+
+

प्रधानमन्त्री विरुद्धको मुद्दालाई सामान्य रुपमा लिएका छैनौं : उपप्रधानमन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते २०:०९

२६ फागुन, नवलपरासी । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दालाई आफूहरूले सामान्य रूपमा नलिएको बताएका छन् ।

बुटवल-नारायणगढ सडक विस्तारको अनुगमन गर्न शुक्रबार नवलपरासी आएका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समते रहेका श्रेष्ठले पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री प्रचण्ड विरुद्ध दायर भएको मुद्दाको व्यहोरा स्वाभाविक नभएको बताए ।

उनले अघि भने, ‘तर सत्य निरूपण तथा मेलमिलाप, बेपत्ता छानबिन जस्ता आयोगहरूले समयमै पूर्णता पाएर संक्रमणकालीन न्यायको काम छिटै सम्पन्न होस् भन्ने अदालतको सदासयता हो भने हामीले संसदमा विधेयक टेबुल गरिसकेका छौं।’

उनले उपराष्ट्रपतिको चुनाव सकिएलगत्तै सरकारको विस्तार हुने बताए । तर पार्टीबाट पठाइएका मन्त्रीहरूलाई अहिले नै फिर्ता बोलाउनेबारे आफूहरूले केही नसोचेको उनले बताए ।

बुटवल-नारायणगढ सडक विस्तारले अपेक्षित गति लिन नसक्दा जनताले सास्ती खेप्नुपरेको पत्रकारको जिज्ञासालाई मन्त्री श्रेष्ठले समयमै र गुणस्तरीय रूपमा काम सक्न चिनियाँ निर्माण कम्पनीलाई पटक-पटक ताकेता गरिएको बताए । मन्त्रालय तहबाटै अन्य सरोकार निकायसँग उचित समन्वय गरिएको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?