+
+

माओवादीले प्रतिबद्धता भुले कांग्रेस-एमाले सँगै हुनसक्छन्

कांग्रेसले प्रधानमन्त्रीलाई प्रष्ट रूपमा भन्नुपर्छ– हामीले तय गरेको साझा मार्गचित्र छ। यही साझा मार्गचित्रबाट संविधान बन्यो, त्यहीं बसिराख्दा कांग्रेसको पूर्ण समर्थन रहन्छ। हाम्रा प्रतिबद्धता कहीं पनि तल–माथि हुँदैनन्।

डा. मिनेन्द्र रिजाल डा. मिनेन्द्र रिजाल
२०७९ फागुन २७ गते १८:३९

संविधानको मर्म र भावनाप्रति कृतसंकल्पित नेता रामचन्द्र पौडेललाई राष्ट्रपति हुने अवसर प्राप्त भयो। संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामा उहाँ पूर्ण प्रतिबद्ध हुनुहुन्छ। कतिसम्म भने हरेक व्यक्तिको उपासनाको हक हनन नहोस् भन्ने उहाँको प्रतिबद्धता छ। यसअर्थमा उहाँ राष्ट्रपतिका लागि समकालीन राजनीतिको सबैभन्दा उपयुक्त व्यक्ति हो।

यदि पुस १० को राजनीतिले निरन्तरता पाएको भए सायद अहिले पराजित भएका (सुवास नेम्वाङ) राष्ट्रपति बन्नुहुन्थ्यो होला। राष्ट्रपति निर्वाचनमा सफलता प्राप्त नभएपछि उहाँ क्रियाशील राजनीतिमा नै फिर्ता हुने होला। उहाँ २०६२/६३ को आन्दोलनपछि खोजी गर्दा पाइएको असाध्यै असल र विनयशील पात्र हुनुहुन्छ। तारानाथ रानाभाटको सट्टामा उहाँ सभामुख बन्ने बाटो बन्यो। सभामुख, संविधानसभाको अध्यक्ष रहँदै संविधान निर्माणसम्म उहाँ प्रतिबद्ध देखिनुभयो।

यो पृष्ठभूमिमा दुईमध्ये जो भए पनि मुलुकले राम्रो राष्ट्रपति पाउँथ्यो। साबिकको गठबन्धन कायम रहेको भए, दुइटा कम्युनिस्ट पार्टीको बलमा, अहिले उहाँ तर उहाँको विनयशीलता भावमा होइन, विजेताको भावमा राष्ट्रपति बन्नुहुन्थ्यो।

उहाँले आफ्नो विवेकभन्दा त्यो विजेताको भावलाई प्रतिनिधित्व गर्नुपर्ने बाध्यता बन्थ्यो होला। तर सुवासजी भन्दा रामचन्द्र पौडेल अलि बढी अनुभवी हुनुहुन्छ। कांग्रेसका लागि सहज राजनीति बन्यो भन्ने अर्थमा ठीक भयो भन्न खोजेको होइन।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि संसद, सरकार, राजनीतिक नियुक्तिहरू सबै सामान्य भावबाट चलिरहेका छन्। ती भावमा विकसित हुने घटनाक्रममा रामचन्द्र पौडेल अलि बढी स्वतन्त्र रूपमा काम गर्न सक्ने व्यक्ति हुन् जस्तो लाग्छ।

उहाँ पार्टीमा एकपटक मात्र एउटा गुटको प्रतिनिधित्व गर्दै सभापतिको उम्मेदवार बन्नुभए पनि साँचो अर्थमा गुटको प्रमुख पात्र हुनुहुन्नथ्यो। महाधिवेशनको मुखमा सुशील कोइराला बित्नुभयो। त्यतिबेलाको परिस्थितिमा कोइराला समूहले संक्रमणका लागि उपयुक्त नेताका रूपमा उभ्याउने परिस्थिति बन्यो।

