हाम्रो देशमा यतिबेला राजनीतिक दलहरूबीच राष्ट्र निर्माणका विषयमा न्यूनतम राजनीतिक समझदारी छैन । स्वयं दलभित्रै आन्तरिक एकता छैन । दलका अवयवहरु अस्तव्यस्त छन् । पार्टी सदस्यहरु निराश छन् ।
वर्षेनि लाखौं युवा विदेश पलायन हुँदैछन् । अर्थतन्त्र आयातमुखी छ । विप्रेषणमा निर्भर छ । राजस्वले चालू खर्च धान्दैन । राज्यसँग वैदेशिक ऋण र अनुदानमा आधारित पूँजीगत खर्च उपयोग गर्ने सामर्थ्य छैन । वैदेशिक ऋण चुलिएको छ। राज्यका सम्पूर्ण संयन्त्र भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । अर्थात् सुशासन छैन।
नेता, कर्मचारीबीचमा भ्रष्टीकरणको खुला प्रतिस्पर्धा छ । देशमा शान्ति छैन । द्वन्द्वपीडितले अझसम्म न्याय पाएका छैनन्।
देशको वैदेशिक सम्बन्ध सुमधुर र सन्तुलित छैन । राजनीतिक नेतृत्वबाट कुशलताको प्रदर्शन छैन । जनता प्रचलित राजनीतिबाट आजित र वाक्क छन् । नेताहरुको बोली र व्यवहारमा कुनै सामञ्जस्य छैन । नेताप्रति जनविश्वास छैन ।
अहिले नेपाल यसैगरी चलिरहेको छ । यसरी चलिरहेको देशको भविष्य कस्तो होला ?
यति कुरा सबै नेपालीले थाहा पाएका या बुझेका छन्, कसैले पर्दा लगाएर लाग्दैन। सीमित नेता, ठूला कर्मचारी, ठूला व्यापारी र बिचौलिया बाहेकका लागि दैनिकी साँच्चै कष्टकर छ । भविष्य अन्धकार छ।
यस्तो बेला देशमा नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको छ। संसदीय निर्वाचनको गठबन्धन पुनः ब्युँतिएको छ । संसदको ठूलो दलले राष्ट्रपति पद हासिल गरेको छ। साथै राष्ट्रपतिको शपथ ग्रहण समारोह पनि सम्पन्न भएको छ।
त्यसो त संवैधानिक राष्ट्रपतिसँग जनअपेक्षा खासै हुँदैनन्। राष्ट्राध्यक्षले केवल ओहोदाको गरिमा राखी त्यसको मर्यादाको ख्याल गर्दै संविधानको संरक्षण गरिदिए पुग्छ। र भ्रमणमा निस्कँदा जनतालाई सास्ती नदिए पुग्छ।
यसको अलावा बेलाबेलामा सरकार र दलका नेताहरुलाई मुलुकप्रतिको जिम्मेवारी सम्झाइरहनुपर्छ। साथै भयानक राजनीतिक दुर्घटनातर्फ उन्मुख देशको राष्ट्रप्रमुख दु:खी र काकाकुल नेपालीको सहारा बन्छन् कि भन्ने झिनो आशा समेत छ।
शपथ ग्रहण समारोह यान्त्रिक, परम्परागत वा शास्त्रीय मात्र भयो या नवनिर्वाचित राष्ट्रपतिले समारोहमा आफ्ना विशेष मित्र र दुःखका साथी पनि बोलाउनुभयो थाहा भएन। तर अयोध्याका राजा रामले आफ्नो राज्याभिषेकमा आफूलाई यमुना नदी तार्ने केवटलाई अनिवार्य बोलाउन भनेका रहेछन्। त्रेता युगका पौराणिक रामचन्द्रले त आफ्नो विगतका सहयोगी सम्झिएको कथा हामी पढ्न पाउँछौं भने कलियुगका नेपाली रामचन्द्रका कुरा पढ्न र सुन्न पाउँदा राम्रै हुनेथियो।
यसैगरी भारतका पूर्व राष्ट्रपति स्व. अब्दुल कलामले आफ्नो शपथ ग्रहण समारोहमा दुई अतिरिक्त व्यक्तिलाई बोलाउन भने। उनले छानेका दुईमध्ये एक थिए, जुत्ता सिउने मोची, जसले कलामका च्यात्तिएका जुत्ता सिइदिन्थे र अर्का थिए ढावावाला। जसले खाना खाँदा कहिलेकाहीं कलामलाई एक–दुई रोटी बढी दिन्थे। राष्ट्रको सर्वोच्च जिम्मेवारीमा पुग्दा उनले यी दुई व्यक्ति सम्झिए। यसले व्यक्तिको महानता र इमानदारीलाई झल्काउँछ।
