+
+

माओवादी घटकहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते ६:५१

२८ फागुन, काठमाडौं । विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका माओवादी घटकहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछन् ।

दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा पत्रकार सम्मेलन आयोजना गरिने नेकपा माओवादी केन्द्रका पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि नजिकिएका माओवादी घटकहरुको फागुन २६ गते बसेको बैठकले २८ गते संयुक्त पत्रकार सम्मेलन र ३० गते अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो । त्यसअघि फागुन २३ गते बसेको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलका अनुसार द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउनुपर्छ भनेर पत्रकार सम्मेलन गर्न लागिएको हो ।

अन्तर्क्रिया पनि सोही विषयमा केन्द्रित हुनेछ । अन्तर्क्रियामा माओवादी घटकका नेताहरुका साथै नागरिक समाज, कानुन व्यवसायी, पत्रकार र शान्ति प्रक्रियासँग सम्बन्धित सरोकारवाला सहभागी हुने गजुरेलले बताए ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै समाजवादी केन्द्र घोषणा हुने बताइरहेका बेला हुन लागेको संयुक्त पत्रकार सम्मेलनलाई चासोका रुपमा हेरिकएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?