त्यो बाहेक उहाँ एउटा गुटसँग बाँधिएको नेता रहनुभएन। पार्टीको अघिल्लो महाधिवेशनपछि रामचन्द्र पौडेलले अलि मज्जैले झांगिएको गुटको राजनीतिमा स्थापित हुन सबै खाले प्रयत्न गर्नुभयो। त्यसका बाबजुद बहालवाला सभापतिलाई चुनौती दिने उम्मेदवार बन्न सक्नु भएन। व्यक्तिगत रूपमा हामी तीन/चार जनाले अन्तिमसम्म कोसिस गर्‍यौं। तर आकांक्षी नेताले रामचन्द्र पौडेललाई आफ्नो पक्षको सर्वसम्मत सभापतिका रूपमा अगाडि बढाउन तयार भएनन्।

आजभन्दा १४ वर्ष अगाडि २०६५ सालमा हाम्रो पार्टी सभापति गिरिजाप्रसाद कोइराला राष्ट्राध्यक्षको भूमिकामा हुनुहुन्थ्यो। उपयुक्त उम्मेदवार देखेर नै उहाँले रामचन्द्र पौडेललाई (राष्ट्रपति)मा प्रस्ताव गर्नुभयो। तर ‘अहिले मेरो बेला भएको छैन, म क्रियाशील राजनीति गर्ने मान्छे, प्रधानमन्त्री हुने कोसिस गर्छु, पार्टीको नेतृत्वमा पुग्ने कोसिस गर्छु’भन्नुभयो। उहाँसँगै डा. रामशरण महत राष्ट्रपतिमा उठ्नुपर्ला भनेर बालुवाटारबाट भागेसरी उम्किनुभयो।

यो सबै बुझेको पाको राजनीतिज्ञ प्रधानमन्त्री हुने इच्छा परित्याग गरेर राष्ट्रपतिका लागि तयार हुनुभयो। राष्ट्रपति हुने क्रममा उहाँले मुलुकको अभिभावक, संविधानको रक्षक र कुनै एउटा व्यक्ति वा आफ्नो पुरानो पार्टीको प्रभावमा नरहने प्रतिबद्धता गरेको देख्छु। त्यसअर्थमा पनि उहाँले राष्ट्रपतिका रूपमा संविधानप्रति प्रतिबद्ध रूपमा काम गर्ने सम्भावना अझ बढी देख्छु। यसरी स्वतन्त्र रूपमा काम गर्न सक्ने व्यक्ति राष्ट्रपति बन्दा मुलुकलाई राम्रो भएको छ।

दुई पूर्वराष्ट्रपतिको भूमिका

यसअघिका दुई राष्ट्रपतिको सन्दर्भलाई जोडेर हेरौं। डा. रामवरण यादव राष्ट्रपति बन्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो। माओवादीले प्रत्यक्षतर्फ २४० मध्ये १२० सिट जितेको थियो। नारायणकाजी श्रेष्ठ नेतृत्वको पार्टीलाई जोड्ने हो भने माओवादीसँग प्रत्यक्षतर्फ बहुमत थियो। प्रचण्डजी काङ्ग्रेसबाहेक प्राय सबैको समर्थनमा प्रचण्ड बहुमतले प्रधानमन्त्री बन्नुभयो। उहाँहरूले माओवादी सशस्त्र विद्रोहलाई आम नागरिकले अनुमोदन गरेर यो पदमा पुर्‍याएको छ, माओवादीको चाहना अनुरूपको संविधान बनाउने जिम्मेवारी दिएको छ भन्ने व्याख्या गर्नुभएको थियो।

जनयुद्ध दिवस मनाउने, माओवादीको मात्रै कारणले यहाँसम्म पुग्यौं,अब सबै माओवादी एक हौं भन्ने भाष्य बनाउन खोजिएको छ, यसले गठबन्धनको बाचा र प्रतिबद्धता पूरा गर्न झन् झन् कठिनाइ हुने राजनीति सिर्जना हुन्छ। त्यसैले प्रचण्डको नियतमा भन्दा राजनीतिक ठम्याइमा कहीं न कहीं खोट छ जस्तो प्रतित हुन्छ।