केही दिनपछि उपराष्ट्रपतिको निर्वाचन पनि हुँदैछ। तत्पश्चात पछिल्लो गठबन्धनमा रहेका दलहरुलाई प्रधानमन्त्री दाहालले सरकारमा सामेल गराउनेछन्। र पुस १० गते बनेको गठबन्धनको अस्तित्व रहने छैन।
गत निर्वाचनको पुरानो गठबन्धनमा थपिएका नयाँ दलहरु कतिञ्जेल सँगै रहलान्, समयक्रममा थाहा होला, तर अब संसदमा फराकिलो बहुमतले सरकारलाई समर्थन गर्ने अवस्था सृजना हुनेछ। यसले थोरै भए पनि राजनीतिक स्थिरतालाई बल पुर्याउला कि भन्ने जनअपेक्षा हो। यसले कति सार्थकता प्राप्त गर्छ, समयक्रममा देखिएला।
अहिलेको बहस र चिन्ता भने फरक छ। यस सन्दर्भमा थोरै चर्चा गर्नु उपयुक्त हुने नै छ।
देश उँभो लाग्न र जनताले सुख पाउन प्रणाली मात्र पर्याप्त नहुँदो रहेछ। नत्र नेपालले पछिल्ला ३३/३४ वर्षमा उन्नतिको मानक हासिल गरिसकेको हुन्थ्यो। नेपालको वर्तमान दुरवस्थाका कारण र कारक राजनीतिक दलभित्रका पात्र र प्रवृत्ति हुन्, जसले राष्ट्र निर्माणलाई आफ्नो जीवन र संस्थाको प्रमुख कार्यसूचीमा राखेनन्।
बारम्बारको ओहोदा प्राप्ति र निजी प्रतिष्ठा बाहेक दलका नेताको प्राथमिकतामा देशको उन्नति र जनताको सुख कहिल्यै परेन। यसका लागि कतिपय अन्तर्राष्ट्रिय दृष्टान्तहरु काफी छन्।
हाम्रो जस्तै खेतीपाती गरिने भूपरिवेष्ठित पहाडी मुलुक स्वीट्जरल्याण्डले दोस्रो विश्वयुद्धपछि चामत्कारिक प्रगति गरेर संसारलाई नै आश्चर्यमा पारेको थियो। शक्तिशाली राष्ट्रहरु जर्मनी, फ्रान्स, इटाली र अष्ट्रियाले घेरिएको यस सानो पहाडी राष्ट्रले आफूलाई युद्धबाट निरपेक्ष राख्यो, बरु ती राष्ट्रहरुलाई हतियार बेच्यो।
समयक्रममा विश्वविख्यात रोलेक्स घडी, औषधि, चकलेट, जवाहरात, केमिकल्स लगायत वस्तुहरुको निर्यातकर्ता भयो। यो सबै राष्ट्रिय नीतिको परिणाम थियो।
नीति राजनीतिक प्रणाली, त्यसको स्थायित्व र राजनीतिक दलको अठोटबाट निर्धारित हुन्छ। वैयक्तिक क्षुद्र स्वार्थबाट माथि नउठेसम्म देशको उन्नति प्राथमिकतामा पर्दैन र संभव पनि छैन।
वर्षैभरि भुईंचालो जाने देश जापान कसरी विकसित भयो ? जापान देश असंख्य अर्थात् हजारौं टापुहरुको संग्रह हो। तीन ठूला टापु र अरु स–साना टापुहरु। दोस्रो विश्वयुद्धमा अमेरिकाद्वारा परमाणु बम प्रहार भएपछि ध्वस्त भएको जापानी अर्थतन्त्र कसरी ‘रिकभर’ भयो, गहिरो अध्ययनको विषय हो।
जापानले सन् १९४५, अगष्ट १४ मा आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्धको अन्त्य भयो। जापानका अगाडि कहालीलाग्दो क्षत–विक्षत चित्र थियो। यसपछि युद्धले छाडेको मनोवैज्ञानिक त्रासदीका अतिरिक्त ठूलो भौतिक क्षतिलाई चिरेर जाने चुनौती। यी सबै कटु यथार्थ झेलेर पनि जापानले द्रुतगतिमा विकास हासिल गर्यो । यसका निम्ति प्रधानमन्त्री सिगेरु योशिदा र सम्राट हिरोहितोको ठूलो योगदान छ।
