रवृत्ति बढिरहेको छ ।

यो सन्दर्भमा यही देशमा गुणस्तरीय र सीपमूलक शिक्षा पाउने र रोजगारको अवसर पाउने शैक्षिक गुणस्तर विकास गर्न स्ववियुले अग्रपंक्तिमा उभिएर आवाज उठाउनुपर्छ । अतः स्ववियुलाई राजनीतिक थलो भन्दा शैक्षिक विकास तथा समग्र नेपालको भविष्यको योजना विकास गर्ने सबै विद्यार्थीको साझा थलोका रूपमा बुझ्न आवश्यक छ ।

नितान्त राजनीतिक प्रयोजनका लागि स्ववियुको प्रयोग गरिनु गलत हो । स्ववियु प्रथमतः शैक्षिक विकास तथा विद्यार्थी हकहितमा नै केन्द्रित हुन जरूरी छ । तर स्ववियुबाट नै नेतृत्व क्षमता बढाएर भोलि गएर देशकै नेतृत्वको निर्माण गर्न सक्ने सकारात्मक पक्षलाई भने सधैं आत्मसात् गर्नुपर्छ । स्ववियु निर्वाचन नेतृत्व निर्माण गर्ने अवसर पनि हो ।

स्ववियु सधैं राजनीतिक हस्तक्षेपको चपेटामा पर्ने गरेको छ । अति दलीयकरण हुँदा स्ववियु निर्वाचनलाई राजनीतिक पार्टीको इज्जतसँग जोडेर हेर्न थालिएको छ । यसले शैक्षिक मुद्दा र आयाम कमजोर बन्ने गरेको छ ।

यस्तो प्रवृत्तिमा न्यूनीकरण गर्दै विद्यार्थी संगठनसँग आत्मनिर्णयको अधिकार हुनु आवश्यक छ । स्ववियुलाई गलत प्रमाणित गरेर विद्यार्थी आन्दोलनलाई तुहाउने प्रयास कोही कतैबाट पनि हुनुहुँदैन । स्ववियुको औचित्य कायम राख्न स्ववियु निर्वाचन नियमित हुन आवश्यक छ ।

हाल शिक्षाको नाममा भएको व्यापार बन्द गरी शिक्षालाई विद्यार्थीको क्षमता विकास, रोजगारी प्राप्ति तथा देशको शैक्षिक विकास र समग्र उन्नतिसँग जोड्न सक्ने शैक्षिक नेतृत्व स्ववियु निर्वाचनबाट आउनुपर्छ । संघीय गणतान्त्रिक मुलुक नेपालको वर्तमान अवस्था अनुसार विद्यार्थी संगठनहरूले आफ्ना पञ्चायतकालीन सोच तथा धारणालाई बदलेर समयानुकूल बनाउन आवश्यक छ ।

स्ववियु निर्वाचन विद्यार्थीको झगडाको मैदान होइन, लोकतान्त्रिक अभ्यास, आचरण तथा लोकतान्त्रिक मूल्यमान्यता विकास गर्ने थलो हो । स्ववियु निर्वाचन पनि सिकाइ हो । यो देशको नेतृत्व निर्माण गर्ने थलो हो । लोकतान्त्रिक संस्कार विकास गर्ने माध्यम हो ।

विद्यार्थी संगठन र विद्यार्थीले विभिन्न समयमा गरेका आन्दोलनमा विश्वविद्यालयले गरेका सम्झौता कार्यान्वयन गर्न, नीति निर्माण र कार्यान्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसहरूमा शैक्षिक वातावरण कायम र विद्यार्थीको चौतर्फी विकास गर्ने वैधानिक संस्थालाई व्यवस्थित गर्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्नु अपरिहार्य रहेको छ ।

उच्च शिक्षा अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको लागि प्रत्येक क्याम्पसमा स्ववियु गठन गर्नुको उद्देश्य विद्यार्थीको हक, हितको संरक्षण र सम्बर्धन रक्षाका लागि हो ।