माओवादी अनुभवमा खारिएको थिएन। त्यसैले माओवादीले जे गरे पनि राष्ट्रपति डा. रामवरण यादवले स्वीकार गर्नुहुन्छ भन्ने बुझ्यो। माओवादीले विद्रोहीले जितेको हो, नेपाली सेना हारेको हो भन्ने विजेता भावबाट नेपाली सेनाको नेतृत्वमा परिवर्तन गर्ने प्रयत्न गर्यो। तर, डा. रामवरण यादवले मान्नु भएन। त्यसबेला उहाँले संविधानको प्रतिरक्षा गर्नुभयो/गर्नु भएन संविधानविद्हरूले बहस गर्लान्।

म राजनीतिक मान्छे भएकाले यति मात्र भन्छु— १२ बुँदे समझदारी र युगान्तकारी जनआन्दोलनबाट सुरु भएको राजनीतिक भावधारामा संविधानसभाबाट संविधान बनाउने साझा जिम्मेवारी सात राजनीतिक दल र माओवादीको थियो। तर माओवादी विजेता भावमा प्रस्तुत भएपछि डा. रामवरण यादवले प्रधानमन्त्रीले जे ग¥यो, त्यही मान्ने राष्ट्रपतिका रूपमा उहाँ देखिनुभएन। तत्कालीन बृहत् शान्ति—सम्झौताको भावधाराको राजनीतिलाई समातेर भूमिका निर्वाह गर्नुभयो।

त्यस्तै, दुई वर्षका लागि निर्वाचित भएको संविधानसभाले चार वर्षमा पनि संविधान बनाउन नसकेपछि संविधानसभा नहुने र जनप्रतिनिधिमूलक कुनै पनि संस्था नरहने अवस्था बन्यो। तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मै जनताको प्रतिनिधि हुँ, मैले भनेको बाटो हिंड्नुपर्छ भने जसरी हिंड्न खोज्नुभयो।

त्यतिबेला राष्ट्रपतिका रूपमा डा. रामवरण यादवले संविधानसभा नै सार्वभौम हो, संविधानसभा/संसद विनाको प्रधानमन्त्री आफूले चाहेको बाटो मात्र हिंड्न सक्दैन भनेर एउटा लगाम लगाउनुभयो। प्रधानमन्त्रीले भनेको नमानेर संविधानसभा स्थापनाका लागि नयाँ निर्वाचन गर्न उभिनुभयो होला। तर युगान्तकारी जनआन्दोलनले समातेको राजनीतिको भावधाराभन्दा बाहिर नगएका कारण राष्ट्रपतिका रूपमा डा. रामवरण यादवको आलोचना भएन।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकाल सक्दै हुनुहुन्छ। हिजो उहाँ राष्ट्रपति छँदा अलि कडा नै आलोचना गर्ने व्यक्ति हुँ। संसदभित्र हुँदा होस् वा बाहिर होस्, मैले टीकाटिप्पणी गर्ने गरेको छु। तर अहिले कार्यकाल सक्दै हुनुहुन्छ। गणतन्त्र नेपालको दोस्रो, त्यो पनि पहिलो महिला राष्ट्रपतिका बारेमा मैले बढी टिप्पणी गर्नु उचित हुन्न। अब विद्यादेवी भण्डारीबारे गर्ने टीकाटिप्पणी छुचो होइन, एउटा मर्यादाभित्र बसेर गर्नुपर्छ। तर एउटा परिस्थिति चाहिं बन्यो। आफूलाई चित्त बुझ्ने प्रधानमन्त्री भयो भने भनेको मान्ने, आफूलाई चित्त नबुझ्ने भए उनले भनेको चाहिं पटक्कै नमान्ने व्यक्तिका रूपमा धेरैको बुझाइ रह्यो।