जापानको आर्थिक उन्नतिका लागि योशिदा डक्ट्रिन सहायक बनेको छ। यो सबै नेतृत्व कुशलता हो। ध्वस्त अर्थतन्त्रलाई पुरानै ठाउँमा ल्याएर अगाडि बढाउने कार्य निकै चुनौतीपूर्ण थियो तथापि राजनीतिक नेतृत्वले यसमा सफलता प्राप्त गर्यो ।
दुई दशकको अन्तरालभित्र जापान विश्वको सुदृढ अर्थतन्त्र भएको देश बन्यो।
नाम चलेका अटोमोबाइल र इलेक्ट्रोनिक कम्पनीहरुबाट उत्पादन भएका वस्तुले अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरे। होण्डा, सुजुकी, सोनी यसका प्रमुख उदाहरण हुन्। प्रारम्भमा अमेरिकापछि दोस्रो र हाल तेस्रो ठूलो अर्थतन्त्र भएको देशको रुपमा जापान प्रतिष्ठित छ। यसको कारण अरु केही होइन, केवल राजनीतिक नेतृत्व हो। सँगसँगै जनताको कठोर परिश्रम।
जनतालाई कठोर परिश्रम गर्न केले प्रेरित गर्यो त भन्दा, नेतृत्व प्रतिको भरोसाले। अहिले नेपाली जनता कठोर परिश्रम गर्दैनन् किनकि नेतृत्व भरपर्दो छैन। यसो भन्दा कसैले चित्त नदुखाए हुन्छ। किनभने हाम्रो उद्देश्य राजनीतिक परिवर्तन मात्र होइन। हामी नेपाललाई लोकतान्त्रिक प्रणालीमार्फत सुखी नेपाली भएको समुन्नत तथा प्रतिष्ठित राष्ट्र बनाउन चाहन्थ्यौं। राजनीतिक नेतृत्वले यसको हेक्का राखेन। प्रणाली केवल माध्यम हो, यसैलाई साध्य ठान्यो।
आवधिक निर्वाचन, सरकार गठन, पक्ष–विपक्षको वाक्युद्ध, धेरै थान मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, सांसद, मेयरको उत्पादन मात्र लोकतन्त्र होइन। लोककल्याणकारी, समतामूलक, न्यायपूर्ण समाज हाम्रो अभीष्ट थियो र छ।
यस सन्दर्भमा आचार्य चाणक्यको विचार कालजयी छ। राज्यको उत्पत्तिपूर्व समाजमा मस्त्य न्याय थियो। बलियाले निर्धालाई शोषण गर्थ्यो, दबाउँथ्यो। धर्म, नीति, सिद्धान्त सबै त थिए तर कार्यान्वयन गर्ने उचित संयन्त्र थिएन। त्यसैले मानव आवश्यकताले राज्यको निर्माण भयो र सामाजिक अराजकता र हिंसाको अन्त्य भयो।
तर अहिले पनि कतिपय नेपाल जस्ता देशहरु छन्, जहाँ मस्त्य न्याय छ, सानालाई ऐन र ठूलालाई चैन छ अर्थात् बलियाले निर्धालाई दबाउँछ। सरकारी अड्डाहरु शक्तिशाली र पहुँचवालाका लागि सहज छन्। गरीब र निरीह जनताका लागि संकट ।
सत्तामा वर्षौंदेखि निश्चित समूहको हालीमुहाली छ। न शिक्षा, न स्वास्थ्य, न रोजगार कतै पनि गरीब जनताको पहुँच छैन। हामी यसैलाई सफल लोकतन्त्र भन्दैछौं। तर अब जनता बुझ्ने भएका छन्, थाहा पाउने भएका छन् र जान्ने भएका छन्। देशको सम्पूर्ण हालतका बारे जानकार छन्।
तसर्थ आशा त छैन, तथापि यसपटकको सरकार देश र जनतामा समर्पित भएको देखिएन र पुरानै पदचिह्नमा हिंड्यो भने मुलुकको राजनीतिले कोल्टो फेर्नेछ। त्यतिबेला समकालीन राजनीतिज्ञहरुलाई साथ दिन न जनता हुनेछन् न त पार्टीका सदस्य नै। आजित भएका जनता उठ्न बेर लाग्ला, तर त्यो क्षण आइपुगेको हुनसक्छ। समय घर्किन सक्छ।
यस विषयमा राष्ट्रको अभिभावकको नाताले नवनिर्वाचित राष्ट्रपतिले सरकार र दलहरुलाई स्पष्ट रुपमा सम्झाउनुपर्छ। अहिलेलाई जनताको आशा यही हो।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4