+
+

बैंकको ब्याजदर एक अंकको हुनुपर्ने उद्योगी व्यवसायीको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १९:५४

२८ फागुन, वीरगञ्ज । उद्योगी व्यवसायीले बैंकले दिने ऋणको ब्याजदर एकल अंकको हुनुपर्ने बताएका छन् । उनीहरुले ७ प्रतिशत ब्याजदर हुँदा ऋण लिएर सुरु गरेको उद्योगले १४ प्रतिशत ब्याज तिर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघको ४७ औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्ने उद्योगी व्यवसायीले व्यापार व्यवसाय समेत खस्केको गुनासो गरे । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले अर्थतन्त्रको वर्तमान जटिल परिस्थितिको सामना गर्न उद्योगी व्यवसायी स्थानीय, प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

महासंघको जिल्ला नगर तर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले २४ घण्टा भित्र बैंकको ब्याजदर एक अंकमा झारेर देखाउन सरकारलाई चुनौति दिए ।

‘हामीले दबाव दिएपछि १५ प्रतिशतबाट १ प्रतिशत घटाइएको रहेछ । त्यसरी हुँदैन, काम गरेर खानेलाई सहज वतावरण राज्यले बनाइदिनुपर्छ’, उनले भने, ‘ब्याजदर एकल अंकको बनाउनुपर्छ, अहिले प्रधानमन्त्री स्वयं अर्थमन्त्री पनि हुनुहुन्छ, २४ घण्टाभित्र एक अंकको ब्याजदर बनाएर देखाउनुस ।’

राजनीतिक परिवर्तनपछि मुलुकलाई आर्थिक परिवर्तनको बाटोमा लैजाने हो भने सरकारले गरिखाने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

महासंघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले संविधानले समाजवादतर्फ उन्मुख अर्थव्यवस्था भने पनि वातावरण त्यस्तो नभएको बताए । उद्योगी व्यवसायीले लिएको बैंकको ऋण तिर्न नसके तीन पुस्ताले समेत तिर्नुपर्ने व्यवस्था नेपालमा मात्रै भएको दावी उनको छ । ‘बैंकले लिएको ऋण मैले तिर्न सकिन भने छोराले तिर्नुपर्छ, उसले पनि सकेन भने नातिले पनि तिर्नैपर्छ’, उनले भने, ‘यो सामन्ती व्यवस्था हो । यसको विरुद्ध बोल्नैपर्छ ।’

महासंघ मधेस प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष अशोक टेमानीले सन् २०२६ मा देश अति कम विकसितबाट अल्प विकसितमा जान लागेको बारे होमवर्क र बहस नै हुन नसकेको बताए ।

मधेस प्रदेशका पूर्व उर्जा मन्त्री एवं वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओमप्रकाश शर्माले बैंक र बिजुली बारा पर्साका व्यवसायीका लागि ठूलो चुनौति बनेको बताए । वर्तमान समस्या समाधानका लागि राष्ट्रबैंकले २ प्रतिशत ब्याजदरमा २÷४ हजार करोड ऋण दिनुपर्ने बताए ।

‘बैंक ब्यापारी हो, नेपालमा उसले बुद्धि विवेक हेरेर हैन सम्पत्ति हेरेर लगानी गर्छ’, उनले भने, ‘राज्य त ब्यापारी हैन, २ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकले २/४ हजार करोड बजारमा पठाओस ।’ अनियमित विद्युत कटौतीको मारमा व्यवसायी परेको बताउँदै उनले भारतबाट विद्युत किनेर ल्याउन वातावरण बनाउन आवश्यक रहेकोमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?