त्यो बुझाइलाई ध्यानमा राख्ने हो भने अहिले पनि प्रधानमन्त्रीले आफूले भनेजस्तो राष्ट्रपति चाहिन्छ भन्ने रह्यो। व्यक्तिका रूपमा रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङका बारेमा धेरै टीकाटिप्पणी गर्नुपर्ने छैन। तर १० पुसमा जसरी सहमति बनेको थियो, त्यसअनुसार एमालेको नेता राष्ट्रपति बनेको भए प्रधानमन्त्री अथवा सत्ताको घटकको नेताले भनेको मान्ने, अरुले भनेको नमान्ने हुन्थ्यो। अझ सत्ताघटकको प्रमुख पार्टीको नेताले भनेको मान्ने, प्रधानमन्त्रीले भनेको नमान्ने राष्ट्रपति बन्ने हो कि भन्ने त्रास/संशय प्रचण्डजीमा रह्यो। यो विकल्पमा असुरक्षित हुन्छु भनेर नै उहाँ त्यहाँबाट उम्कन खोज्नुभयो र कांग्रेसले एउटा मौकाका रूपमा लिएर काम गर्न सक्यो।

तर रामचन्द्र पौडेलमा न प्रधानमन्त्रीले आफूले भनेको मान्ने राष्ट्रपति फेला पार्नुहुन्छ, न हाम्रो पार्टीका कुनै पनि नेताले ‘मैले भन्छु, रामचन्द्रजीले मान्नुहुन्छ’भन्ने भाव राख्न सक्नुहुन्छ। उहाँलाई मैले चिनेको झण्डै ४५/५० वर्ष हुन थाल्यो। उहाँ मूलतः स्वतन्त्र रूपमा आफ्नो विवेक राखेर काम गर्ने नेता हो। बीपी कोइरालाकै जीवनकालमा पनि कतिपय कुरा चित्त नबुझ्दा सान्दाजु (बीपी कोइराला)ले मन पराए पनि नपराए पनि आएर आफ्ना कुरा राख्नुहुन्थ्यो।

गणेशमानजी, किसुनजी, गिरिजाप्रसाद र अहिलेको सभापतिसँग पनि आफूलाई चित्त नबुझेको बेला अलग रूपमा उभिने गर्नुभयो। यसो गर्दा म कुनै पनि गुटको मान्छे बन्न सकिनँ, गुटको मान्छे नभएका कारण प्रमुख कार्यकारी पदमा पुग्न सकिनँ भन्ने भाव रहेको होला। गुटको मान्छे नभएका कारण पटक–पटक मेरो तेजोबध गरियो भन्ने भाव रहेको होला। उहाँले पार्टीमा आफ्नो स्वतन्त्र पहिचान राखेर, विवेकले देखे अनुसार काम गर्नुभयो। अब पनि संविधान र लोकतन्त्रको मूल्य–मान्यतासँग बाझिने गरी जो कसैले भने पनि उहाँले काम गर्नुहुन्छ भन्ने लाग्दैन।

प्रधानमन्त्रीलाई केही सुझाव

हिजोको तीन वटा तस्वीर म सम्झिइरहेको छु। शिष्टाचार पूरा गर्न रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि हाम्रो पार्टीका सभापति, प्रधानमन्त्री र एकीकृत समाजवादीका अध्यक्षलाई भेट्न जानुभयो। भित्र के भयो मलाई थाहा छैन। तर भेटमा अँगालो मारेको तस्वीर हेर्दा सबभन्दा पुराना मित्रले एकअर्काको कर्तव्य पूरा गरेकोमा खुशी व्यक्त गरे जस्तो देखिन्छ।

कांग्रेसको तर्फबाट धोका नहोस्, उहाँले चाहेको हाम्रो प्रतिबद्धता पनि पूरा होस्। देश अस्थिरताको चक्रव्यूहमा नपरोस् र गठबन्धनको सोचअनुसार कम्तीमा पाँच वर्ष देश चलोस्। यसका लागि १२ बुँदे समझदारी, विस्तृत शान्तिसम्झौता र संविधानलाई केन्द्रमा राख्ने राजनीतिलाई बोक्नुपर्छ।

प्रधानमन्त्रीले कसिलोसँग अँगालो मारेको जस्तो देख्छु। अलिकति कृत्रिमता पनि देख्छु। नवनिर्वाचित राष्ट्रपतिमा धन्यवादको भाव छ, प्रधानमन्त्रीमा चाहिं कसिलो अंकमाल गर्दा मलाई तल–माथि नगर्नुहोला नि भन्ने जस्तो देखिन्छ। मेरो आग्रहपूर्ण हेराइ पनि होला, तर आउने दिनको राजनीतिले देखाउला!

