+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

दोहोरिएर राष्ट्रपति नबन्ने व्यवस्था गरौं : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते १६:४८

३० फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

राजनीतिमा मान्छेहरुलाई आकर्षित गर्नका लागि पनि एक पटक राष्ट्रपति, २ पटकसम्म प्रधानमन्त्री, ३ पटकसम्म मन्त्री र ४ पटकसम्म सांसद हुने व्यवस्था गर्न उपयुक्त हुने उनको भनाइ थियो ।

उनले भने, ‘एक पटक एउटा मान्छे राष्ट्रपति बन्ने, पाउने, दोहोर्‍याएर सपथ ग्रहण गर्न नपाउने भनेको भए अहिले रामचन्द्र पौडेलले सपथग्रहण गर्दैगर्दा पाँचौं राष्ट्रपति नेपाल देशले पाईसकेको हुन्थ्यो । डा. रामवरणले २ पटक, विद्या भण्डारीले २ पटक सपथ ग्रहण गर्नु भयो । र, अहिले आएर रामचन्द्र पौडेल हुनु भयो । राजनीतिमा रुपान्तरण भन्दा कतिखेर मान्छे आकर्षित हुन्छ भने एउटा मान्छे एकचोटी राष्ट्रपति बनोस् ।’

नेपाल ट्रेड युनियन कांग्रेसको मंगलबारबाट काठमाडौंमा सुरु भएको नीति सम्मेलनमा बोल्दै महामन्त्री शर्माले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोहोर्‍याएर सपथग्रहण गर्न नपाउने व्यवस्था गरेको भए हालसम्म मुलुकले पाँचौ राष्ट्रपति पाईसकेको हुने स्मरण समेत गराए ।

उनले भने, ‘ दुई पटक प्रधानमन्त्रीको सपथग्रहण गरोस् । ३ पटक मन्त्री हुँदैगर्दा आफ्नो सम्पूर्ण योग्यता देखाओस् । ४ पटकसम्म सांसद बनोस् । पाँचौं पटक उसले आर्थिक रुपान्तरणको काममा हात हालोस् ।’

उनले सांसद, मन्त्री भइसकेकाहरुले मुलुकको आर्थिक रुपान्तरणको काममा योगदान दिन सक्ने व्यवस्था नीतिगत रुपमै भए त्यो झनै राम्रो हुने धारणासमेत राखे ।

महामन्त्री शर्माले भ्यूटावर बनाउने कुरा, एकैपटक धेरै अन्तराष्ट्रिय विमानस्थल बनाउने कुरा मुलुकका लागि आर्थिक बोझको विषय भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले मुलुकलाई प्रतिफल दिन सक्ने आयोजनाहरुको छनौट गरी त्यसलाई अघि बढाउने गरी नीतिगत व्यवस्था गर्न जरुरी रहेको पनि बताए ।

महामन्त्री शर्माले राष्ट्रिय उत्पादन वृद्धि गर्ने काममा तीव्रता दिने गरी सरकारले काम गर्नुपर्ने बताए । उनले नयाँ पुस्तालाई वितृष्णा हुने गरी रेलमार्गलगायतका आयोजनाहको छनौट गर्न नहुने पनि पटकपटक दोहोर्‍याए ।

उनले भने, ‘हामीले त्यसलाई एउटा राष्ट्रिय रुपमा एउटा उत्पादनको दशक, उत्पादन अभिवृद्धि गराउने, निर्माणको एउटा दशक बनाउने काममा तीव्रता दिने काममा लाग्न सके यसले राजनीतिक रुपमा पनि आकर्षण गराउँछ । हाम्रो अहिलेको पुस्ताले बोक्नै नसक्ने रेलमार्गलगायतका प्रोजेक्टहरु बोकेर जाने कुराले वितृष्णा मात्रै जगाउँछ।’

महामन्त्री शर्माले राजनीति जनताको आर्थिक रुपान्तरणमा योगदान दिने कुरामा केन्द्रित हुनुपर्ने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?