+
+

गुल्मीमा लघुवित्तका सञ्चालक र ऋणीबीच छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १२:०५

२८ फागुन, गुल्मी । गुल्मीमा लघुवित्त वित्तीय संस्थाका सञ्चालक र ऋणीबीच छलफल भएको छ । गुल्मीको धुर्कोट गाउँपालिकाले दुवै पक्षलाई एकै ठाउँमा राखेर छलफल गराएको हो । लघुवित्तको समस्याले लघुवित्तकर्मी र ऋणी बीचको दुरी बढ्दै गइरहेको समयमा गाउँपालिकाले दुवै पक्षलाई एकै ठाउँमा राखेर छलफल गराएको हो ।

लघुवित्तबाट धेरै ऋण लिने र तिर्न नसकेपछि बसाइँसराई गरी भाग्ने, आत्महत्या, आत्मदाह गर्नेसम्मका घटना हुन थालेपछि गाउँपालिकाले चासो लिंदै दुवै पक्षलाई बोलाएर समस्या समाधान तर्फ अग्रसर भएको गाउँपालिकाले जनाएको छ ।

एउटै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिने, लघुवित्तले सहजै ऋण दिने तर लगानी नगरी फजुल खर्च गर्ने र लघुवित्तले पनि निगरानी नगर्ने ब्याज मात्रै माग्ने गर्दा समस्या बढ्दै गएको गाउँपालिकाले निष्कर्ष निकालेको छ ।

धुर्कोट गाउँपालिकामा मात्रै ८ वटा लघुवित्तले २५ करोड लगानी गरेका छन् भने चार हजार आठ सय १० जना महिलाले यी लघुबित्तबाट ऋण लिएका छन् ।

अधिकांश महिलाहरुले एक भन्दा धेरै संस्थाबाट ऋण लिएका छन् । समस्या जटिल बन्दै जान थालेपछि गाँउपालिकाले ‘आत्महत्या होइन उद्यमशीलता, घरमा ताला चाबी होइन खेताबारी हरियाली’ नारा तय गरेर गाउँपालिकाले सहजीकरणको सुरुवात गरेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए ।

स्थानीय सरकारले गर्नु पर्ने काम, लघुवित्त तथा सहकारीले गर्नुपर्ने कामको वर्गीकरण गरी अगाडि बढ्ने र नेपाल सरकारले गर्नु पर्ने कामका लागि अनुरोध गर्ने सहमति समेत गरिएको पोखरेलले बताए ।

लघुबित्तबाट ऋण लिएका विपन्न परिवारले उत्पादन गरेको वस्तुको बजारीकरणमा, उद्यमी बन्न चाहनेलाई गाउँपालिकाले सहयोग गर्ने पोखरेलले बताए । लघुवित्तका कर्मचारीहरु पनि गाउँपालिकाको पहल कमदमी प्रति खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?