‘केपी शर्मा ओलीले भनेको मान्छेलाई राष्ट्रपति बनाउँदा मेरो काम गर्ने स्वतन्त्रता रहने छैन, कसैको आदेशमा चल्नुपर्ने प्रधानमन्त्री हुनुपर्ने बाध्यता सिर्जना हुनसक्छ, त्यसरी नचलेको अवस्थामा प्रधानमन्त्री पद नै जोखिममा पर्नेछ’भन्ने प्रचण्डजीको मनमा एउटा त्रास र संशय थियो। त्यसैले उहाँले नयाँ गठबन्धन खोजी गर्नुभयो।

यता, कांग्रेसलाई पनि पुस १० गते भएको क्षतिलाई पनि कम गर्नुपर्ने थियो, कांग्रेसलाई सहज बाटो भयो। एउटै गठबन्धनमा हुनुहुन्छ वा हाम्रो समर्थनबाट एउटा समयसम्म उहाँ प्रधानमन्त्रीमा रहनुहुनेछ भनेर पनि होइन। राजनीतिमा दुर्घटना नहोस् भनेर प्रचण्डजीलाई मेरा केही सुझाव दिन चाहन्छु। कांग्रेसबाट धोकाको नियतबाट केही काम हुन्न। प्रचण्डलाई हटाए आफू प्रधानमन्त्री हुन सकिन्छ भन्ने सोचका साथ काम हुन्न। तर कांग्रेसले बोक्न नसक्ने खालको राजनीतिलाई समात्नुभयो भने समस्या हुन्छ।

कांग्रेसको राजनीति एउटा संक्रमणको चरणमा छ। यसको महाधिवेशन आउन कम्तीमा तीन र बढीमा साढे चार वर्ष बाँकी छ, तर पनि अर्को महाधिवेशनमा के हुने हो भन्ने सोच मज्जाले झांगिएको छ। यो अवस्थामा प्रचण्डले कांग्रेसको मूल राजनीतिलाई ध्यान दिनुपर्ने हुन्छ।

प्रष्ट भाषामा भन्दा हिजो नेपाली सेनाको प्रधानसेनापति रुक्माङ्गद कटवाललाई हटाउने अथवा पशुपतिनाथमा मूल पुजारी हटाउने राजनीति पुनः समात्नु पर्ला कि जस्तो भाव प्रचण्डमा देख्छु। १ फागुन २०५२ सालदेखि सशस्त्र विद्रोहलाई उहाँहरू जनयुद्ध भन्नुहुन्छ।‘जनयुद्ध’भन्ने शब्दलाई अहिलेसम्म स्वीकार नगर्ने (मूल नेतृत्वले अहिलेको अवस्थामा प्रतिवाद नगरेको भए पनि) पार्टी कांग्रेस मात्रै हो।

पहिलो संविधानसभा निर्वाचनपछि प्रचण्ड नेतृत्वको सरकारको नीति तथा कार्यक्रममा जनयुद्ध शब्द प्रयोग गर्दा त्यो पदावली हटाइयोस् भनेर मैले नेपाली कांग्रेसको तर्फबाट संशोधन प्रस्तुत गरेको थिएँ। अहिले फेरि प्रचण्डजीले त्यो पदावली कांग्रेसले पनि स्वीकार गर्छ वा संक्रमणकालीन न्यायका काम पूरा गर्न उहाँले देखेको बाटोबाट हिंड्नुपर्छ वा नेपालको राजनीति माओवादीका कारण यहाँसम्म आएको हो, अरु विषय प्रमुख थिएन भन्ने व्याख्या गर्नुभयो भने त्यो राजनीतिलाई बोकिराख्न कांग्रेसलाई कठिनाइ हुन्छ। सबै नेताहरूले धोका दिन्न भन्ने सोचे पनि कांग्रेसले त्यो राजनीतिलाई लामो समयसम्म बोक्न सक्दैन। म कांग्रेसको मान्छे हुँ र कांग्रेसका मान्छेहरूको सोचको प्रतिनिधित्व गर्छु। कांग्रेसको तलसम्मको राजनीतिको भाव हो।