क्याम्पसमा बौद्धिक र चारित्रिक विकासका कार्यक्रम बनाई कार्यान्वयन गर्न हो । विद्यार्थीको अनुशासन कायम राख्दै पठनपाठनका लागि उपयुक्त वातावरण तयार गर्न हो र अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीमा रचनात्मक क्षमता विकास गर्न हो ।

स्ववियु मार्फत असल र सक्षम नेतृत्व विकास गर्दै विद्यार्थीको आवाजलाई बलियो गरी उठाउन चुक्नुहुँदैन । विद्यार्थीको आवश्यकता, चाहना र भावनासँग नजोडिएको स्ववियुको कुनै औचित्य हुँदैन । यो विद्यार्थी एकताको जग बसाउने थलो हो । शिक्षालयको प्राज्ञिक विकास र स्वच्छ वातावरण बनाउने उद्देश्यका लागि स्ववियु परिचालित हुनुपर्छ र विद्यार्थीले यस्तो नेतृत्व छान्न सफल हुन्छन् भन्ने मेरो विश्वास छ । यसका लागि नियमित स्ववियु निर्वाचन नियमित गर्नुपर्छ ।

जो आज विद्यार्थी राजनीतिमा सक्रिय छन्, भविष्यमा न विरक्तिउन् । हिजो विद्यार्थी राजनीति हुँदै स्ववियुको नेतृत्वमा पुगेर देशको नेतृत्वमा पुगेसँगै आफ्नो धरातल नबिर्सिऊन्, स्ववियु नबिर्सिऊन् । विश्वविद्यालय नबिर्सिऊन्, सिस्टम बसाल्न पहल गरून् ।

नियमित स्ववियु निर्वाचन गर्दै नयाँ नेतृत्व जन्माउन पहल गरून् । अहिलेको विद्यार्थी राजनीतिमा उम्रेका कोपिलाहरूले चाहने कुरा नै यही हो, तर दुःखका साथ भन्नुपर्छ, यसो हुन सकिरहेको छैन ।

विश्वविद्यालय नियम र प्रणालीमा चलाउन, बिग्रेको कुरा सपार्न (सुधार्न) र खबरदारी गर्न स्ववियु चुनाव समय–समयमा हुन अति नै जरूरी एवम् आवश्यक छ । देशको सबैभन्दा पुरानो, बढी विद्यार्थी भएको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आङ्गिक क्याम्पस, मुख्य क्याम्पसको सूचीमा रहेका देशका केही क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन झण्डै १४ वर्षदेखि नहुनु विडम्बनापूर्ण अवस्था हो ।

विगतमा धेरैपटक अन्य क्याम्पसमा स्ववियु हुँदा देशका प्रमुख शहरमा रहेका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ठूला आङ्गिक क्याम्पसहरूमा मनोनयनको दिन तालाबन्दी भई स्ववियु रोकिएको इतिहास छ । यसपटक यस्तो नहोस् । यसतर्फ नेतृत्व पंक्तिको ध्यान जाओस् ।

भलै त्रिभुवन विश्वविद्यालय ठूलो र पुरानो होला; भने जस्तो, सोचे जस्तो गतिलो नहोला; नेपालको शिक्षा प्रणाली व्यावहारिक नहोला तर विद्यार्थी र शिक्षाप्रतिको अथाह माया छ । अहिले देशकै नेतृत्व गर्ने धेरै नेताको धरातल विद्यार्थी राजनीति नै हो । त्यसैले विद्यार्थीले आफ्नो मताधिकार सदुपयोग गर्दै स्ववियु मार्फत नेतृत्व चयन गर्न पाउन् ।

१२ वर्षमा पनि खोलो फर्कन्छ भन्छन् तर देशका विभिन्न क्याम्पसमा १४ वर्षमा पनि स्ववियु फर्किएको छैन । यो पटक निर्वाचन सबै क्याम्पसमा हुनैपर्छ । १४ वर्षमा स्ववियु नभएका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन फर्किनै पर्छ ।

(लेखक नेविसंघ महेन्द्र मोरङ क्याम्पसका नेता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?