त्यसैले कांग्रेसको तर्फबाट धोका नहोस्, उहाँले चाहेको हाम्रो प्रतिबद्धता पनि पूरा होस्। देश अस्थिरताको चक्रव्यूहमा नपरोस् र गठबन्धनको सोचअनुसार कम्तीमा पाँच वर्ष देश चलोस्। यसका लागि १२ बुँदे समझदारी, विस्तृत शान्तिसम्झौता र संविधानलाई केन्द्रमा राख्ने राजनीतिलाई बोक्नुपर्छ। तत्कालीन माओवादी र सात राजनीतिक दल (कम्तीमा त्यसको मूल नेतृत्वमा रहेको नेपाली कांग्रेस र माओवादी)को साझा राजनीति नै अहिलेको गठबन्धन राजनीति हुनुपर्छ।

त्यसैले प्रचण्डजीले यही भावलाई मूल राजनीति भनेर बुझेको दिनसम्म राष्ट्रपति रामचन्द्र पौडेल उहाँको सबैभन्दा बलियो सहयोगी बन्नुहुन्छ। त्यसो गर्नुभएन भने राष्ट्रपतिबाट सहयोग खोज्नु र कांग्रेसबाट समर्थन पाइराखिन्छ भन्नु अनुचित हुन्छ।  शान्ति प्रक्रियाका बाँकी काममा मूलतः कांग्रेस, माओवादी र नेपाली सेनाको विशेष‘स्टेक’ छ।

त्यसैले सँगै बसेर हिंड्न सजिलो होला। संक्रमणकालीन न्यायका कामलाई टुंग्याउने र देशलाई शान्ति, सुशासन र समृद्धिको यात्रामा लैजाने हो भने यस्तो राजनीति सिर्जना गर्नुभएन, जसले गर्दा एजेन्डागत रूपमा एमाले र कांग्रेस सँगै उभिनुपरोस्।

यस्तो बाध्यतात्मक अवस्था बन्यो भने एमाले र कांग्रेस एक ठाउँमा उभिनुपर्ने हुनसक्छ। फलस्वरूप प्रधानमन्त्री र माओवादीबाट कांग्रेस अलग हुनुपर्ने अवस्था सृजना हुनसक्छ। त्यसैले प्रधानमन्त्रीले शान्ति प्रक्रिया मात्र होइन, मुलुकको राजनीतिलाई सञ्चालन गर्दा सात दल र माओवादीले साझा रूपमा समातेको बाटोमा हिंड्नुभयो भने कहीं कठिनाइ हुन्न।

आज एमालेमा विकास भएको प्रतिशोधको भाव पनि मत्थर हुँदै जान्छ। अर्को बाटो हिंड्नुभयो भने एमालेले पनि धोकाको बदला धोका भन्ने बाटो लिन सक्ला, कांग्रेसले पनि प्रचण्डको त्यो बाटोलाई थेग्न नसक्ला। यसले प्रचण्डजीलाई प्रधानमन्त्री भइराख्न पनि कठिनाइ होला। योभन्दा ठूलो कुरा मुलुकमा थप अप्ठ्यारो राजनीतिको सिलसिला सुरु हुन्छ र हामीले झन् बढी दुःख पाउँछौं।

यसो नहोस् भन्ने मेरो चाहना छ। यसकारण कि, एउटा सहमतिका साथ एउटा समयसम्म कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री मान्छ। पार्टी र लोकतान्त्रिक आन्दोलनमा लामो समय बिताएका एकजना निष्ठावान नेतालाई माओवादीकै सहयोगमा भर्खरै राष्ट्रपति निर्वाचित गरिएको छ। यतिबेला हामी प्रतिबद्धताभन्दा बाहिर बसेर काम गर्नुहुँदैन। तर, सँगसँगै कांग्रेसले प्रधानमन्त्रीलाई प्रष्ट रूपमा भन्नुपर्छ– हामीले तय गरेको साझा मार्गचित्र छ। यही साझा मार्गचित्रबाट संविधान बन्यो, त्यहीं बसिराख्दा कांग्रेसको पूर्ण समर्थन रहन्छ। हाम्रा प्रतिबद्धता कहीं पनि तल–माथि हुँदैनन्। काम गर्नका लागि हामी देशभित्र र बाहिर पनि वातावरण बनाउँछौं। तर त्यो प्रतिबद्धता र साझा राजनीतिक भावधारा भन्दा बाहिर जानुभयो भने हामी सहयोग गर्न नसक्ने अवस्थामा हुन्छौं। यो भन्न सक्नुपर्छ, यसो भन्न नसक्दा हामी चुकेका ठहर्नेछौं।

कतिपयले भने जस्तो प्रचण्डले शान्ति प्रक्रिया टुंग्याउन नखोजेको हो भन्ने कुरा म स्वीकार्दिनँ। प्रधानमन्त्री पदसँगै आउने चकाचौधको राजनीतिमा हरेक पल्ट मस्त भएको देख्छु। तर चकाचौधको राजनीतिमा शान्ति प्रक्रिया टुंग्याउने काम उहाँको प्राथमिकतामा नपरेको हो। अहिले अदालत र अन्य राजनीतिक दलका कारण यो प्रक्रिया प्राथमिकतामा परेको हुनसक्ला, तर प्रचण्डको प्राथमिकतामा पर्नै पर्ने अवस्था सृजना होला।

शान्ति प्रक्रिया पूरा नहुँदा पूर्वमाओवादीका नेतासँगै अन्य दलका नेतालाई पनि जोखिम पर्न सक्छ। सशस्त्र द्वन्द्वको पक्ष र विपक्षमा रहेका सबैलाई जोखिम होला। तर शान्ति प्रक्रिया पूरा गर्न माओवादीहरू एक हुनुपर्छ भन्ने भाष्य बनाउन खोज्नुभएको छ। जनयुद्ध दिवस मनाउने, माओवादीको मात्रै कारणले यहाँसम्म पुग्यौं, हामीविरुद्ध षड्यन्त्र भइरहेको छ, अब सबै माओवादी एक हौं भन्ने भाष्य बनाउन खोजिएको छ, यसले गठबन्धनको बाचा र प्रतिबद्धता पूरा गर्न झन् झन् कठिनाइ हुने राजनीति सिर्जना हुन्छ। त्यसैले प्रचण्डको नियतमा भन्दा राजनीतिक ठम्याइमा कहीं न कहीं खोट छ जस्तो प्रतित हुन्छ।

एउटा नागरिक, कांग्रेसजन, लडाकु पुनर्स्थापनामा पाँच वर्षभन्दा लामो र पूरै अवधि विशेष समितिको सदस्यका रूपमा काम गरेको र संक्रमणकालीन न्यायको विषयमा पनि संलग्न रहेको मानिसको रूपमा प्रधानमन्त्रीलाई यति भन्छु, चकाचौधको राजनीतिले बालुवाटारमा बस्दा आफ्नो राजनीतिक तागत केही कम नभए जस्तो लाग्छ। बालुवाटारबाट निस्किएको दिनमा राजनीतिमा आइसकेको परिर्वतन थाहा हुन्छ।

(कांग्रेस नेता रिजालसँग अनलाइनखबरका राजकुमार श्रेष्ठले गरेको कुराकानीमा आधारित)

लेखकको बारेमा
डा. मिनेन्द्र रिजाल

डा. मिनेन्द्र रिजाल नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?